विराटनगर । विराटनगरस्थित न्युरो कोभिड-१९ अस्पतालमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मंगलबार बिहान विराटनगर- ११ का ४९ वर्षीय पुरुष र धरान-१५ का ६३ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत सुरेशकुमार आचार्यले जानकारी दिनुभयो ।
बिहान ३ः३० बजे धरानका पुरुष र ३ः५० मा विराटनगरको पुरुषको मृत्यु भएको हो । असोज २७ गते कोरोना पोजेटिभ देखिएका धरानका पुरुष कात्तिक १२ गते अस्पताल भर्ना भएका थिए ।
न्युरोमा मृत्यु भएका धरानका पुरुष जनता समाजवादी पार्टीका नेता गजेन्द्रबहादुर लिम्बू (इस्बो) हुन । पूर्व गोर्खा सैनिकको अधिकारको क्षेत्रमा लड्दै आएका इस्बोको मंगलबार बिहान मृत्यु भएको हो ।
निमोनियाको समस्या देखिएका उनी भूतपूर्व ब्रिटिस गोर्खा सैनिक संघका पूर्व अध्यक्ष तथा जनता समाजवादी पार्टीको लिम्बुवान राष्ट्रिय समितिको उपाध्यक्ष हुन् । उनी धरान उपमहानगरपालिकाको उपनिर्वाचनमा मेयरको उम्मेद्वार बनेका थिए ।
यस्तै कात्तिक १४ गते अस्पतालमा भर्ना भएका विराटनगरका मृतक पुरुषमा सोही दिन कोरोना पोजेटिभ देखिएको थियो ।