दमक । झापाको दमक –६ स्थित दमक बसपार्कभित्र निर्माण गरिएको दमक बसपार्क एकीकृत काउण्टर सञ्चालनमा आएको छ ।
बसपार्क परिसरमा निर्माण गरिएको आधुनिक टर्मिनल भवनभित्र बसपार्क काउण्टरको प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथी मन्त्री कार्कीले प्रदेश सरकार यातायात तथा ट्राफिक व्यवस्थापनको कामलाई प्राथमिकतामा राखेर अघि बढेको बताउनुभयो । सडक सुशासनका निम्ति आवश्यक ऐन कानूनहरु निर्माणलाई सरकारले प्राथमिकता दिएको उहाँको भनाइ छ ।
दमकको ताराबारी, इलाम र झापाको सिमाना किटेनी तथा सुनसरीको कुशाहामा यातायात चालकहरुका लागि रिफ्रेसमेन्ट सेन्टर स्थापना गरिएको बताउँदै मन्त्री कार्कीले प्रदेश सरकारले ल्याएको सडक सुशासनको नीति संघीय सरकारले पनि अनुशरण गरेको दावी गर्नुभयो । प्रहरीको जागिरमा आकर्षण घट्दो रहेका कारण पर्याप्त जनशक्ति व्यवस्थापन हुन नसकेकाले छिट्टै प्रदेश प्रहरी ऐन ल्याएर प्रहरी जनशक्ति बन्दोबस्ती गर्ने उहाँको भनाइ छ ।
कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, नेपाली काँग्रेसका महासमिति सदस्य शेरबहादुर भट्टराई, ट्राफिक प्रहरी उपरीक्षक भीम दाहाल, दमक ६ का वडाध्यक्ष टेकबहादुर थापा, यातायात व्यवसायी हुकुमसिंह नेपालीलगायतले पनि बोलेका थिए ।