खुद्रा तरकारी व्यापारी कटहरी जान मानेनन्

थोक विक्रेतालाई पठाउने तयारी

विराटनगर । विराटनगर गुद्री बजारका खुद्रा तथा थोक व्यापारीहरुसँग कटहरी फलफुल तथा तरकारी थोक बजार विकास समितिले बुधबार छलफल गरेको छ ।

विराटनगर महानगरपालिकासँगै जोडिएको कटहरी १ मा निर्माण भएकोे एकीकृत कृषि फलफुल तथा तरकारी थोक बजारमा जान अस्वीकार गरिरहेका व्यापारीसँग छलफल भएको हो ।

स्थानीय जनप्रिय मा.वि कटहरीको ४ बिगाहा २ कठ्ठा २ धुर र थप १८ कठ्ठा जग्गामा निर्माण भएको तरकारी बजार व्यापारी जान अस्वीकार गर्दा सञ्चालन हुन सकेको छैन । बजारमा खुद्रा व्यापारीहरुका लागि बनाईएको स्टलको आकार सानो भएको गुद्री बजारका खुद्रा व्यापारी बलराम शाहले बताउनुभया । स्टलको आकार सानो भएको र कम्तीमा १० बाई १२ स्क्वयार फिटको स्टल हुनुपर्ने उहाँको भनाइ छ ।

अर्का व्यापारी रामअवतार शाहले बजार निर्माण हुनुपुर्व व्यापारीहरुसँग कुनै छलफल नभएको र यो बजार क्षेत्र सुरक्षाको दृष्टिकोणले जोखिमपूर्ण रहेको बताउनुभयो । अर्का व्यापारी रुस्तम अन्सारीले एकीकृत कृषि फलफुल तथा तरकारी थोक बजार थोक व्यापारीका लागि उपयक्त भए पनि खुद्रा व्यापारीका लागी अनुपयुक्त भएको जिकिर गर्नुभयो ।

उपभोक्ताहरु सागसब्जी किन्न यति टाढा नआउने भन्दै व्यापारीले १० रुपैयाँको टमाटर किन्न ८० रुपैयाँ सिटी भाडा तिरेर उपभोक्ता नआउने बताए । छलफलमा गुद्री बजार व्यवस्थापन समितिका सचिव गुड्डु अहमदले व्यापारी वर्गसँग छलफलविना जबरजस्ती एकीकृत फलफुल तथा तरकारी थोक बजार निर्माण गरिएको बताउनुभयो ।

छलफलमा विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले कटहरीमा निर्माण भएको एकीकृत तरकारी बजार खुद्रा व्यापारीहरुका लागि अनुपयुक्त भएकोले उनीहरुलाई विराटनगरभित्रै व्यवस्थापन गरिने बताउनुभयो । तत्काल एकीकृत बजार सञ्चालनमा ल्याउन थोक बिक्रेताहरु गुद्रीबाट थोक बजारमा सर्नुपर्ने उहाँको भनाइ थियो ।

गुद्री बजार व्यावस्थापन समितिले भने विराटनगर–११ बसपार्क पश्चिम आँप बगैचाको छेउमा रहेको ३ बिगाहा क्षेत्रफलको जग्गामा तरकारी बजार व्यवस्थापन गर्ने तयारी गरेको छ । सो क्षेत्रमा भौतिक संरचना निर्माणको काम भइरहेका छ । पशुपति भगत, त्रिलोकी भगत र गुड्डु अहमदलगायतको समूहले नागेश कोईरालाको जग्गा ठेक्कामा लिएर तरकारी बजार निर्माण थालेपनि महानगरबाट इजाजत लिएको छैन ।

महानगरको ईजाजतबिना नै निर्माण भईरहकोेले मापदण्ड विपरित भए कार्वाही हुने महानगरपालिकाको घरनक्सा शाखा प्रमुख अर्जुन थापाले बताउनुभयो । संरचना मापदण्ड अनुकुल भए ३० प्रतिशत जरिवाना बुझाएर नक्सा पास गर्ने र मापदण्ड विपरित भए पुरै भत्काईने उहाँले बताउनुभयो ।
महानगरपालिकाले विराटनगरको ई प्लटमा अवस्थित रहेको गुद्री बजार खाली गर्न सूचना गरिसकेको छ । तर, व्यापारीले कटहरी सर्न नमान्दा करोडौ लगानीमा निर्माण भएको संरचना अलपत्र छ ।

बिहिबार, १५ फागुन, २०७६, बिहानको ०८:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर