विराटनगर । सरकारको स्वामित्वमा रहेको विराटनगरस्थित कोशी अस्पतालको १३ कठ्ठा १३ धुर जमिनमा अन्य संस्थाहरुले भाडा लगाएर आम्दानी लिइरहेको पाइएको छ ।
अस्पतालको ५ बिघा ९ धुर जमिनमध्ये राष्ट्रिय क्षयरोग केन्द्र, गणेश मन्दिर, नेपाल रडेक्रस सोसाइटी र देवकोटा पुस्ताकलयले वर्षौदेखि उपभोग गरि व्यवसायिक प्रयोजनमा लगाइरहेका छन् ।
अस्पतालको नयाँ भवन निर्माण गर्न जग्गा खोजी गर्ने क्रममा नापी गर्दा अस्पतालको ८ कठ्ठा १० धुर जग्गा क्षयरोग केन्द्रले, गणेश मन्दिरले १ कठ्ठा १० धुर, रेडक्रसले १ कठ्ठा १३ धुर र देवकोटा पुस्तकालयले २ कठ्ठा जमिन उपभोग गरिरहेको खुलेको हो । उनीहरुले सो जमिन व्यवसायिक प्रयोजनमा भाडामा लगाएर आम्दानी आफैं लिइरहेको पाइएको अस्पताललकी मेसु डा.संगीता मिश्राले जानकारी दिनुभयो ।
अस्पतालको नयाँ भवन निर्माणका लागि बहुवर्षीय योजना अनुसार संघीय सरकारले चालु आर्थिक वर्षमा ४० करोड रूपैयाँ बजेट बिनियोजन गरेपछि जग्गा खोजी भएको थियो । संघीय आयोजना कार्यान्वयन इकाई भवन कार्यालयमा आएको बजेटबाट अस्पतालले आइसियू, सिसियू, नेफ्रोलोजी र न्यूरोलोजीको सेवाको लागि नयाँ भवन निर्माणको तयारी गरेको छ ।
क्षयरोग केन्द्रले अस्पतालको जग्गा भोगचलन गरि १६ वटा कोठा व्यवसायिक प्रयोजनामा ल्याएको पाइएको छ । यस्तै देवकोटा पुस्ताकलयले १० वटा, रेडक्रसले बैंकसहित आधा दर्जन बढी कोठा भाडामा लगाएको छ । उनीहरूले औषधी पसल र निजी क्लिनिकहरूलाई भाडा लगाएका छन् । त्यसबापत उनीहरुले लाखौं भाडा असुल गरिरहेका छन् ।
क्षयरोग केन्द्रले २०१६ सालमा बनाएको भवनमा कार्यालय सञ्चालन गर्नुका साथै खेलकुद विकास समिति, औषधि पसल र क्लिनिकलाई भाडामा दिएको छ । रेडक्रसको ब्लड बैंकले भवन बनाएर वाणिज्य बैंकलाई भाडामा दिएको छ । अस्पतालको जग्गा चार वटा संस्थाले उपभोग गरेको पाएपछि जमिन प्रयोगको इजाजत भए नभएको बारे उनीहरूलाई पत्राचार गरेको मिश्राले बताउनुभयो ।
देवकोटा पुस्ताकलय र रेडक्रसले मात्र अहिलेसम्म अस्पतालले पठाएको पत्रको जवाफ फर्काएको छ । गणेश मन्दिर क्षयरोग केन्द्रले अहिलेसम्म केही जानकारी नगराएको मेसु मिश्राले जानकारी दिनुभयो । अस्पतालकी मेसु मिश्राले कोशी अस्पतालको जग्गामा बनेको भवनहरू अस्पतालको स्वामित्वमा ल्याएर नयाँ भवन निर्माण गरेर अगाडि बढाउने बताउनुभयो ।
अस्पतालले आइसियू, सिसियू, नेफ्रोलोजी र न्यूरोलोजीको सेवाको लागि नयाँ भवन निर्माण चाँडै सुरू गर्ने जनाएको छ । त्यसबारे र अस्पताल सुधारको लागि बुधबार सर्बदलीय बैठक पनि बसेको छ । ‘बैठकबाट आएको सुझाब लिएर अगाडि बढनेछु’ मेसु मिश्राले बताउनुभयो । अस्पतालको भौतिक पूर्वाधार विकास र गुणस्तरीय सेवा प्रदानमा अगाडि बढ्ने उहाँको भनाइ छ ।
क्षयरोग संस्थाका अध्यक्ष राजन श्रेष्ठले २०१६ सालदेखि क्षयरोग केन्द्र बस्दै आएको बताउनुभयो । इतिहास खोतल्दै जानेभए यो बनखण्डी मन्दिरको जग्गा भएको उहाँको भनाई छ । सबै संघसंस्थाले सामाजिक काम गर्दै आएकोले मिलेर बस्नुपर्ने उहाँले बताउनुभयो ।
सर्बदलीय बैठकमा कसले के भने ?
सर्वदलीय बैठकमा प्रदेश १ का समाजिक विकास मन्त्री जीवन घिमिरेसहित सरोकारवालहरूले अस्पतालको जग्गामा बनेको भवन अस्पतालको स्वामित्वमा ल्याउने र कोशी अस्पतालको सेवा विस्तार र नमुना अस्पताल बनाउन सुझाब दिनुभएको छ । मास्टर प्लान बनाएर कोशी अस्पताललाई शिक्षण कलेजको रूपमा विस्तार गरिनुपर्नेमा सहभागीले जोड दिएका थिए । मन्त्री घिमिरेले अस्पताल परिसरभित्रै प्रदेश ल्याब सञ्चालन गरिनुपर्ने बताउनुभयो ।
विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले अस्पतालको जग्गामा भोगचल गर्दै आएको संघसंस्थाहरूलाई विकल्प दिएर मात्र कार्यान्वयनको चरणमा जानुपर्ने बताउनुभयो । अस्पतालको नयाँ भवन निर्माणको क्रममा कोशी अस्पतालले प्रदान गर्ने सेवाहरू विराटनगरमा साल्ट्र टे«डिङ्ग कर्पोरेशनको गोदाममा सञ्चालन गर्न सकिने उहाँको सुझाब छ ।
जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले कोशी अस्पाललाई स्तरोन्नती गरेर दिर्घकालिन सोचबिचार गरेर भरपर्दाे सेवा प्रदान गरिनुपर्ने बताउनुभयो । कार्यक्रममा कोशी अस्पतालका पूर्वमेसु डा.ज्ञानेन्द्र गिरीले ९० प्रतिशत आर्थिक अवस्था नाजुक भएका सेवाग्राही आउने अस्पतालकोे पूर्वाधार स्तरोन्नती गरि सेवा विस्तार गर्नुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले अस्पताललाई भरपर्दाे बनाउन अस्पतालले तयार पार्ने योजना एवं सोचमा आफ्नो समर्थन रहेको बताउनुभयो । प्रदेशसभा सदस्य जयराम यादवले व्यावसायिक प्रयोजनमा रहेका संरचना भत्काएर अस्पतालको जग्गा अस्पतालकै भोगमा ल्याउनुपर्ने बताउनुभयो ।
छलफलमा नेकपा केन्द्रीय सदस्य गुरू बराल, महेश रेग्मी, मोरङ अध्यक्ष ऋषिकेश पोखरेल, विराटनगर महानगरपालिको इन्दिरा कार्की, पब्लिक फोरम नेपालका अध्यक्ष उत्तम ढुंगेललगायतले अस्पतालको जग्गामा बनेको संरचना कोशी अस्पतालको स्वामित्वमा ल्याएर मास्टर प्लान बनाएर संचरना निर्माण गरिनुपर्ने बताउनुभयो ।