जननेता मदनलाई बुझाउने संग्रहालय

उर्लाबारी । तत्कालिन नेकपा एमालेका महासचिब मदन भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय दुर्घटनामा मृत्यु भयो । घटनामा नेता जीवराज आश्रितको मृत अवस्थामा गाडीमै शव भेटिएको थियो भने भण्डारीको शव घटनास्थलदेखि धेरै तल नारायणी नदी किनारमा तीन दिनपछि भेटिएको थियो ।

घटनाको छानबिन गर्न धेरै आयोग बनेपनि वास्तविकता बाहिर ल्याउन सकेनन् । अझैसम्म पनि भण्डारीको हत्या की दुर्घटना भन्ने विषय अन्यौलमै छ । जननेता भण्डारीको मृत्युपछि पटक–पटक कम्युनिष्ट सरकार बनेपनि घटनाको सत्यतथ्य बाहिर ल्याउन सकेनन् ।

मदनकी पत्नी विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपति हुनुहुन्छ भने उहाँकै उत्तराधिकारी मानिएका केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुन्छ । तर, घटनाको तथ्य आउन सकेको छैन । भण्डारीको मृत्युको पत्यारिलो तथ्य बाहिर आउन नसकेपनि २०५० सालमा स्थापित मदन भण्डारी स्मृति प्रतिष्ठानले उहाँलाई सम्झिरहने अवस्था बनाएको छ । प्रतिष्ठानले मोरङको उर्लाबारी मंगलबारेमा भण्डारीको राजनीतिक, सामाजिक एवं पारिवारिक गतिविधिलाई समेटेर संग्रहालय निर्माण गरेको छ ।

भण्डारीको जन्मदेखि मृत्युसम्मका केही गतिबिधिलाई सग्रहालयमा समेटिएको छ । सग्रहालयको २०७४ सालमा राष्ट्रपति विद्याले उद्घाटन गर्नुभएको थियो । पुरातत्व विभागको आर्थिक सहयोगमा करिब ३ करोड रुपैयाँको लागतमा संग्रहालय निर्माण भएको हो । तीन तले भवनमा १६ कक्षमा संग्रहालय फैलिएको छ ।

के–के छ सग्रहालयमा ?

संग्रहालय प्रवेशद्वारमा भण्डारी र उनी जन्मिएको ताप्लेजुङको ढुंगेसाँघु गाउँको तस्बीर तथा दुर्घटनामा परेको बा.अ.च ८७९३ नम्बरको जीप राखिएको छ । सग्र्रहालय प्रवेश गरिसकेपछि पश्चिमपट्टिको भित्तामा उनको व्यक्तित्व झल्काउने १० मिनेटको श्रव्यदृष्य प्रदर्शनी छ । त्यसमा भण्डारी पहिलो पटक नेपाली जनवादी सांस्कृतिक संघमा आबद्ध भएर राजनीतिक र सामाजिक परिवर्तनको आन्दोलनमा होमिएकोलगायतका गतिबिधीहरू देखाइएको छ ।

वि.सं २०१७ को फौजीकाण्ड, जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको गिरफ्तारी, २०१८ सालमा भएको नेत्र गुरागाईंको हत्या, २०२१ सालमा भएको क्रान्ति योद्धा दुर्गानन्द झाको हत्या, २०२८ सालमा भएको झापा विद्रोह र त्यसपछि उत्पन्न भएको क्रान्तिलाई नेता भण्डारीले सूक्ष्म रुपले अध्ययन गरी नेपाली कम्युनिष्ट आन्दोलनको राजनीतिक दिशा निर्धारित गरेको संग्रहालयमा चित्रण गरिएको छ । यस्तै, संग्रहालयमा पार्टी एकीकरण कक्षका दुईवटा सिसाका सोकेस छन् जसमा विभिन्न कम्युनिष्ट समूहको एकीकरण प्रक्रिया र मोरङको इटहरा (हाल रतुवामाई नगरपालिका) मा तत्कालिन नेकपा (माले) गठनसँग सम्बन्धित श्रव्यदृष्य सामग्रीसमेत राखिएको छ ।

सग्रहालयमा सिरहा जिल्लाकोे विष्णुपुरकट्टीमा २०४६ भदौ ९–१४ मा भएको तत्कालिन नेकपा (माले) को चौथो राष्ट्रिय महाधिवेशनसँग सम्बन्धित विवरण राखिएको छ । जसले भण्डारीलाई पार्टीको महासचिवमा सर्वसम्मतिले चयन गरेको थियो ।

दोस्रो तलामा सोकेसभित्र नेता भण्डारीको निजी प्रयोगका घडी, टोपी, चप्पल, लुङ्गी,ज्याकेट, मोजा, जुत्ता, रेडियो, भाँडाबर्तन, औजार, चश्मा, डायरी, कलम, बुबाआमालाई लेखिएको चिठ्ठी आदि राखिएको छ । सग्रहालयमा मोरङको इटहरास्थित घरको प्रकृतिसहित जननेता भण्डारीले प्रयोग गरेको साइकलसमेत राखिएको छ । संग्रहालयमा भण्डारीको काठमाडौंको नक्सालस्थित डेरा र अध्ययन कक्षको पनि प्रतिकृति बनाइएको छ जसले नेता भण्डारीको जीवनका विषयमा जो कोहीलाई पनि बुझ्न सहज हुनेछ ।

नेता भण्डारीले त्यसबेला प्रतिनिधिसभामा खेलेको भूमिकासँग सम्बन्धित सामग्रीको प्रस्तुतीकरण तथा नेपालसँग भएका विभिन्न असमान सन्धिसम्झौतासँग सम्बन्धित रहेर राष्ट्रियताका विषयमा उनले लिएको अडानसम्बन्धी सामग्री पनि राखिएका छन् । यसैगरी दासढुंगा दुर्घटना अगाडिदेखि शव खोजी र श्रद्धाञ्जलीसम्मका शव्दचित्र राखेर उहाँको मृत्युबारे जानकारी दिइएको छ । सग्राहालयको सो कक्षमा मधुर आवाजमा शोक धून पनि सुन्न सकिन्छ ।
नेता भण्डारीको रहस्यमय दुर्घटनापछि बनेका आयोग, तिनका प्रतिवेदन र जनप्रतिक्रियालाई पनि त्यहाँ राखिएको छ । यहाँ सबै दुर्घटना छानबिन आयोगसँग सम्बन्धित पदाधिकारी तथा सदस्यसमेतको तस्वीरसहितका प्रतिवेदन रहेका छन् । तेस्रो तलामा सुविधासम्पन्न सभाकक्ष छ । त्यहाँ मल्टिमिडिया प्रोजेक्टरबाट नेता भण्डारीसम्बन्धी वृत्तचित्र प्रदर्शनका साथै जनताको बहुदलीय जनवाद (जबज) को पाठशाला राखिएको छ ।
सभाकक्ष नजिकै अर्को कक्षमा रहेको पुस्तकालयमा नेता भण्डारीका सम्बन्धमा विस्तृत रुपमा अध्ययन गर्न चाहनेले विभिन्न अध्ययन सामग्री प्राप्त गर्न सक्नेछन् । भण्डारीको जन्मदेखि मृत्युसम्मका सामग्रीहरु संकलन गरेर राखिएकोले खोज अनुसन्धान गर्नेहरुका लागि यो सग्र्रहालय महत्वपूर्ण छ ।
अहिले दैनिक ५० भन्दा बढी संग्रहालय हेर्न आउने गरेको संग्रहालयका अधिकृत गणेश घिमिरेले जानकारी दिनुभयो । सग्रहालयको अवलोकन र अध्ययन गर्न विद्यार्थी, पत्रकार, प्राध्यापक, राजनीतिक क्षेत्रका मानिसहरू आउने गरेका छन् । प्रतिष्ठानका अध्यक्ष गुरुप्रसाद बरालले जननेता भण्डारीको जीवनका विषयमा जो कोहीलाई पनि बुझ्न सहज होस् भन्ने उद्देश्यले संग्रहालय निर्माण गरिएको बताउनुभयो ।

बाल उद्यानदेखि रेलसम्मको आकर्षण
उर्लाबारी नगरपालिका–३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको मुख्य कार्यालयको गेटबाट भित्र प्रवेश गर्ने वित्तिकै बालउद्यानमा भण्डारीको पूर्णकदको शालिक रहेको छ । शालिकसँगै बाल उद्यान पनि छ ।

उद्यानमा बालबालिकालाई मनोरञ्जनका लागि विद्युतीय रेल, चिप्लेटी, पिङ, फूलबारी, पानीको फोहोरालगायत रहेका छन् । बालउद्यान मोरङको उर्लाबारी, पथरी, लेटाङ, मिक्लाजुङ, रतुवामाई, सुन्दर हरैंचाकासाथै झापा र सुनसरीका विभिन्न स्थानका बालबालिकालाई बिदाको समयमा मनोरञ्जनसँगै शिक्षामूलक स्थानका रुपमा चिनिन थालेको छ । करिब १ करोड लागतमा निर्माण भएको उद्यान बालबालिकाहरुको आकर्षणको केन्द्र बनेको छ ।

प्रतिष्ठानकै हातामा निर्मित स्लाईडिङ पुल अर्को आकर्षण बनेको छ । गर्मीको समय पौडीको मज्जा लिनका सर्वसाधारण आउने गरेका छन् । यसले आन्तरिक पर्यटकको ध्यान खिचेको छ ।

बुधबार, १४ फागुन, २०७६, रातीको १०:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर