दुर्घटनामा तीन जनाको मृत्यु

विराटनगर । मोरङमा शनिबार बिहान भएको छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

पथरीशनिश्चरे नगरपालिका–२ जय चौकस्थित पूर्व–पश्चिम राजमार्गमा रोकेर राखेको गोरु लोड गरिएको ट्रकमा अर्को ट्रक पछाडिबाट ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ८०९१ नम्बरको ट्रकले सडकमा रोकेर राखेको गोरु लोड गरिएको ना ८ ख ६७ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो । दुर्घटनामा ठक्कर दिने ट्रकका चालक चितवन भरतपुर नगरपालिका–११ का २८ वर्षीय अजय अधिकारी र सहचालक भरतपुर–१ कै ३० वर्षीय अंकित घर्तीमगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले जानकारी दिनुभयो ।

चालक अधिकारीको घटनास्थलमै र सहचालक घर्तीमगरको उपचारका क्रममा झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने ट्रक नवलपरासीबाट ७ सय ५० काटुन गोर्खा स्ट्रङ वियर लिएर झापाको दमकतर्फ गएको खुलेको छ ।

ठक्कर दिने ट्रक तीव्र गतिमा रहेको र नियन्त्रण गुमाएर दुर्घटना भएको प्रहरीले जनाएको छ । लामो रुटमा एक जना मात्रै चालकले कुदाएको र चालकको निद्रा नपुगेका कारण अगाडि रहेको अर्को ट्रक ठम्याउन नसक्दा पनि ठोक्किएको हुनसक्ने अनुमान गरिएको छ । रोकेर राखेको ट्रकमा भने जीवित २४ र मृत ४ गरेर २८ वटा गोरु भेटिएका छन् ।

सर्लाहीबाट निरजकुमार सिंहले चौपाय खरिद बिक्री केन्द्रबाट पठाएका गोरु झापा दमकका जीवन कार्कीले ल्याएको खुलेको छ । प्रक्रिया पूरा गरेर नै गोरु ढुवानी गरेको देखिएको भएपनि त्यसको प्रयोजन खुलेको छैन ।

यता विराटनगर महानगरपालिका– १ बुद्धचौकमा शनिबार बिहान उत्तरतर्फ जाँदै गरेको को २८ प ६८४७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री ४० वर्षीया रमा पौडेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा विराट नर्सिङ होममा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताउनुभयो ।

दुर्घटनामा झापा गौरीगञ्ज घर भइ विराटनगरमा डेरा बस्दै आएका मोटरसाइकल चालक चालक १९ वर्षीय विकाश कर्ण पनि गम्भीर घाइते भएका छन् । उनको चिन्ताजनक अवस्थामा नर्सिङ होममै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

शनिबार, १७ फागुन, २०७६, रातीको ०९:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर