काठमाडौं । सत्तारुढ नेकपाले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको छ ।
बुधबार बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
पार्टीबाट छानिएका गौतमलाई सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट मनोनित हुने कोटामा गौतमलाई लैजाने निर्णय नेकपाले गरेको हो । ५९ सदस्यीय राष्ट्रियसभामा राष्ट्रपतिबाट ३ जना मनोनित हुने व्यवस्था छ ।
राष्ट्रपतिबाट मनोनित भएका युवराज खतिवडाको कार्यकाल यही फागुन २० गतेदेखि सकिन लागेकोले गौतमलाई राष्ट्रियसभामा पठाउन लागिएको हो । राष्ट्रियसभा सदस्यको कार्यकाल गोलाप्रथाबाट निर्धारण गरिएकोमा अर्थमन्त्री रहेका खतिवडाको दुई वर्ष अवधि परेको थियो ।
नेकपाले संविधान संशोधनको गृहकार्यका लागि बनाइएको भनिएको कार्यदललाई भने क्रियाशील नबनाउने भएको छ । संविधान संशोधन आवश्यकताअनुसार हुँदै जान सक्ने भएकाले अहिले नै कार्यदल बनाउन नपर्ने निष्कर्ष निकालिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बनाउनका लागि नेकपाले गठन गरेको भनिएको संविधान संशोधन कार्यदलका विषयमा चर्को आलोचना भएको थियो । व्यक्तिका लागि संविधान संशोधन गर्ने विषयमा चर्को आलोचना भएपछि नेकपा पछि हटेको हो ।
सचिवालय बैठक नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल भएको थियो । छलफलमा अमेरिकी नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धमा झलनाथ खनाल संयोजकत्वको कार्यदलले बुझाएको प्रतिवेदन, पार्टी एकताका टुंगिन बाँकी काम लगायत विषयमा कुराकानी भएको बताइएको छ । खनाल संयोजक रहेको कार्यदलले यथास्थितिमा एमसीसी संसदबाट पारित गर्न नहुने सुझाव दिएको छ ।