मञ्जुश्री गिरीको ‘लाखबत्ती’ बजारमा

विराटनगर । साहित्यकार मञ्जुश्री गिरीद्वारा लिखित ‘लाखबत्ती’ लघुकथासंग्रह शनिबार विमोचन गरिएको छ ।

नारी स्रष्टा समाज विराटनगरले आयोजना गरेको कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, वरिष्ठ साहित्यकार दधिराज सुवेदी, बलराम पोखरेल, कविराज न्यौपानेलगायतले संयुक्त रुपमा विमोचन गरेका थिए ।

तीन दशकभन्दा लामो समयदेखि साहित्य लेखनमा सक्रिय गिरीका यसअघि पनि विभिन्न कृति प्रकाशित भइसकेका छन् । विमोचित लघुकथासंग्रहका बारेमा समालोचक कविराज न्यौपानेले समीक्षा गर्दै संग्रहभित्रका अधिकांश कथाले वर्तमान नेपाली समाजको विकृति, विसंति, व्यथितिलाई चिरफार गरेको बताए । “संग्रहभित्रका कथा पढ्दै गर्दा अहिलेको समाजलाई छर्लंग देख्न सकिन्छ,” न्यौपानेले भने, “राजनीतिक विकृति, विसंगतिमात्रै होइन संग्रहले बेरोजगारी, अभाव र गरिबीलाई पनि सशक्त रुपमा उठान गरिएको छ ।”

सो अवसरमा साहित्यकार भरत गुरागाईं, मीनकुमार नवोदितलगायत संग्रहभित्रका लघुकथा प्रस्तुत गरेका थिए । मेयर पराजुलीले भाषा, साहित्य र संस्कृतिको संरक्षण र सम्वद्र्धनमा महानगरपालिका लागि परेको उल्लेख गर्नुभयो । उहाँले महानगरले बजेटमार्फत नै भाषा र साहित्यको विकासमा ध्यान दिएको बताउनुभयो ।
कवि शम्चुलाई मोहन–लता साहित्य पुरस्कार

यसैबीच, स्रष्टा समाजले यस वर्षको मोहन–लता साहित्य पुरस्कार युवाकवि दीपक शम्चुलाई समर्पण गर्ने भएको छ । समाजको स्थापना दिवसको अवसरमा वितरण गरिने पुरस्कार पहिलोपटक कवि शम्चुलाई समर्पण गर्न लागिएको हो ।

अध्यक्ष मृदुलले पुरस्कारको घोषणा गर्दै राम्रो सिर्जना गर्ने नारी–पुरुष दुवै स्रष्टालाई समर्पण गरिने बताउनुभयो । पुरस्कारको राशि ५ हजार ५ सय ५ रुपैयाँ रहेको छ । घोषित पुरस्कार समाजको स्थापना दिवसको अवसर पारेर आगामी मंसिर २ गते प्रदान गरिनेछ ।

 

शनिबार, १७ असोज, २०७७, साँझको ०६:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर