विराटनगर । तस्करीको सुनको गरगहना र अवैध हुण्डीको नगदसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
भारतदेखि तस्करी गरि नेपालतिर ल्याउँदै गरेको साढे २४ तोला सुनको गहना र हुण्डीको अवैध ६ लाख ६२ हजार ६ सय ५० रुपैयाँसहित सशस्त्र प्रहरीले भारतीय नागरिक २५ वर्षिय दिपककुमार भगतलाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) रानीले विराटनगर १७ इस्लामपुरबाट भारतको अररिया जिल्लाको जोगवनी नगर पन्चायत १३ घर भएका भगतलाई बिहीबार साझ अवैध सुनसहित पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बिओपी रानीका प्रमुख इनिस्पेक्टर मौसम पोखरेलको नेतृत्वमा खटिएको टोलीले भगतको साथबाट २८९.४४० ग्राम सुनको गहना बरामद गरेको हो । जुन तोलामा साढे २४ तोला हुन आउँछ । सशस्त्र प्रहरीले उनको साथबाट लकेट ३७ थान, हातमा लगाउने ब्रास्केट ४ थान, झुम्का १० थान, चुरा २ थान र मोवाइल एक थान बरामद गरेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले जानकारी दिनुभयो ।
भगतले सुनको गहना अन्डरवेयरभित्र र कम्बरमा पटुवा बाधेर लुकाएको अवस्थामा सशस्त्र प्रहरीले बरामद गरेको हो । ‘तस्करीको सुन नेपाल छिराउन भरियाले निक्कै चलाखी गरेको पाइयो,’ उहाँले भन्नुभयो, ‘सुनको गरगहना अन्डरवेयरभित्र कम्बरमा बाधिएको अवस्थामा भेटियो भने जुत्ताभित्रको मजामा टेपले बाधेर ६ लाख ६२ हजार ६ सय ६२ रुपैयाँ राखेको भेटियो छ ।’
बरामद भएको सुन गरगहना र नगदसहित पक्राउ परेका अभियुक्तलाई सशस्त्र प्रहरीले आवश्यक कारवाही र अनुसन्धानको लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको छ । सुनको गहना र हुण्डीको पैसाँ ल्याउने भगत भरिया रहेको खुलेको छ ।
विराटनगरमा हुण्डीको कारोबार गर्ने र विराटनगरका सुन पसल ल्याउने गरेको सुरक्षा स्रोतको भनाई छ । नेपालबाट काँचो सुन तस्करी भइ भारत पुर्याएर आर्षक गरगहना बनाएर ल्याउने गरेका छन् ।