ब्राउन सुगरसहित पक्राउ

विराटनगर । मोरङको पथरीशनिश्चरे र सुन्दरहरैंचाबाट प्रहरीले लागुऔषध ब्राउनसुगर (खैरो हेरोइन)सहित चार जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरी नेतृत्वको टोलीले पथरीशनिश्चरे नगरपालिका १ नयाँ सोमबारेबाट २६ वर्षीय सनम मगर र १८ वर्षीय रेश्मे मगरलाई पक्राउ गरेको छ ।

उनीहरुलाई आइतबार बिहान पक्राउ गरिएको हो । दुबैजना सनमको घरबाट पक्राउ परेका हुन् । पक्राउ परेकाको साथबाट ७ ग्राम ८९ मिलिग्राम ब्राउन सुगर बरामद भएको डीएसपी गिरीले जानकारी दिनुभयो ।

भारतको पानीट्यांकीबाट नेपाल भित्र्याएर छरछिमेकी युवालाई र विभिन्न स्थानसम्म पु¥याएर उनीहरुले लागुऔषध बिक्री गर्ने गरेको खुलेको छ । घरभित्रैबाट लागुऔषध बेच्नका लागि तौल गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाको साथबाट ब्राउन सुगरको तौल लिने डिजिटल मेसिन पनि बरामद गरिएको छ । एक ग्राम लागुऔषधको ४० डोज बनाएर बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरुले एक डोजलाई एक हजार रुपैयाँ लिने गरेका थिए । पक्राउ परेकाहरुले बरामद भएको ब्राउन सुगर २ लाख १० हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको प्रहरीलाई बताएका छन् ।

त्यस्तै सुन्दरहरैंचा नगरपालिका १० का मनीबहादुर मगरको घरमा छापा हानेर प्रहरीले दुई जनालाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनीबहादुरकी छोरी १० वर्षीया रेखाकुमारी मगर र २४ वर्षीय साफुदिन आलम रहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

मगरको घरमा ब्राउन सुगर रहेको सूचनाका आधारमा त्यहाँ प्रहरी पुगेको थियो । पक्राउ परेकाहरुको साथबाट तीन ग्राम ब्राउन सुगर फेला परेको छ । पक्राउ परेकामध्ये आमल कारोबारी रहेको खुलेको छ । उनले भारतको पानी ट्यांकीबाट ल्याएर ब्राउन सुगर बेच्ने गरेको प्रहरीले जनाएको छ ।

मगर नर्सिङ पढ्दै गरेकी विद्यार्थी हुन् । नर्सिङ अध्ययन सुरु गरेकी उनी ब्राउन सुगरको प्रयोगकर्ता रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाविरुद्ध आइतबार लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीले जनाएको छ ।

आइतबार, १८ फागुन, २०७६, रातीको ०८:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर