विराटनगर । मानब स्वास्थ्यमाथि गम्भीर खेलवाड गर्दै विराटनगरमा औषधी बिक्रेताहरुले म्याद सकिएको औषधी बिक्री वितरण गर्ने गरेको पाइएको छ ।
विराटनगर–९ न्यूरो हस्पिटल अगाडि विकास मण्डलले सञ्चालन गरेको ‘हाम्रो फ्रेन्डसिप फार्मेसी’ले म्याद सकिएको औषधी बिक्री गरिरहेको भेटिएको हो ।
औषधी व्यवस्था विभाग विराटनगरले आइतबार गरेको अनुगमनको क्रममा फ्रेन्डसिप फार्मेसीबाट १५ प्रकारको म्याद सकिएको औषधी बरामद गरेको छ । विभागका फार्मेसी अधिृकत चतुर्भुजप्रसाद यादव नेतृत्वको टोलीले फार्मेसीबाट १ सय ३९ सेट म्याद सकिएको औषधी बरामद गरेको हो ।
नेपाल औषधी व्यवस्था विभाग विराटनगरका निमित्त कार्यालय प्रमुख दिपेन्द्र खड्काका अनुसार विराटनगरको केही औषधी बिक्रेताले म्याद सकिएको औषधी बिक्री गरिरहेको उजुरी आएपछि अनुगमन भएको थियो । अनुगमनको क्रममा मिति सकिएको औषधीको लेबल मेटाएर बिक्री गरेको पाइएको अनुगमन टोलीले जनाएको छ ।
फार्मेसी अधिकृतको नेतृत्वमा गएको टोलीले विराटनगरको दुई वटा फार्मेसीमा अनुगमन गरेको थियो । प्रयोगको म्याद सकिएको औषधीमा लेबल लगाएर नयाँ मिति जारी गरि औषधी बिक्री गर्ने उद्देश्यले फार्मेशीमा राखिएको पाइएको छ । ‘बरामद औषधी ल्याएर हामीले अनुसन्धान सुरू गरेका छौं,’ विभागका निमित्त कार्यालय प्रमुख खड्काले भन्नुभयोे, ‘फार्मेसी सञ्चालकलाई विभागको कार्यालयमा ल्याएर बयान सुरू गरिएको छ ।’
फार्मेसीका सञ्चालक विकास मण्डलले भने म्याद सकिएको औषधी नष्ट गर्ने उद्देश्यले नै राखिएको दावी गर्नुभएको छ । म्याद सकिएको औषधी संकलन गरि नष्ट गर्न राखेको बेला अनुगमन टोलीले बरामद गरेको हो ।
प्राबिधिकविना औषधी बेच्ने पक्राउ
विराटनगर– ९ स्थित आँगन फार्मेसीमा प्राविधिक नराखी औषधी बिक्री गरेको पाइएपछि अनुगमन टोलीले सञ्चालकलाई पक्राउ गरेको छध । फार्मेसीका सञ्चालक जयकुमार पुलामी मगरलाई औषधी व्यवस्था विभाग विराटनगरले आइतबार पक्राउ गरेको हो ।
विभागमा औषधी पसल दर्ता भएपनि प्राविधिक नराखी औषधी बिक्री वितरण हुने गरेको पाइएपछि सञ्चालकलाई नियन्त्रणमा लिएको नेपाल औषधी व्यवस्था विभाग विराटनगरका निमित्त कार्यालय प्रमुख दिपेन्द्र खड्काले जानकारी दिनुभयो । फार्मेसी सञ्चालन गर्न औषधी सल्लाकार समितिबाट ३ महिनाको ‘ओरेनटेशन’ तालिम लिएको वा फार्मेसीमा ३ वर्षे डिप्लोमा गरेको प्राविधिक हुनेपर्ने व्यवस्था रहेको छ ।
आँगन फार्मेसीले प्राविधिक नराखी औषधी पसल सञ्चालन गरेको पाइएपछि फार्मेसीमा तालाबन्दी गरी सञ्चालकलाई नियन्त्रणमा लिएको विभागले जनाएको छ । मगरलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखेर अनुसन्धान सुरू गरिएको छ ।
पक्राउ परेका खड्का र म्याद सकिएको औषधी बरामद भएको फार्मेसी सञ्चालकको बयान लिएपछि औषधी ऐन २०३५ बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउने विभागले जनाएको छ ।