लघुकथा : लर्को

 रेवती ढुङ्गाना रफ्तार

एकहुल अधबैंसे मानिसहरू काँधमा झोला भिरेर गाउँबाट ओरालो झर्दै थिए। अलिकति मकै भटमास भुटेर पिसेको सातु र दुई जोर जति फेर्ने लुगा प्रायःजसोको झोलामा थियो ।

शंखे डाँडाको चौतारीमा उनीहरु झर्याप झुरुप्प भेला भएका थिए। कसैका घरबाट श्रीमती लालाबाला च्यापेर बिदाई गर्न भेला भएका देखिन्थे भने कसैका आमाबाबु उपस्थित थिए। १५–२० मिनेटको अन्तरालमा त्यहाँ निकै ठूलै भिड जम्मा भएको देखिन्थ्यो ।

ल है आमा बुबाहरु ! हाम्रा घरका जहान बालबच्चालाई पनि राम्रो रेखदेख गरिदिनु होला, बेला–बेला आवा गर्छौ। घरखर्च पनि पठाईदिन्छौं , हामी लाग्यौं । आशिर्बाद र बिदा दिनुहोस् भन्दै थिए ।

दशैं आउन लागेको थियो । धनी मनिका घरमा छोराछोरी नातिनातिना हर्ष र उल्लासमा दशैं मान्न टाढाटाढादेखि रङिबिरङ्गी लुगा लगाएर नाच्दै गाउदै आईरहेका थिए। ती गरिब र निमुखाहरु अबोध बालबच्चा , अवाक् श्रीमती र बेसहारा बृद्ध आमाबाबुका आँखामा टलपल आँसु भराएर पुरानो ठाउँमा मजदुरी गर्न जाँदैथिए।

यतिबेलासम्म जोडजोडले गाउँमा कुकुरहरु भुक्दै थिए । कुन्नि तिनले पनि पीडा बुझे जसो गरेर। एकजना हजुरआमा आँखाभरि आँसु पार्दै डाँडाको टुप्पोबाट छोरो गएको तलसम्म हेर्दै, म अभागी बुढिको कर्म भन्दै एक्लै निकैबेर बरबराई रहेकी थिईन् । त्यतिबेलासम्म लर्को पञ्चेडाँडा कट्न लागिसकेको थियो । निकै दारुणिक र सन्नाटापूर्ण त्यो दृश्य एकाएक क्षतबिक्षत भयो ।

Supported only between 1944-2022