गुरुकुलमा दार्जेलिङका मनप्रसाद प्रस्तुत हुने

विराटनगर । विगत चार महिनादेखि निरन्तर रुपमा सञ्चालन हुँदै आएको आरोहण कवितायात्राको चैतको श्रृंखलामा दार्जेलिङका वरिष्ठ कवि मनप्रसाद सुब्बा प्रस्तुत हुनुहुने भएको छ ।

आरोहण गुरुकुल विराटनगरको आयोजना र विराटनगर महानगरपालिकाको प्रवद्र्धनमा हुने कार्यक्रममा सुब्बाले आफ्ना एक दर्जन सशक्त सिर्जना सुनाउने बताइएको छ ।

दार्जेलिङमा रहेर विगत लामो समयदेखि नेपाली साहित्यको विशेष कविता लेखनमा सक्रिय उहाँको कार्यक्रम गुरुकुलमा हुन लागेको हो । पुरानो र पुस्तालाई जोड्न गुरुकुलले काव्यारोहण नाम दिएर अग्रज कविको कविता वाचन कार्यक्रमलाई निरन्तरता दिएको कार्यक्रम संयोजक धीरज राईले जानकारी दिनुभयो ।

हरेक महिनाको पहिलो शनिबार हुने कार्यक्रम यसपटक चैत १ गते हुनेछ । यसअघि वैरागी काइँला, तुलसी दिवस, बम देवान र मोमिला प्रस्तुत भइसकेका छन् । हरेक श्रृंखलामा कविता सुन्न आउने दर्शक–स्रोता थपिँदै गएको अर्का कार्यक्रम संयोजक रमेशचन्द्र अधिकारीले बताउनुभयो ।

साहित्यकार सुब्बाका रचना तथा कतिपय कृतिहरु नेपालीसँगै हिन्दी, मैथली र अंग्रेजीमा समेत अनुवाद भइसकेका छन् । उनले नेपाली साहित्यमा २०५० सालमा नेपालको रत्नश्री स्वर्णपदक पुरस्कार र भारतको राष्ट्रियस्तरको नेपाली साहित्यिक पुरस्कार पाइसकेका छन् ।

आइतबार, १८ फागुन, २०७६, रातीको ०८:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर