रेवती ढुङ्गाना ‘रफ्तार’
पाईटारे काकाको घरको आँगनमा एक हुल युबा चर्काचर्की रुपमा विवाद गरिरहेका थिए। एक पक्षले सिनो फोहोर हो भन्दै जिरह गरिरहेका थिए।अर्को पक्ष सिनो खाने गिद्द फोहोरी हो भन्दै आफ्नो दलिल पेश गरिरहेका थिए।
विवाद यति उत्कर्षमा थियो कि त्यहाँ हात हालाहालको स्थितमा युवाहरु पुगेको देखिन्थ्यो ।चुल्ठा मुन्द्राले सजिएका, अजङ्गको शरीरमा ट्याटु खोपेका ती युवाहरु आफ्नो आँगनमा अनावश्यक बिषयमा छाति पिटिपिटी विवाद गरेको देखेर पाईटारे काका डरले काँपिरहेका थिए । आफ्नै आँगनमा मरामर पो गर्ने हुन् कि भनेर।
बिबादकै बिचमा एउटाको मोबाइलमा घण्टी बज्यो । जिल्ला सदरमुकामको एकजना कार्यालय प्रमुखको फोन आएको रहेछ। तपाईंहरुको गाउँमा जाने सडक ग्राभेल गर्ने योजना परेको छ, तुरुन्त समिति गठन गरेर संझौता गर्न आउनु होला।
दुबै पक्ष समितिको अध्यक्ष म बस्न पाउनुपर्छ भन्दै फेरि नयाँ बिबादमा उत्रिए । अन्तत सदरमुकामतिरै गएर कागजपत्र मिलाउने भन्दै सहमत भए र त्यहाँ बाट उठेर हिडेँ।
बिबादको प्रत्यक्षदर्शी पाईटारे काका यति बेलासम्म डरले थरर काप्दैथिए। धन्न यहाँ केही भएन भन्दै लामो सुस्केरा पनि हाल्दैथिए।
दुई रुपैयाँको पनि कामै नगर्ने यिनले सदरमुकाममा बिल भरपाई मिलाएर सरकारि पैसो ल्याएर आएपछि त्यो अनिर्णित गिद्द कि सिनो भन्ने बिबाद कसरी हल गर्लान् त भन्दै काकाले उनीहरु गएको परसम्म आँखा तन्काएर हेरिरहेका थिए। त्यतिबेलासम्म झमक्क साँझ परिसकेको थियो ।