दश करोड बढीको अवैध सामान बरामद

विराटनगर । गत आर्थिक वर्ष २०७६/७७ मा प्रदेश नं. १ बाट प्रहरीले १० करोड ७१ लाख रुपैयाँ मूल्य बराबरको भन्सार छलेर ल्याईएका अवैध सामान बरामद गरेको छ ।

एक वर्षको सो अवधिमा प्रदेश नं. १ का ५ वटा जिल्ला प्रहरी कार्यालयहरुले भन्सार छलेर ल्याएको सो मूल्य बराबरको अवैध सामान बरामद गरेको हो ।

प्रहरीले मोरङ, सुनसरी, झापा, ईलाम र उदयपुर जिल्लासँग जोडिएका सीमावर्ती क्षेत्रहरुबाट अवैध रुपमा ल्याईएका ती सामानहरु बरामद गरि सम्बन्धित भन्सार कार्यालयमा बुझाएको छ । पछिल्लो १ वर्षको अवधिमा सबैभन्दा धेरै जिल्ला प्रहरी कार्यालय झापाले ४ करोड २९ लाख १४ हजार २ सय ८६ रुपैयाँ बराबरको सामानहरु बरामद गरेको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

झापापछि जिल्ला प्रहरी कार्यालय मोरङले १ करोड १८ लाख ९८ हजार ९ सय ४७, सुनसरीले १ करोड ९७ लाख २३ हजार ८१ र ईलामले ३ करोड २५ लाख ९१ हजार ५ सय ७७ रुपैयाँ मूल्यको भन्सार छलेर ल्याएको सामानहरु बरामद गरेको कार्यालयको तथ्याङ्कले देखाएको छ । बरामद गरिएका सामानहरुमा सबैभन्दा बढी लत्ताकपडा, मलखाद्य, खाद्यान्न र ईलेक्ट्रोनिक आईटमहरु रहेको १ नं. प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कविन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार लकडाउन अवधिमा मात्रै मोरङ, सुनसरी, झापा र ईलाम जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रहरुबाट लुकिछिपी ४ करोड ३० लाख ९८ हजार ९ सय ४७ रुपैयाँ मूल्यको नेपाल भित्रिएका अवैध सामान बरामद गरिएको छ । जसमध्ये चैत्रमा ९ लाख ६० हजार ४ सय ९४, बैशाखमा १ लाख ९५ हजार ९ सय ९५, जेष्ठमा ३५ लाख ९० हजार २ सय १५ र असारमा ३ करोड ८३ लाख ५२ हजार २ सय ४३ रुपैयाँ मूल्यको अवैध सामान बरामद गरिएको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ ।

अघिल्लो आर्थिक बर्ष २०७५/७६ को असार महिनामा प्रहरीले २२ लाख ५४ हजार १ सय ९९ रुपैयाँ मूल्य बराबरको सामान बरामद गरेको थियो । तुलनात्मक रुपमा हेर्दा लकडाउन अवधिको मात्र असार महिनामा प्रहरीले अघिल्लो वर्षको तुलनामा ९४.१२ प्रतिशतले बढी अवैध सामान बरामद गरेको छ ।

लामो समयको लकडाउन कारण आम नागरिकमा बिशेष गरि खाद्यान्न र वर्षायाम लागेसँगै कृषक वर्गमा मलखाद्यको अभाव सिर्जना हुन थालेसँगै असारमा ती वस्तुको तस्करी बढेको १ नं. प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कार्कीको बिश्लेषण छ । सिजनल तस्करीले पनि असार महिनामा बरामद गरिएका अवैध सामानहरुको आँकडा फराकिलो भएको उहाँको भनाई छ ।

प्रदेश नं. १ मा भने बिशेष गरि चाडबाड नजिकिएसँगै लत्ताकपडा र ईलेक्ट्रोनिकका सामानहरुको तस्करी बढ्ने गरेको छ । यसलाई नियन्त्रण गर्न बिशेषतः सीमावर्ती क्षेत्रहरुमा प्रहरी प्रशासनको कडा निगरानी हुनु आवश्यक देखिन्छ ।

शुक्रबार, १६ असोज, २०७७, बिहानको ०८:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर