छ करोड लगानीमा डेरी उद्योग स्थापना

विराटनगर । विराटनगरको जतुवामा करिब ६ करोड रुपैयाँको लगानीमा निर्माण भएको आधुनिक प्रविधियुक्त डेरी उद्योग सञ्चालनमा आएको छ ।
मुख्यमन्त्री शेरधन राईले बुधबार सूर्योदय मिल्क एण्ड बेभरेज इन्डष्ट्रिज प्रा.लि. को उद्घाटन गर्नुभयो ।

विराटनगर १४ जतुवामा अधिकांश घरमा गाईभैंसी पाल्ने गरिएकोमा सोही क्षेत्रका युवाहरुको पहल र लगानीमा उद्योग स्थापना गरिएको हो । डेरी उद्योग दैनिक २० हजार लिटर दूध प्रशोधन क्षमताको छ । शहर वरिपरीका बस्तीहरुमा उत्पादन हुने दूध संकलन गरेर उद्योगसम्म ल्याउने र प्रशोधन पछि स्वच्छ दूध बजारमा पु¥याउने लक्ष्य रहेको सञ्चालक मनोज यादवले जानकारी दिनुभयो ।

उद्योगले बुधबार नै स्थानीय किसानहरुबाट ३ हजार लिटर दूध संकलन गरेर प्रशोधन गरि बजारमा लगेको छ । बिहीबार करिव ५ हजार लिटर संकलन हुनेछ । उद्योगले अहिले दूध, दही, घ्यू, बटर र पनिर पनि उत्पादन गरिरहेको छ । उत्पादन विस्तार गर्ने योजनासहित उद्योगको नाममा बेभरेज समावेश गरेको यादवले जानकारी दिनुभयो ।

सहर वरिपरीका किसानले उत्पादन गरेको दूध प्रशोधन नगरी बजारमा लैजाने र खुलारुपमा बिक्री गर्ने गरेका कारण उपभोक्ताले स्वच्छ दूध उपभोग गर्न पाएका छैनन् । सरकारले अप्रशोधित दूध बिक्री गर्न निरुत्साहित गर्ने नीति लिनुपर्ने यादवले बताउनभुयो ।

मुख्यमन्त्री शेरधन राईले समृद्ध नेपाल सुखि नेपालीको अभियान विराटनगरको जतुवाबाट सुरु भएको बताउनुभयो । राष्ट्रिय आवश्यकता र उद्देश्य अनुसार दक्ष युवाहरुले उत्पादन र प्रशोधनमा आधारित उद्योग स्थापना गरेको भन्दै उहाँले त्यसमा सरकारले पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । ‘यो उद्योग तपाईँहरुले स्थापना गर्नुभयो,’ मुख्यमन्त्री राईले भन्नुभयो ‘अब यो तपाईँहरुको मात्र रहेन ,यो सञ्चालन गर्ने दायित्व सबैको र सरकारको पनि हो ।’ उहाँले हरेक व्यक्ति उत्पादनमा जोडिएर मात्र समृद्धि प्राप्त हुने बताउनुभयो ।

उद्योग उद्घाटनमा आउँदो कल्पना गरेको भन्दा धेरै आधुनिक र व्यवस्थित उद्योग स्थापना भएको पाएपछि आफू उत्साहित बनेको मुख्यमन्त्री राईले बताउनुभयो । प्रदेश १ दूध उत्पादनमा आत्मनिर्भर रहेको र अब मासु र अन्नमा आत्मनिर्भर बन्नेगरी काम गर्ने उहाँको भनाइ थियो ।

मुख्यमन्त्री राईले सरकारले पशु स्वास्थ्यलाई ध्यानमा राखेर साइलेज उत्पादन गर्न ८ करोड बजेट विनियोजन गरेको र लगानीका सम्वन्धमा छलफल जारी राखेको बताउनुभएको छ । उहाँले डेरी उद्योगहरुलाई उत्पादन विविधिकरण गर्न र उच्च गुणस्तरको चकलेट उत्पादन गरेर विदेश निर्यात गर्नेतर्फ बढ्न आग्रह गर्नुभयो ।
भूमिव्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले कृषिको व्यवसायिकता अभिवृद्धि गर्न ध्यान दिनुपर्ने बताउनुभएको छ । ‘हाम्रो कृषि जीविका चलाउनेबाट माथि उठ्न सकेको छैन’, उहाँले भन्नुभयो ‘कृषि सम्वन्धित उद्योग स्थापना गरी व्यवसायिक अभिवृद्धितर्फ जानुपर्छ, जसको सुरुवात भएको छ ।’
नेकपाका केन्द्रीय सदस्य गुरुप्रसाद बरालले जतुवाले ग्वाला बाहुल्य क्षेत्र भएको र उसले पहिना स्थापित गर्न डेरी उद्योग सुरु गरेको भन्दै प्रशंशा गर्नुभयो । भूमि व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालयका सचिव डा. विमलकुमार निर्मलले प्रदेश १ मा धानपछि दूधकै उत्पादन राम्रो रहेकोले अब उत्पादनले बजार खोज्ने नभई बजारले उत्पादन खोज्ने अवस्था बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा शुभारम्भ डेरीका सञ्चालक तथा नेपाल डेरी संघका उपाध्यक्ष राजन दाहालले नेपालमा दूध उत्पादन र बजारको सम्भावना राम्रो रहेको बताउनुभयो । उहाँले दूध उत्पादक किसानहरुलाई नै प्रशोधन उद्योग सञ्चालन गर्न दिँदा दुवै तर्फ असफल व्यहोर्नु पर्ने जोखिम रहने भन्दै ध्यान दिन आग्रह गर्नुभयो ।
खाद्य तथा गुण नियन्त्रण कार्यालयका प्रमुख राजकुमार रिजालले उद्योगका सञ्चालक मनोज यादव डेरी क्षेत्रमा लामो अनुभव भएका, दक्ष प्राविधिक समेत भएको र उद्योगले सबै मापदण्ड पुरा गरेकोले स्वच्छ दूध उत्पादन हुने विश्वास व्यक्त गर्नुभयो । समाजसेवी तथा उद्योगी दिनवन्धु गोयलले सरकारले कृषिमा आधारित उद्योगहरुलाई प्रवद्र्धन गर्न अनुदान कार्यक्रममा सहभागी गराउन आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य तथा समाजवादी पार्टी नेपाल संसदीय दलका नेता जयराम यादवले जतुवाले आफ्नो परिचय बदलेको बताउनुभयो । उद्योगमा मनोज यादव, अनुज यादव र प्रेम राठीको मुख्य लगानी रहेको छ ।

बिहिबार, १५ फागुन, २०७६, बिहानको ०८:४४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर