विज्ञान सम्मेलन र उपयोगिता

हालै विराटनगरमा जीव विज्ञान सम्बन्धी राष्ट्रिय सम्मेलन सम्पन्न भयो । केही दिनपछि नै यही विराटनगरमा भौतिक तथा रसायन विज्ञानको अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ । फेरि, आगामी महिनामा विराटनगरमै विज्ञानका विविध विधागत अर्को अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको छ । पूर्वको दमकमा यस्तै सम्मेलनको तयारी भइरहेको जानकारी छ । चितवन र पोखरामा पनि आगामी महिनामा विज्ञान सम्मेलन हुने खबरहरु आइरहेका छन् ।

पत्रकार सम्मेलन, राजनीतिक पार्टी र तिनीहरुका जनवर्गीय संगठनका सम्मेलन आदि चलन चल्तीकै सम्मेलन हुन् । यी नै पनि आपसमा भिन्न प्रकृतिका जमघट हुन् । विज्ञान सम्मेलन राजनीतिक सम्मेलनजस्तो अलि हुन्न । राजनीतिमा सम्मेलन भनेपछि संगठनको भविष्य–कार्यदिशा नीतिगत निर्यणबाट र कार्य समिति गठन गरी उसलाई कार्य सुम्पिने भन्ने बुझाइ हुन्छ । विज्ञान सम्मेलनमा नयाँ समिति बनाउने अक्सर हुन्न । तथापि अवस्था र आवश्यकतामा निर्भर हुन्छ । विज्ञान सम्मेलनमा खासमा सहभागीहरुले आफूले गरेका अनुसन्धानका विवरणहरु अरु वैज्ञानिकलाई सुनाउने र देखाउने हो । अरुहरु समक्षमा आफ््ना उपलब्धिहरुको फेहरिस्त प्रस्तुत गर्ने हो । प्रस्तुत गरिसकेपछि सहभागीहरुबाट उठाइएका सवालहरुको जवाफ गर्ने हो । सबै सवालहरु प्रश्न नहुन सक्छन् । ती सुझाव हुनसक्छन्, कमजोरी औँल्याउने काम हुनसक्छन् । तसर्थ प्रस्तोताले श्रोताहरुबाट आएका कुराहरुलाई ठूलो अवसर सहितको सम्पत्ति मान्नुपर्छ । तिनै सुझावले उसको कार्यमा निखार आउनसक्छ र अनुसन्धान विविरण पूर्ण तथा विवादरहित बनिन सक्छ । त्यसैले त अनुसन्धान विधामा कार्यक्षेत्रमा काम गर्नु मात्र नभई सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्नु अपरिहार्य मानिन्छ । यो त यस्तो अवसर हो, जसबाट आपूmमा निपूर्णता भर्ने एउटा पक्ष छँदैछ, आफ्नो कामको विवरणलार्ई अब्बल पनि पारिन्छ ।

एउटा अनुसन्धाताको ठाउँबाट विज्ञान सम्मेलन साह्रै महत्वपूर्ण मानिन्छ । यस अवसरमा आफूले गरेको काम देखाइन्छ, विवरणलाई तन्दुरुस्त पारिन्छ, प्रस्तुति क्षमता दर्बिलो बनाइन्छ । दोश्रो महत्वको कुरा के हो भने गरेको काम डायरीमा सीमित गरी राख्नुको कुनै अर्थ छैन । त्यो चिज जनमानसमा आउनुपर्छ । त्यसलाई अरुले बुझ्नुपर्छ । मानव विकास र भौतिक विकासमा उपयोगी हुनुपर्छ । यो मानव सभ्यतासँगै सिर्जना भएको मान्यता नै हो । वैज्ञानिक जगतमा समेत यो अपरिहार्य मानिन्छ । यस्ता सम्मेलनबाट ती कामहरुको प्रकाशन पनि हुन्छ । प्रकाशनमा आएपछि मात्र सो कामको सार्थकता पुष्टि हुन्छ । भनाइ छ– लेखिएको इतिहास पढिन्छ र कायम हुन्छ, त्यसैलाई मानिन्छ । सोहीपरि, अनुसन्धान कार्य गरेर मात्र पूर्ण हुँदैन, जबसम्म यो प्रकाशनमा आउँदैन । हो, सम्मेलनमा प्रस्तुत गरिएका कार्यपत्रहरुको संगालो पछि प्रकाशित गरिन्छ । तसर्थ एउटा अनुसन्धातालाई यो स्वर्णिम अवसर हो । त्यति मात्र होइन वैज्ञाननिक, दार्शनिक एवम् वौद्धिक जगतमा यस्ता सम्मेलनमा भाग लिनु नै एउटा प्रोफाइल बढाउनु हो–जीवनमा । जसरी राजनीतिक पार्टीका सम्मेलनमा भाग लिन पाउनु वा प्रतिनिधि चुनिएर जान पाउनु सो व्यक्तिको राजनीतिक जीवनमा कति महत्वपूर्ण हुन्छ, त्यस्तै हो । सम्मेलन हल, कार्यक्रम आफैँ एउटा ठूलो विश्वविद्यालय हो, जहाँबाट विद्या मात्र होइन अनुशासन, पद्दति र मर्यादासमेत सिकिन्छ । सम्मेलनमा सहभागी भएको, प्रस्तुतिकरण दिएको भनेपछि उसको बौद्धिक उचाइ थपिन्छ ।

सम्मेलनमा सहभागी धेरै भएको खण्डमा, विषयवस्तु धेरै भएको अवस्थामा विधागत प्रस्तुति भिन्न–भिन्न हलमा गरिएको हुन्छ । त्यो हुनु झन् राम्रो हो । किनभने विज्ञानभित्र सयौं विधा वा विषय छन् । तसर्थ विधागत प्रस्तुति तथा छलफलले निखार नल्याउने प्रसंगै रहेन । विज्ञान सम्मेलनबाट सरकारलाई सबैभन्दा बढी फाइदा छ, लिन सक्नुपर्छ । नेपालमा विज्ञानलाई खास महत्व दिइएको छैन । हो, त्यसैले देश विकासमा पछाडि छ, निश्चित हो । जबसम्म विज्ञानलाई महत्व दिएर यसमा लगानी बढाइँदैन तबसम्म देशको विकासले गति लिन्न र समृद्धि पनि आउँदैन । समृद्धि ल्याउन चाहने सरकार सञ्चालकहरुलाई देशको विकासका अवयव वा समृद्धि ल्याउन ध्यान दिनुपर्ने कुराहरुको निःशुल्क प्रशिक्षण हो, विज्ञान सम्मेलन । यस्ता सम्मेलनले देशको विज्ञान क्षेत्र कहाँ रहेछ, हाम्रो देशमा अनुसन्धानको अवस्था कस्तोे रहेछ, विज्ञान र वैज्ञानिकको अवस्था र चाहना अनि आवश्यकता के रहेछ, यावत् कुराको चित्रण हुन्छ । त्यति मात्र होइन, राज्यले लगानी के मा गर्नुपर्ने,कसरी समाजको विकास हुन्छ,समृद्धि के मा आधारित हुनेछ,समिद्धिको चाबी कहाँ छ र कुन बाटो हिँडेमा समृद्धिको यात्रा सफल होला भन्ने कुराको ज्ञापन यस्ता सम्मेलनले दिने हो । अनि त, राज्य सञ्चालकहरु यस्ता समारोहमा अनिवार्य उपस्थित भएको राम्रो ।

गत वर्ष राष्ट्रिय युवा परिषद्ले सामाजिक विकास मन्त्रालय प्रदेश नं.१ को सहभागितामा विराटनगरमा नै एउटा युवा वैज्ञानिक भेलाको आयोजना गरेको थियो । उक्त भेलाको उद्घाटन र कुनै–कुनै सेसनमा त सरकारी उपस्थिति रहयो । तर, अधिकांशमा वैज्ञानिकहरु मात्र । उबेला वैज्ञानिकहरुले आक्रोस पनि पोखे– ‘हाम्रा कुरा, हाम्रा समस्या हामीलाई त थाहा छ । तर, सुन्नुपर्ने जसले, उसको उपस्थिति खोई ?’ त्यो भेलामा मुख्यमन्त्री, सामाजिक विकासमन्त्री, प्रदेश योजना आयोगका उपाध्यक्ष, विराटनगर महानगरका प्रमुखहरुको कुनै मौकामा उपस्थिति थियो । तर, वैज्ञानिकले चाहे किसिमको यथेष्ट समयको भएन ।

यसपटक विराटनगरमा भएको जीव विज्ञान सम्बन्धि सम्मेलनमा वनस्पति स्रोतबाट कसरी मानवले समृद्धि पाउनसक्छ भनेर वैज्ञानिकले बाटो देखाइदिए । कुन–कुन वनस्पति तथा जन्तुले हाम्रो जीवनमा योगदान दिनसक्छन्, वातावरणीय प्रदूषण जैविक स्रोतबाट कसरी घटाउन सकिएला, रोगबाट बच्नका लागि जीव विज्ञानले के योगदान दिनसक्छ, मानव वन्यजन्तु द्वन्द न्यूनिकरण कसरी होला, हाम्रा प्राकृति जैविक स्रोतहरु के हुन् र तिनीहरुको दिगो प्रयोग कसरी हुने भन्ने जस्ता गरी करिब अढाई सय कार्यपत्रहरु प्रस्तुत भए । नेपालका दिग्गज वैज्ञानिक तथा अनुसन्धाताहरुको गहन उपस्थिति रहेको थियो । सरकार सञ्चालकहरुको उपस्थिति नहरेको हैन तर पूरा समय भएन भन्ने हो । स्थानीय सरकारले यसबाट जति लाभ लिन सक्नुपथ्र्यो सक्यो कि सकेन ? मुख्यमन्त्री, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री, राज्यमन्त्री, संसदीय समिति, योजना आयोग आदिको उद्घाटन सत्रमा उपस्थिति थियो । तर, सेसनहरुको निचोड कस्तो आयो भनेर खोजी भएको छैन । ध्यानमा राख्नुपर्ने कुरा के भने सो निचोड नै विकासको चाबी हुनसक्छ, मार्ग निर्देशक हुनसक्छ । यसकारण सरकार पक्षको यसमा सहभागिता जरुरी छ, चासो जरुरी छ । जीवविज्ञान सम्मेलनमा प्रदेश सरकारको समेत आयोजनामा भएको हुनाले कम्तिमा सरकारले विज्ञानको क्षेत्रमा दृष्टि पु¥याएको महसुस चाहिँ वैज्ञानिकले गरेका छन् र खुशी व्यक्त पनि गरे ।

प्रदेश नं. १ मा यसैवर्ष चार वटा वैज्ञानिक सम्मेलन हुनु भनेको चानचुने कुरा हैन । तीमध्ये तीन वटा त राजधानी शहर विराटनगरमा नै भइरहेका छन् । यसले यस क्षेत्रका वैज्ञानिकहरुको क्रियाशीलताको दर्पण देखाएको छ । यहाँको वैज्ञानिकहरु अनुसन्धानमा निरन्तर रहेछन् र सरकार पक्षलाई घच्घच्याइरहेका छन् भन्ने बुझ्नुपर्छ । सरकारको नेतृत्वमा हुनुपर्ने, उसले आयोजना गर्नुपर्नेमा स्वयम् वैज्ञानिक नै यस्तो कार्यक्रम आयोजना गरिरहेका छन् भने केही नभए पनि सरकारले सहभागी भइदिएर उनीहरुको मनोबल उच्च बनाइदिने काम त छँदैछ, त्यसबाट फाइदा पनि लिन सक्नुपर्यो ।

अस्ति, जीव विज्ञानको सम्मेलन यहाँको नेपाल जैविक समाजको पहलमा भएको हो, अब तुरुन्तै हुने भौतिक तथा रसायन विज्ञानको सम्मेलन महेन्द्र मोरङ क्याम्पसलगायत सम्बन्धित विधाका संस्थाहरुको पहलमा हुने हो । अर्को विविध विधामा हुने सम्मेलन पूर्वाञ्चल विश्वविद्यालयले आयोजना गरेको हो । यस्ता शैक्षिक, बौद्धिक एवम् वैज्ञानिक गतिविधि हुनु भनेको त राज्यको लागि ठूलो मौका हो । असल कुराको सूचना र सूचकसमेत हो । यी सबै सम्मेलनबाट घोषणा पत्रहरु जारी भएका हुनेछन् । ती घोषणापत्रमा उल्लेखित विषयवस्तुहरु समावेश हुनेछन् । तसर्थ सम्बन्धित सबैले ती चिजहरुलाई ध्यानपूर्वक हेरौँ र देश र देशबासीलाई कसरी यसको उपयोगिताको लाभ दिन सकिन्छ भन्नेतर्फ लागौं ।

ramchandra.adhikari@gmail.com

बिहिबार, १५ फागुन, २०७६

प्रतिक्रिया:

सम्बन्धित खवर