नेताहरु ! बेमौसमी बाजा नबजाउनुहोस्

आदरणीय नेता कमरेडहरू,
पूर्वोत्तर मोरङको पथरीबाट हार्दिक अभिवादन ।
केही दिनयता खुमलटारलाई कोटेश्वर, डल्लु, भैसेपाटी र बालुवाटार भेटघाट भ्याइनभ्याई भन्ने समाचार आउथ्यो । बालुवाटारलाई बेवास्था गर्दै कोटेश्वर, डल्लु र भैसेपाटी खुमलटार पुगेको विषय अनलाइन र छापाहरूमा छ्यास्छ्यास्ती आउनथाल्यो । यद्यपि, यसबारे कोटेश्वर हाइट र धुम्बाराहीस्थित पार्टी कार्यालय आफै अनविज्ञ होला !

भरखरै मात्र नेकपाले पार्टी विधान संशोधन गरेर हाम्रो नेता कमरेड वामदेव गौतमलाई उपाध्यक्ष बनायो । संगठन विभाग प्रमुखका अतिरिक्त पार्टीमा उहाँको एउटा उच्च हैसियत र ‘वरिष्ठ’ बरियता कायम भयो । जननेता मदनकुमार भण्डारीले पत्याउनुभएको उहाँ एकजना गतिशील राजनीतिक बैचारिक नेता हो । जननेताको अकल्पनीय देहावसानपछि उत्साहको पर्याय बन्दै आफ्ना लागि निर्धारित र परिभाषित कार्यक्षेत्रमा प्रेरणास्रोत बनेर डटिरहनुभएको छ ।

अहिले उहाँमा एकाएक प्रधानमन्त्री हुने भोक जगाइएको छ, ध्याउन्न बढाइएको छ । प्रत्यक्ष निर्वाचित संघीय सांसद मात्र प्रधानमन्त्री हुने संवैधानिक व्यवस्थालाई संशोधन गरेर भएपनि उहाँ कमरेडलाई प्रधानमन्त्री बनाउनुपर्छ भन्ने मत हलक्क बाहिरिएसँगै नेकपा वृत्तमा रहेको नेतृत्व आन्तरिक र बाह्य विवादमा ओर्लिएको छ । व्यवस्थापकीय पारदर्शिता र शासकीय स्वरूपलाई आधार मान्ने हो भने राष्ट्रियसभाका कुनै पनि सदस्यलाई प्रधानमन्त्री बन्ने बाटो खोल्ने काम गर्न नसकिने तर्क आफैमा बलशाली भएसँगै नेतृत्वबीचको संख्या जोर बिजोरको अवस्था पुगेको छ । अब यसरी सँगसँगै जान सकिँदैन भन्ने तहसम्म पुगेको चर्चा पढ्न पाइन्छ । एकजना राजनीतिक कार्यकर्ता हुनुको नाताले म र मजस्ताको हृदय चस्किएको छ । मस्तिष्क झस्किएको छ । झल्याँस्स विगत आँखैअघि तैरिएको छ । फलतःकेही न केही नलेखिरहन सकिनँ । र, यो पत्र लेखें ।

तपाईं नेतृत्वमा पलाएको यो कस्तो महत्वाकाङ्क्षा ? कस्तो छटपटी ! कस्तो हुट्हुटी ! कस्तो बेचैनी ! जगत हसाँइरहनुभएको छ । हामी कार्यकर्तालाई रूवाइरहनुभएको छ ।

आदरणीय कमरेडहरू !
सचिवालयमा खासगरि तपाई तीनजना नेता कमरेडहरू हुनुहुन्छ, जसलाई मुलुकको समग्र राजनीतिले अनुमोदन गरिसकेको छ । १४ वर्ष जेल जीवन बिताउनुभएका र आजको राष्ट्रिय राजनीतिमा पृथक छवि बनाउनुभएका राजनीतिक बैचारिक कमाण्ड राख्नुभएका नेता कमरेड केपी शर्मा ओलीले सिंगो पार्टीको नेतृत्व गर्नुभएको छ । कमरेड माधवकुमार नेपाल, जसले तत्काली ननेकपा(एमाले) को १५ वर्षे महासचिवको विरासत थाम्दै, जननेता मदनकुमार भण्डारीको अनुपस्थितिको तृष्णा मेट्दै नेतृत्व प्रवाह गर्दै लगभग ५० भन्दा माथिको राजनीतिक जीवन बिताउनुभएको तपाईं हाम्रो नेताहुनुहुन्छ । कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ तपाईं पात–पातमा जीवन बचाउँदै ऐतिहासिक १० वर्षे जनयुद्धको नेतृत्व गर्दै आउनुभएको कुशल राजनीतिक कमाण्डर हुनुहुन्छ । कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगले झक्झक्याउन सक्ने राजनीतिक बैचारिक योग्यता र समकालीन नेतृत्वमा अभूतपूर्व योगदानका कारण तपाई एकीकृत कम्युनिष्ट पार्टीको एकमात्र कार्यकारी अध्यक्ष बन्न सक्ने अनिवार्य व्यक्तित्व हुनुहुन्छ । कमरेड झलनाथ खनाल, तपाईं एउटा विषम बेलामै नेपाली कम्युनिष्ट आन्दोलनलाई उदाहरणीय नेतृत्व प्रवाह गरिसक्नुभएका अत्यन्तै पठनशील, तीक्ष्ण, भद्र, शालीन, बौद्धिक राजनीतिक व्यक्तित्व हुनुहुन्छ ।

इतिहासमा धेरैपटक कम्युनिष्ट आन्दोलनमाथि आएका प्रतिकूलता र उतारचढावका क्षणहरूलाई नेतृत्वका हिसावले रणकौशल महत्वका साथ पार लगाउनुभएका तपाई नेताहरू बरियताक्रमानुसार विशिष्ठ ठाउँमा हुनुहुन्छ । रक्षाकवचको रूपमा सिंगो पार्टी पंक्तिलाई जोगाउँदै यहाँसम्म आइपुग्नुभएको छ । तपाईंहरू हाम्रो पूँजी हो, सम्पदा हो र कम्युनिष्ट आन्दोलनको प्रेरणा हो । यदि, कहीँकेही छ भने पार्टी जीवनका विवादहरू बसेर मिलाउनुहोस्, पार्टीलाई एकढिक्का बनाउनुहोस्, आम जनताबीचमा लोकप्रिय बनाउनुहोस् । राजनीतिक स्थायित्वसहितको नेकपा नेतृत्वको स्थिर सरकारमार्फत समृद्ध राष्ट्र निर्माण गर्ने काममा पार्टीका तर्फबाट सरकारलाई पुग्दो सहयोग गर्नुहोस्, यसैमा हामी सबैको कल्याण हुनेछ ।

तपाईंहरू संलग्न संविधान संशोधनको पछिल्लो विषयले पार्टीमा स्थापित तपाईं नेतृत्वलाई एकोहोरो खुइल्याउने, भरखरै आरम्भ भएको बृहत्तर नेपाली कम्युनिष्ट आन्दोलन निर्माण र यसको एकता प्रक्रियालाई बिथोल्ने, आन्तरिक शक्ति समिकरण सन्तुलन मिलाउने, नेतृत्व पक्षधरता व्यवस्थापन गर्ने र अमुक–अमुक नेतृत्वलाई दाउपेचको शिकारसमेत बन्ने बनाउने मात्र काम गरेको देखिन्छ । यता, देशमा राजनीतिक स्थिरता र समृद्धि हासिल गर्ने विषय तुहाउने र दीर्घकालीन रूपमा कम्युनिष्ट आन्दोलनलाई निमिट्यान्न पार्न यसको राजनीतिक बैचारिक दिशानिर्देशका हिसाबले संगठनात्मक संरचनामाथि नै घात, अघात र प्रतिघात हुने अनिष्ट निम्तिएको संकेत देखा पर्दैछ ।

इतिहासमा सर्वाधिक लोकप्रिय पहिलो कम्युनिष्ट सरकार २०५१ सालको तत्कालीन नेकपा (एमाले) अध्यक्ष कमरेड मनमोहन अधिकारी नेतृत्वको सरकार नै हो । यो सरकारको लोकप्रियताबाट तिलमिलाएर उहाँ अस्पतालमा उपचाररत् रहनुभएको बेलामा पनि सदनमा पेश भएको अविश्वासको प्रस्तावको सामना गर्नुपरेको थियो । अहिले त्यहीँ अवस्था नल्याइयोस् ! नेकपा अध्यक्ष कमरेड केपीशर्मा ओली नेतृत्वको सरकारको लोकप्रियताबाट तर्सिएर ज¥याकजुरूक भएको शक्ति उहाँको स्वास्थ्य प्रतिकूल रहेको बेला यस्तै हबिगत अघि सार्न खोजिएको बुझिन्छ । एकपछि अर्का कतिपय राजनीतिक अराजनीतिक विषयवस्तुहरूलाई उछालेर नेपाली राजनीतिलाई तरंगीत गर्ने, अस्थिरता ल्याउने र यहीँमाझ कम्युनिष्ट आन्दोलनलाई धुलो बनाउन चाहने शक्तिहरूको सल्बलाहटलाई उक्सन दिइरहेको छ । मौसमी जाडो मत्थर हुँदैजाँदा बेमौसमी आगो सल्काउने काम भइरहेको आभास हुन्छ । तपाईं नेतृत्वका अभिव्यक्ति र कतिपय व्यवहारले दुर्गति पो निम्तिने हो कि भन्ने खतरासूचक अड्कलबाजी बढेको छ ।

नेता कमरेडहरू !
तपाईहरूले आफ्नो कद आफै घटाइरहनुभएको छ । उचित–अनुचित् दुबै ढंगले बेमौसमी बाजा बजाइरहनुभएको छ । पटक–पटक कार्यकर्तामाझ प्रिय घाउ बनेर दुखिरहनुभएको छ, निस्वार्थ भावनाका साथ निष्ठापूर्वक लगाब राखेर खटिरहेका हामी कार्यकर्तालाई च्वास्च्वास्ती घोचिरहनुभएको छ । तपाईं नेतृत्वमा रहनुभएकालाई केही फरक नपर्ला ! पहिचान बनाउनुभएको छ । हैसियत कमाउनुभएको छ । मलामी कमाउनुभएको छ । सलामी कमाउनुहुनेछ ।

रसियन फेडरेशन बनेसँगै गठित भारतको कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको छ । चीनलाई अहिलै कसैले छुन चलाउन सक्ने अवस्था छैन । नेपालमा मौलाएको कम्युनिष्ट आन्दोलनलाई सर्लक्कै फाँड्न, उधिन्न र उछिन्न नेपाली राजनीतिक रणमैदानमा उत्रिएका कतिपय छद्मखेलाडी भकुण्डो लिएर खेलमैदानमा आएका छन् । भकुण्डो जति नै पिटिए पनि जित्ने खेलाडीले हो, भकुण्डोले होइन । हामी भने भकुण्डो बनेर अनाहकमा वल्लो र पल्लो पोस्टसम्म दौडिरहेका छौँ । हारमा होस् वा जितमा ! उत्साह हाम्रो हुँदैन, खेलाडीको हुन्छ । हामी भकुण्डो बनेका छौँ । भकुण्डोमा बुट बर्सिन्छ, हामी व्यर्थ चुटिएका छौँ ।
युगीन राजनीतिक परिवर्तनको अभिभावकीय नेतृत्व प्रदान गर्दै आउनुभएका तपाईं नेताहरू बहालवाला अर्थमन्त्रीलाई हटाएर मुलुकको सर्वस्व दोहन गर्ने योजनाका साथ सडकमा पोखिएका कांग्रेस सांसद तथा अर्बपति व्यापारी बिनोद चौधरी, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो, हतियार व्यापारीका रूपमा पहिचान बनाएका दीपक भट्ट र बिदेशबाट कालोधन ल्याउने व्यापारी अजेयराज सुमार्गीको चक्रब्युहमा फस्नुभएको चर्चा आएको छ । यसले नेपालमा कम्युनिष्ट आन्दोलन, जनआन्दोलन, जनयुद्ध, १७ हजार मानिसको शाहदत ! केका लागि थियो ? राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन दलाल, बिचौलिया र विदेशमा सम्पत्ति थुपार्ने कालाव्यापारीलाई निषेध र निस्प्रभावी बनाउन अर्थमन्त्रीका हैसियतमा रहनुभएका डा.युवराज खतिवडाले नीतिनिर्माण र यसमार्फत नियमन गर्नुभयो । के यो गलत थियो ? सोच्न गम्भीर बनाएको छ ।

नेता कमरेडहरू !
हिजो हामी अलग–अलग हुँदा कहाँ र कुन अवस्थामा थियौँ ? कुनैबेला परस्पर वर्गवैरीको रूपमा तारो ताकाताक गर्थियौँ भने गएको स्थानीय निर्वाचनमा एक्लाएक्दै भिड्ने हुँदा कतिपय ठाउँमा सिंग भाँच्यौँ भने कतिपय ठाउँमा सिंग फुकाल्यौँ । यसले समेत देखाउछ– हाम्रो तागत र समग्र अस्तित्वको हबिगत के–कस्तो थियो ? सँगसँगै हुँदाको परिणामस्वरूप आज कस्तो अवस्था सिर्जना गरेका छौँ ?हामी एकै हुँदामात्र झण्डै कम्युनिष्ट पार्टीको घोषणापत्र जस्तो समाजवादउन्मुख समाजको चरित्र दर्शाउने संविधान हामीले नै बनाएका होइनौैं ? यसलाई कार्यान्वयन गर्ने गराउने जिम्मेवारी पनि हाम्रो नै होइन र ? यसबाट यसै फुत्त उम्कन मिल्छ हामीलाई ? ठण्डा दिमाग लिएर घोत्लन जरूरी छ ।

एकातिर एउटा गुटगत गठबन्धनलाई बलियो बनाउने र अर्कोतिर पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीलाई असफल बनाउन यो षड्यन्त्र रचिएको अनुभूति हुन्छ । प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष कमरेड केपी शर्मा ओली नेतृत्वको सरकारले अघि बढाएको समृद्ध नेपाल, सुखी नेपालीको अभियान असफल बनाउन अहिले हामी एकले अर्काविरूद्ध अर्को सहयात्री÷सहयोद्धालाई परस्पर लडाउने भिडाउने र संगठित शक्तिलाई कमजोर पार्ने काममा लागेको देखिन्छ । हाम्रो आजको ताल र रवैयालाई देखेर जनमतले स्थापित तपाईं नेतृत्वको दिनचर्यामा आधारित लोकतान्त्रिक जीवनशैली, लोकतान्त्रिक शासनशैली र लोकतान्त्रिक सामाजिक आचरण÷बिचरणशैली र एउटा परिस्कृत लोकतान्त्रिक सांस्कृतिक जीवनशैलीमाथि प्रश्न उठाइरहेको छ । हाम्रो तडकभडकपूर्ण लाग्ने कार्यशैलीलाई सादृश्य र सामन्यकृत गर्न माग गरिरहेका छन् । यो हामी नेकपाजनप्रति सदाशयता र सदिच्छा नै हो भन्ने म ठान्दछु ।

नेकपासँग ठूलो जनमत छ । अगाध जनविश्वास छ । तुलनै हुन नसक्ने जनभरोसा छ । यसको अर्थ, युगीन जनअपेक्षा र जिम्मेवारी दुबै छ । यस्तो बेलामा व्यक्तिविशेष पद प्रतिष्ठा सिर्जनाका लागि मरिहत्ते गर्नेभन्दा पनि आजको राष्ट्रिय राजनीतिसामु हाम्रो प्राथामिक र साझा अभिभारा के हो ? हाम्रो राजनीतिक बैचारिक मुद्दा के हो ? हिजोका हाम्रा प्रतिबद्धताहरू के–के हुन् ? राजनीतिक स्थायित्व र समृद्धि कसरी हासिल गर्ने ? जस्ता विषयमा गम्भीरताका साथ अघि बढ्न वाञ्छनीय हुन्छ होला !
नेता कमरेडहरू !
नेकपाको आन्तरिक जीवनमा मात्र नभएर यसले अब क्रमशः राष्ट्रिय राजनीतिमा एउटा स्पेश लिइरहेको छ । आम मानिसले भन्नथालेका छन्– मधेसवादी दलको मुख्य राजनीतिक एजेण्डा नै संविधान संशोधन थियो । अद्यापि, मधेस आन्दोलनको हकमा यो कायमै छ । यसका अतिरिक्त मधेसी र गैरमधेसी समुदाय, थारू, जनजाति, आदिवासी आन्दोलनले संविधान संशोधन गरेर राज्यका निकायमा हाम्रो पनि पहिचान सुनिश्चित गर्नुप¥यो भन्दा नसुन्ने सत्तापक्षीय नेतृत्व एकजना व्यक्ति विशेषका कारणले संविधान संशोधनको तहमा पुगेको छ भन्ने अर्थ लगाउने छ । गत निर्वाचनमा पराजित एकजना व्यक्ति विशेषलाई हेरेर संविधान संशोधन गर्न लागिएको विषयले धेरै नराम्रो सन्देश जानेछ । यति हुँदाहुँदै पनि बालहठपूर्ण कदमन लिऔँ । हामीकहाँ पर्दापछाडि बसेर हाम्रो विपत्तिमा खुचिङ प¥यो भन्ने र मौका पर्नासाथ सिंहगर्जन गर्ने पुरानै पात्र वा प्रवृत्ति यथावत् कायम छ । अहिले खुचिङ प¥यो भन्ने शक्ति सल्बलाएको छ । सत्ताप्रतिको घोर आशक्ति र पदीय शक्तिको आडभरोसा प्राप्तिका लागि यति धेरै मरिहत्ते नगरौँ !
म युवा नेता कमरेड योगेश भट्टराईको– यो पार्टी नेकपासँग ३ करोड नेपालीको भाग्य र भविष्य देखिरहेका छन् । दशौं लाख पार्टी सदस्यहरूको जिन्दगी कोरिएको छ । नेपाल राष्ट्रको समृद्धिको सपना जोडिएको छ । सानोतिनो आवेग र सानोतिनो उत्तेजनाले नेतृत्वलाई फरक पर्नु हुँदैन । यतिखेर पार्टी र पार्टी नेतृत्वमा ४ जना प्रधानमन्त्री बनिसक्नुभएको व्यक्तित्व हुनुहुन्छ । उहाँहरूले ज्यादा संयमता, धैर्यता अपनाउनुपर्छ । यसो गर्न सकियो भने लगातार ५० वर्षसम्म देश नेकपामय हुन्छ भन्ने पछिल्लो भनाइप्रति सहमत छु । जननेता मदनकुमार भण्डारीले सिद्धान्तमा आधारित जीवन होइन, जीवनमा आधारित सिद्धान्त प्रतिपादनको विषयलाई जोड दिइरहनुभयो । आवश्यकताको मनोविज्ञानले नवीता ल्याउने वा विकास गर्ने विषयमा खुलेर बहस गर्नुभयो । यसको अर्थ, हामी कार्यकर्ताहरू पार्टी सचिवालय, केन्द्रीय कमिटीभन्दा ठूलो होइन, केन्द्रीय कमिटी पार्टीको महाधिवेशनभन्दा ठूलो होइन, महाधिवेशन कम्युनिष्टका दर्शन, आचरण, मूल्यमान्यता र परिस्कृत सिद्धान्तभन्दा ठूलो होइन, विकसित सिद्धान्त पनि जनताभन्दा माथि र ठूलो होइन भन्ने पनि हो ।

तपाईं नेतृत्वका अतृप्त महत्वाकांक्षाका कारण आज देशले व्यहोर्नुपर्ने संकटको भार र मार भोलिको पुस्तामा थोपरिने छ, जसलाई नयाँ पुस्ताले भरथेग गर्न सक्दैन भन्ने कुरा तपाईं नेतृत्वले बुझिदिनुपर्छ । यसैमा हामी सबैको अपेक्षाकृत सफलता अवश्यंभावी छ । यहिँ अनुनय, विनय र शुभेच्छा सहित हार्दिक अभिवादन !

सोमबार, १९ फागुन, २०७६

प्रतिक्रिया:

सम्बन्धित खवर