काठमाडौ । नेकपा सचिवालयको अनौपचारिक बैठकले पार्टी एकता बचाउन पहल गर्ने र अध्यक्ष केपी शर्मा ओलीलाई औपचारिक बैठकका लागि सामूहिक आग्रह गर्ने निष्कर्ष निकालेको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा शुक्रबार कार्यकारी अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको सचिवालयको बैठकले अर्का अध्यक्ष ओलीसँग सामूहिक भेटेर बैठकका लागि आग्रह गर्ने निष्कर्ष निकालेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
पार्टीको औपचारिक बैठक बोलाउन कार्यकारी अध्यक्षले मिल्ने भएपनि एकताको मर्मलाई ध्यान दिँदै अर्का अध्यक्ष ओलीको सहमतिमै बैठक बोलाउने सहमति बैठकले गरेको छ । बैठकमा अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठ सहभागी थिए ।
प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओली, सचिवालय सदस्य रामबहादुर थापा, ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल भने बैठकमा सहभागी थिएनन् । ओलिलाई जानकारी दिएर नै प्रचण्डले सचिवालयको अनौपचारिक बैठक बोलाएको बताइएको छ ।
बैठकमा अध्यक्ष प्रचण्डले बिहीबार अर्का अध्यक्ष ओलीसँग भएको भेटबारे ब्रिफिङ गर्नुभएको थियो । ओलीले बैठक राख्न नमानेको उहाँको भनाई छ ।