विराटनगर । सोमबार बिहान मोरङमा थप चारजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा दुई जना, न्यूरो अस्पतालमा एक जना र एकजनाको उर्लाबारीस्थित होम आइसोलेसनमा मृत्यु भएको हो ।
विराटनगर–६ का ८३ वर्षीय पुरुषको नोबेल अस्पतालमा मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो । कोरोना पुष्टि भएपछि कात्तिक १२ गते अस्पतालको आइसोलेसनमा भर्ना गरिएका उनको बिहान ९ः४० बजेतिर मृत्यु भएको हो ।
उता मोरङको उर्लाबारी नगरपालिका–६ का ५४ वर्षीय संक्रमित पुरुषको पनि नोबेलमै मृत्यु भएको छ । कात्तिक ४ गते कोरोना पुष्टि भएपछि अस्पताल भर्ना गरिएका श्वासप्रश्वाससम्बन्धी समस्या रहेका उनको पनि बिहान ९ः३० बजेतिर मृत्यु भएको हो ।
कार्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएर १५ गते विराटनगरकै न्युरो अस्पतालमा भर्ना भएका विराटनगर–१२ का ५३ वर्षीय पुरुषको पनि उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको छ । अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यका अनुसार होम आइसोलेसनमै रहेका उनको स्वास्थ्यमा समस्या थपिएपछि न्युरोमा भर्ना गरिएको थियो ।
त्यस्तै, उर्लाबारी नगरपालिका–७ का ५८ वर्षीय कोरोना संक्रमित पुरुषको घरमै मृत्यु भएको छ । कात्तिक ६ गते रिपोर्ट पोजेटिभ आएपछि होम आइसोलेसनमै रहेका उनको अस्पताल लैजान नपाउँदै मृत्यु भएको वडा अध्यक्ष वीरवल थापाले जानकारी दिनुभयो ।
मृतकमा मृगौलाको पुरानै समस्या थियो ।