विराटनगर । प्रदेश १ मा कोरोना संक्रमण भएको दुई सातापछि पुन: पिसिआर परीक्षण नगरी संक्रमितलाई डिस्चार्ज गर्ने तयारी गरिएको छ ।
विश्व स्वास्थ्य संगठन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्र्तगतको राष्ट्रिय परीक्षण मार्गनिर्देशन अनुसार स्वत: डिस्चार्जको तयारी गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमण देखिएको १४ दिन पुरा गरेका र सामान्य अवस्था भएका संक्रमितलाई पुन: पिसिआर परीक्षण नगरी डिस्चार्ज गर्नेगरि मन्त्रालयले छलफल अघि बढाएको हो । प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. सुरेश मेहताले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय परीक्षण मार्गनिर्देशनमा सामान्य अवस्थाका संक्रमितको १४ दिनपछि स्वत: डिस्चार्ज गर्दा हुने उल्लेख रहेको बताउनुभयो ।
स्वास्थ्य उपचारमा रहेकाहरु, लक्षण देखिएका बाहेकका सामान्य अवस्थाका संक्रमितहरुको पुन: परीक्षण नगरि स्वत: डिस्चार्ज गर्नेबारे छलफल भईरहेको मेहताले बताउनुभयो । यसअघी संक्रमितको पिसिआर नेगेटिभ नआएसम्म आइसोलेसनमा बस्नुपर्ने मापदण्ड रहेको थियो ।
प्रदेश १ मा बुधबार सम्म कोरोना संक्रमितको संख्या २० हजार ४०१ पुगेको छ । संक्रमण देखिएका मध्ये १२ हजार १०१ जना डिस्चार्ज भएका छन् ।