विराटनगर । सर्वसाधरणले धितोमा राखेको सुनचाँदी लिएर मोरङको बुढीगंगा गाउँपालिका–१ टंकीसिनवारीस्थित ‘चन्दा ज्वेलर्स’ का सञ्चालक फरार भएका छन् ।
ज्वेलर्सका सञ्चालक चन्दन स्वर्णकार र संगीता स्वर्णकार सबै सुनचाँदी लिएर फरार भएका हुन् ।
स्वर्णकार दम्पत्तीले बुढीगंगाका सयौंको संख्यामा धितो राखेको लाखौंको सुनचाँदी लिएर फरार भएको पीडितहरूले बताएका छन् । पीडितहरूले मोरङ प्रहरीमा आइतबार किटानी जाहेरी पनि दर्ता गराएका छन् । मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले धितोमा राखेर सुन लिएर फरार भएको किटानी जाहेरी परेपछि अनुसन्धान सुरू गरेको जानकारी दिनुभयो ।
सुन पसलमा धितो राखेको लाखौं मूल्य बरावरको सुनचाँदी लिएर स्वर्णकार दम्पती एक हप्ता अगाडि सम्पर्कविहिन भएका हुन् । स्थानीय सूर्यबहादुर थापाका अनुसार उनीहरुले करिब एक सय जनाको धितोमा राखेको सुन र पैसा दिएर बनाउन दिएको सुन लिएर संचालक फरार भएका हुन् ।
बुढीगंगा २ टंकिसिनवारीका देवि थापा निरौलाले धितोमा राखेको साढे चार तोला सुन लिएर सञ्चालक फरार भएको बताउनुभयो । ‘विभिन्न मितिमा साढे चार तोला सुन धितो राखेर १ लाख रुपैयाँ कर्जा लिएको थिए,’ उहाँले भन्नुभयो, ‘अहिले धितोमा राखेको सुन उकास्न जाँदा पसल बन्द छ ।’ ४ लाख ५० हजार मुल्य बरावरको सुन लिएर सञ्चालक फरार भएपछि दुःख गरेर आर्जेको सम्पती डुब्ने खतरा भएको उहाँले बताउनुभयो ।
यसैगरि बढीगंगा ३ बाँसवारीकी राधा बरालले पनि सोही ज्वलेर्समा १४ हजार रुपैयाँमा आधा तोला सुन धितो राख्नुभएको थियो । ‘लकडाउनले गर्दा समस्या भएपछि भएको आधा तोला सुन २ भदौमा पैसा लिएको थिएँ,’ उहाँले भन्नुभयो, ‘अहिले धितो राखेको सुन उकास्न आउँदा सुनपसल बन्द छ ।’
स्वर्णकर दम्पतीले अरु ठाउँमा पनि यसरी पसल खोली सर्वसाधरणलाई ठगी गरेको हुनसक्ने भएकोले प्रहरी प्रशासनले खोजबिन गरि कारवाहीको दायरमा ल्याउनुपर्ने पीडित बुढीगंगा २ का राजन खड्काले बताउनुभयो । चन्दा ज्वेलर्सले सुन धितोमा राखेर २४ प्रतिशत ब्याज लिने गरेको थियो ।
आधा तोलादेखि बढीमा साढे चार तोलासम्म धितोमा राखेको सुन लिएर स्वर्णकार दम्पती आफ्नो ९८६२२८८३१४ र ९८१९३९९१२७ नम्बरको मोबाइल अफ गरेर सम्पर्कबिहीन छन् । उनीहरुले अहिले आफ्नो फेसबुक एकाउण्ट पनि डिएक्टीभ गरेका छन् ।
संचालक दम्पती भागेको हल्ला चलेपछि धितो राख्ने र पैसा दिएर सुनचाँदी बनाउ दिने सर्वसाधरणको अहिले दैनिक पसलमा भिड हुने गरेको छ । सर्वसधारणले धितोमा राखेको सुन लिएर सिक्कम ससुराली रहेकोले उनीहरु उतै गएको हुनसक्ने बुढीगंगा गाउँपालिका २ का पीडित सूर्यबहादुर थापाले बताउनुभयो ।
फरार भएका संचालक खोजी गरि कारवाहीको दायारामा ल्याउन पीडितहरूले माग गरेका छन् ।