विराटनगर । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले विराटनगर १९ मा निर्माण भईरहेको बैजनाथपुर अन्र्तराष्ट्रिय क्रिकेट रंगशालाको अनुगमन गर्नुभएको छ ।
आइतबार रंगशाला अनुगमन गर्दै मन्त्री घिमिरेले रंगशालाको हालको अवस्थाबारे क्रिकेटका पदाधिकारीसँग जानकारी पनि लिनुभएको छ ।
रंगशालामा अहिले मल्टी पेभेलियन, अन्डर ग्राउण्ड पानी सप्लाई, ग्राउण्ड लेभलिङको तयारी भईरहेको छ । प्रदेश सरकारले रंगशालाका लागि चालु आर्थिक बर्षमा २ करोड बजेट विनियोजन गरेको छ । सो बजेट अनुसारका काम सुरु गर्ने तयारी भईरहेको प्रदेश क्रिकेट संघका उपाध्यक्ष तथा मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष नविन घिमिरेले जानकारी दिनुभयो । उहाँले भोलिदेखि इन्जिनियरिङ स्टिमेटको काम शुरु हुने बताउनुभयो ।
रंगशालाको अनुगमन गर्दै मन्त्री घिमिरेले खेलमैदानमा काम सुरु भएको मितिले ३ महिनाभित्रमा निर्माण सम्पन्न गर्न निर्देशन दिनुभएको छ । रंगशालाको अनुगमनमा क्षेत्रीय खेलकुद विकास समिति, मोरङ खेलकुद विकास समिति, प्रदेश क्रिकेट संघ, मोरङ क्रिकेट संघका पदाधिकारीहरुपनि उपस्थिति रहेको थियो ।