ग्रीनपार्कसहितको प्लाष्टिकमुक्त वडा बन्छ

विराटनगर महानगरपालिकामा रहेका कुल १९ वटा वडाहरुमध्ये सबैभन्दा बढि योजना स्वीकृत भएको वडा कार्यालय, वडा नं. ३ हो । आर्थिक बर्ष २०७६÷०७७ को चौथो नगरसभाबाट वडा नं. ३ मा सबैभन्दा बढि ९८ वटा नगरस्तरीय योजनाहरु स्वीकृत भएका छन् । स्थानीय तहको निर्वाचन भएको अढाई वर्ष बितिसक्दा हालसम्म वडा नं. ३ मा स्वीकृत भएका योजनाहरुमध्ये ४० प्रतिशत योजनाहरु कार्यान्वयन भईसकेका छन् । वडाको विकास र अन्य काम कसरी भइरहेको छ भन्नेबारे वडाध्यक्ष विनोदकुमार बस्नेतसँग गरिएको कुराकानीः

तपाई आएपछि वडामा के कस्ता कामहरु भएका छन् ?
पुर्वाधार विकास भन्दा पहिले बाटोघाटो भन्ने बुझिन्छ । वडामा बाटोघाटोलाई नै प्रमुख प्राथमिकतामा राखेर विकास निमार्णका कार्यहरु भएका छन् । वडामा साना र ठुला गरी करिब २ सय ५० बाटोघाटोहरु छन् । यसमा ९ मिटरको बाटोघाटोदेखि २० फिटको ७० प्रतिशत बाटो निर्माण सम्पन्न भईसकेको छ । यस अन्तर्गत वडाको मुख्य कञ्चन मार्ग, गायत्री मार्ग, भूमि मार्ग, बलराम मार्ग, सिभिल मार्ग र गोधुली मार्गलगायतका सडकहरु पिच भई सञ्चालनमा समेत आईसकेका छन् । यसका साथै वडाले पोखरिया स्कूलदेखि आवास ब्रम्हचारी सदानन्द मार्गसम्मको बाटोलाई पिच गरेर सञ्चालनमा ल्याएको छ । त्यस्तै पछिल्लो अढाई वर्षमा वडामा कवर्ड हल, ज्येष्ठ नागरिकहरुका लागि हातेमालो सेवा समाजको सामुदायिक भवनलगायतका कार्यहरुसमेत भएका छन ।

चालु आर्थिक वर्षमा तय गरिएका योजना तथा कार्यक्रमहरु के–के रहेका छन् ?
चालु आर्थिक वर्षमा थुप्रै योजना तथा कार्यक्रमहरु तय गरिएका छन् । जस अन्तर्गत सामाजिक विकासतर्फ एकल महिलाहरुका लागि वडाले एक लाख रुपैयाँ बजेट छुट्याइएको छ । वडाले एकल महिलाहरुका लागि मखमली चप्पल, पोते र चुरा बनाउने तालिमको व्यवस्था गरेको छ । जसमध्येको केही सिड मनी बापतको रकम ती महिलाहरुलाई प्रदान गरेर उनीहरुको वृत्ति विकासमा सहयोग पु¥याउने लक्ष्य वडाले लिएको छ । चालु आर्थिक वर्षका फागुन मसान्तसम्म यो योजनासमेत कार्यान्वयन भईसक्नेछ ।

वडाले विद्यार्थीहरुका लागि वक्तृत्वकला प्रतियोगिता, ५० हजारको बजेट विनियोजन गरेर दलित वर्ग लक्षित कार्यक्रम, युवा लक्षित विभिन्न विद्याका खेलकुद कार्यक्रमलगायतका योजनाहरुलाई प्रमुख प्राथमिकतामा राखेको छ । यसका अतिरिक्त वडाले सुकुम्बासीहरुलाई व्यवस्थित गर्न सुकुम्बासी आवास योजना तथा नहरलाई व्यवस्थित गरेर पार्क र वकिङ जोन बनाउने योजनाहरुको पनि परिकल्पना गरेको छ ।

शिक्षा र स्वास्थ्यका क्षेत्रमा के गर्नुभएको छ ?
वडामा पोखरिया माध्यमिक विद्यालय, मदननगर आधारभुत विद्यालय र सहिद आधारभुत विद्यालय गरी तीन सामुदायिक विद्यालयहरु छन् । शिक्षा र स्वास्थ्यको क्षेत्रमा वडा नं. ३ ले गरेका कार्यहरु उल्लेखनीय छन् । वडाले सामुदायिक विद्यालयहरुमा अँग्रेजी माध्यमबाट पठनपाठन गराउने सोचको विकास र विद्यार्थीहरुलाई खाजाको व्यवस्थासमेत गरेको छ । त्यसैगरी वडाले आफ्नो वडा क्षेत्रभित्र रहेको सहिद आधारभुत विद्यालयका बालबालिकाहरुलाई मन्टेश्वरी प्रविधिबाट अंगे्रजी माध्यममा पढाउने योजना अघि सारेको छ ।

वडाले विद्यार्थीहरुलाई खाजाको व्यवस्था गर्न एक लाख रुपैयाँको बजेटसमेत छुट्याइएको छ । फलस्वरुप तुलनात्मक रुपमा विद्यार्थीको सङख्यामा पनि वृद्धि भएको छ । वडामा रहेको अर्को सामुदायिक विद्यालय मदननगर प्रा.वि मा पनि अँग्रेजी माध्यमबाट पठनपाठन गराउन ५० हजार रुपैयाँ बराबरको रकम व्यवस्थापन गरेका छौं ।

सामाजिक क्षेत्रमा भएका काम के के छन् ?
वडाले पछिल्लो अढाई वर्षमा निरन्तर ज्येष्ठ नागरिक लक्षित कार्यक्रमहरु गर्दै आएको छ । त्यस अन्तर्गत ज्येष्ठ नागरिकहरुको विभिन्न कार्यक्रमहरुका लागि वडाले एक लाख रुपैयाँ छुट्याईदिएको छ । यसका साथै स्वास्थ्य क्षेत्रमा वडासँग भएका स्वास्थ्यकर्मीहरुको टिमले बेलाबखतमा विभिन्न रोग विरुद्धको खोप लगाउने कार्य गर्दै आएका छन् । वडाले परोपकारको सामुदायिक भवन, विन्ध्ववासिनी मन्दिर र ज्येष्ठ नागरिक हातेमालो सेवा समाजको भवन लगायतका ठाउँहरुमा केन्द्र तोकेर निःशुल्क क्लिनिक सञ्चालन गर्दै आएको छ ।

आफ्नो कार्यकालमा वडालाई कस्तो बनाउने लक्ष्य लिनुभएको छ ?
आफ्नो कार्यकालमा वडालाई प्रविधिमैत्री, स्वच्छ, सफा र सुन्दर वडाको रुपमा विकास गर्ने लक्ष्य लिएको छु । वडामा पर्याप्त भौतिक संरचना, बाटोघाटो, नाला र वर्षायाममा हिलाम्मे हुने ठाउँमा पनि ग्राभेलको बाटोको विकास गर्ने विषयवस्तुलाई प्रमुख प्राथमिकतामा राखेर कार्य भईरहेको छ । यसका साथै वडा नं. ३ मा एउटा ग्रीनपार्क निर्माण गर्ने र वडालाई प्लाष्टिकमुक्त बनाउने योजना छ । वडालाई प्लाष्टिकमुक्त बनाउने अभियानमा हामी ६० प्रतिशतसम्म सफल भएका छौं । यसका अतिरिक्त वृक्षारोपणको माध्यमबाट वडालाई हरितनगरको रुपमा परिणत गर्ने हाम्रो लक्ष्य रहेको छ ।

 

आइतबार, १८ फागुन, २०७६

प्रतिक्रिया:

सम्बन्धित खवर