कथा बरालिएको सेण्टीभाइरस

इटहरी । एक महिनायता काठमाडौं र उपत्यकाबाहिरका सहरहरूमा धुर्मुस–सुन्तलीद्वारा अभिनित नेपाली चलचित्र सेन्टीभाइरसको खुब चर्चा चलेको छ । कमेडीमा आधारित फिल्मले चितवनमा निर्माणाधिन रंगशाला निर्माणमा कमाईको ५० प्रतिशत खर्च गर्ने घोषणा गरेकोले दर्शकहरु तानेको छ ।

रंगशालामा सहयोग पनि हुने भएपछि हलसम्म दर्शक पुगेपनि चलचित्र भने कथाबस्तु एकातिर र कलाकार अर्कातिर अल्मलिएको जस्तो देखिन्छ । कथाबस्तु पुरानै रहेको, हसाउन खोजिएको भएपनि हाँस्न उत्प्रेरित नगर्ने दर्शकहरुले प्रतिक्रया दिएका छन् ।

सुरूवाती समयमा सिताराम कट्टेल अभिनित चलचित्र ६ एकान ६, वडा नं. ६ जस्ता नेपाली कथानक चलचित्रहरू सुपरहिट भए । सेन्टीभाइरसले भने प्रदेश १ का सिनेमा घरहरूमा त्यति राम्रो ब्यापार गर्न सकेको छैन । सुनसरीको इटहरीस्थित इलाइट सिनेमा घरका सञ्चालक एवम् कुसल नेपाली फिल्म निर्देशक छवि ओझाका अनुसार दर्शकहरूले धेरै माया गरेको र रूचाएको कलाकार भएरै पनि फिल्म हेर्न हलसम्म आउने गरेको भएपनि कथाबस्तुले तान्न नसकेको बताउनुभयो ।
इटहरीकै सेन्ट्रलप्लाजामा सञ्चालित सिनेफ्लेक्सका ब्यवस्थापक राकेस सिंहले पनि अन्य नेपाली चलचित्रहरूको तुलनामा सेन्टीभाइरस चलेकै भएपनि उत्साह भने जगाउन नसकेको बताउनुभयो ।

हाँस्य चलचित्रहरु वडा नं. ६ , ६ एकान ६, छक्कापञ्जा , छक्कापञ्जा २, ३ र सत्रुगते जस्तो हाउसफुल नभएको सिंहको भनाइ छ । गत फागुन ९ गतेबाट देशभर सञ्चालनमा आएको रामबाबु गुरूङद्वारा निर्देशित चलचित्र सेन्टी भाइरसमा हाँस्य कलाकारको उपनामले संसारभर चिनिएका सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) मुख्य भुमिकामा छन् । हाँस्य कलाकारको रुपमा स्थापित भएपछि २०७२ सालको भुकम्पयता सामाजिक काममा सक्रिय उनीहरु अहिले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने अभियानमा छन् ।

रंगशाला निर्माणमा चलचित्रको आधा कमाई खर्चने घोषणा गरिएको सेन्टिभाइरसमा थोरै राजनीतिक ब्यंग्य मिसाइएको छ भने केहि सस्पेन्स राखिएको छ । तर, दिन खोजेको सन्देश के हो भन्ने स्पष्ट खुल्दैन । निर्वाचनमा सुकुम्बासी बस्तिका बासिन्दाहरूलाई निर्णायक भोट पनि मानिएको छ । जनउत्थान पार्टीको नेता धुर्मुस र श्रीमती कुञ्जना घिमिरे लोकतान्त्रिक पार्टीकी नेतृ छन् । सुर्यविक्रम भट्ट जनउत्थान पार्टीको उम्मेद्वार हुन्छन् भने एक पटक चुनाव हारिसकेका खगेन्द्र (राजाराम पौडेल) ले फेरि पार्टीको टिकट पाउँछन् र चुनाव लडेर थोरै मतान्तरले पराजित हुन्छन् ।

निर्वाचनको बेला हुने आपसी मनमुटाव र टक्रावले घर र समाजलाइ के कस्तो असर पर्छ त्यो यस चलचित्रमा देखाउन खोजिएको छ । चर्चित कलाकार दयाहाङ राई पनि खासै जमेको देखिएको छैन ।

चलचित्रलाई शैलेन्द्र डी कार्कीले छायांकन र निमेष श्रेष्ठले सम्पादन गरेका हुन् । कथा दीपक आचार्य र कुमार कट्टेलको हो । डिण्डु लामा योल्मोको लगानी रहेको चलचित्रमा दयाहाङ राई, बुद्धि तामाङ, विल्सनविक्रम राई, अञ्जली अधिकारी, राजाराम पौडेल, कमलमणी नेपाललगायतको अभिनय छ ।

बिहिबार, १५ फागुन, २०७६, रातीको ०९:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर