- विराटनगर । प्रदेशसभाको मंगलबारको प्रदेशसमा बैठकमा सामाजिक विकास मन्त्री जीवन घिमिरेले बालअधिकारको सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ पेश गर्नुभएको छ । विधेयकमा ५ परिच्छेद र २१ दफा रहेको छ ।
विधेयकमा बालबालिका उपर हुने सबै प्रकारका दुर्घटना, भौतिक पूर्वाधारका कारण हुने दुर्घटना र सडक दुर्घटनाबाट हुने क्षतिलाई रोक्ने प्रयत्न गरेको छ । कुपोषण हुन नदिन पोषणको प्रबन्ध, उपचार र पोषणयुक्त खाना तथा पुर्नस्थापना गृह स्थापना गर्ने आदि कार्यक्रम समावेश गरिएको छ ।
विधेयकमा अभिभावक शिक्षा सम्वाद कार्यक्रम सञ्चालन गर्ने, विशेष शिक्षा आवश्यक भएका बालबालिकाको निमित्त पालनपोषणसमेतको शिक्षाको प्रवन्ध गरिएको छ । अपाङ्गता भएका, हिंसा र शोषणमा परेका आदि बालबालिकाको उद्धार र पुर्नस्थापनाको व्यवस्था विधेयकमा गरिएको मन्त्री घिमिरेले बताउनुभयो । उहाँले बाल अधिकार संरक्षणका निम्ति प्रदेश बालअधिकार समिति गठन गर्ने व्यवस्था विधेयकमा गरिएको छ ।
यसैबीच प्रदेशसभा बैठकले प्रदेशस्तरमा फर्म दर्ता, नविकरण तथा तत्सम्वन्धी अन्य व्यवस्था गर्नका लागि बनेको विधेयक २०७६ लाई दफावार छलफलका लागि समितिमा पठाउने निर्णय गरेको छ ।
उमिता विश्वकर्मा
प्रदेशसभा सदस्य, सुनसरी
जतिपनि हाम्रा धार्मिक मठ मन्दिरहरु छन्, त्यसको भेटी व्यवस्थापन भएको छैन । मन्दिरमा चढाएको भेटी पुजारीले बोरामा कसेर लैजाने गरेको छ । भेटी व्यवस्थापन नहुँदा पुजारीले एकलौटी गर्ने र छोराहरुलाई भागबण्डा गर्ने गर्ने गरेका छन् । पशुपतिनाथ मन्दिरमा पुजारी नियुक्त गर्ने र भेटी व्यवस्थापन गर्ने काम भयो, यहाँका प्रमुख मठमन्दिरहरु जस्तै पाथिभरा, हलेसी, पिण्डेश्वर आदिमा पनि व्यवस्थापन गर्नुपर्छ । पिण्डेश्वरमा साउन महिनामा ६ लाख भक्तजन आउँछन् । एक जनाले एक रुपैयाँ मात्र चढाउँदा पनि ६ लाख रुपैयाँ संकलन हुन्छ । त्यहाँ व्यवस्थापन समिति त बनेको छ । तर, पुजारीकै एकलौटी चल्छ समितिले केही गर्नसक्ने अवस्था छैन । यसमा सरकारको ध्यानाकर्षण होस् ।
राधा थापा
प्रदेशसभा सदस्य, झापा
प्रदेश नम्बर १ मा २०७६÷७७ को विकास निर्माणका लागि विनियोजन गरिएको बजेट कार्तिक १५ मा विवरण बुझाउन भनिएको थियो । त्यो सबैले बुझाइसकेका छन् । तर, अहिलेसम्म पैसा पनि आएन । काम पनि सुरु भएको छैन । २०७७ जेठ १५ भित्रै खर्च गरिसक्नुपर्ने कार्यविधि छ । अहिलेसम्म काम सुरु नभएको योजना कसरी जेठ १५ मा सकिएला ? इन्जिनियरले स्टमेट तयार गर्ने, ठेक्का लगाउने आदि प्रक्रिया लामो हुने भएकोले कसरी यो काम सकिन्छ ? पानी झरीमा यो काम हुने अवस्था देखिएको छ । झरीमा काम गर्दा सरकारको बजेट अनावश्यक खर्च हुने देखिन्छ त्यसप्रति प्रदेश सरकार सचेत हुनुपर्छ ।
सुयर्माराज राई
प्रदेशसभा सदस्य, मोरङ
आज मलाई यो सम्मानित सदनमा कविता शैलिमा प्रस्तुत हुन मन लागेको छ । सुनिदिनुहुन्छ र मनपराइदिनुहुन्छ भन्ने आशा गरेको छु ।
बालुवाटारमा बेसुरा सारंगी रेटेको देखियो
सर्वहारा वर्थ डेमा केक हो की देश काटेको देखियो
सामन्ती बुर्जुवा पूँजीपति जनताका शत्रु हुन् भन्थे
सर्वहारा प्रधानमन्त्रीको मण्डले चरित्र फाटेको देखियो
समृद्ध नेपाल सुखि नेपाली नारा त सुनेकै हो
करोड अरबको कमिशनमा त्यो सबै साटेको देखियो
भ्रष्टाचारीको मुख हेर्दिन नयाँ टुक्का शव्दकोषमा
आफ्नो अनुहार ऐनामा मज्जाले चाटेको देखियो
नेपाल र नेपालीको भाग्य बदल्छु भन्नेले
काखी च्यापी घुसखोरीलाई जनता ढाँटेको देखियो
मेचीकाली हिमाल तराई जय राष्ट्रवाद
बेलाबेला उत्तरदक्षीण शिर काटेको भेटियो
राजिनामा माग्छन् जनता ए प्रधानमन्त्री ज्यू
नैतिकता कुन चरी हो उल्टै सोध्न आँटेको देखियो
प्रधानमन्त्री ज्यु नैतिकताका आधारबाट राजिनामा दिनुहोस् । जनताको माग, यस सदनको र प्रतिपक्षको माग सुनाइदिनुहोस् । धन्यवाद ।
लिलम बस्नेत
प्रदेशसभा सदस्य, सुनसरी
मिति २०७६ फागुन ७ गते राति ११ बजे भारत तामिलनाडु राज्यमा नेपालबाट गएको को १ ख ५३३४ नम्बरको बसमा नेपाली तीर्थयात्रु सवार थिए । सोही स्थानमा भारतीय बससँग ठोक्किएर दुर्घटना हुनपुग्यो । दुर्घटनामा नेपाली तीर्थयात्री ८ जनाको मृत्यु र दशौं जना घाइते भए । घटनामा परि इटहरी १० का गोपाल तामाङ, बीरबहादुर राई, फुलसरीदेवी चौधरी, टिकाराम राई, रसिलाल चौधरी, बुधनीदेवी चौधरी, बिष्णु राई विराटनगर र एक जना झापाका नागरिकको मृत्यु भएको छ । उहाँहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । मृतकहरुको पार्थिव शरीरलाई यहाँसम्म ल्याउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दछु । मृतक परिवार र घाइतेहरुलाई उचित राहात र सहयोग प्रदान गर्न माग गर्दछु । सार्थ भारत सरकारबाट उचित क्षतिपूर्ती दिलाउन पहल गर्न सरकारसँग माग गर्दछु ।
ज्योती सुब्बा
प्रदेशसभा सदस्य, सुनसरी
भारतको बैंङ्लोरमा तीर्थयात्राका क्रममा दुर्घटनामा परेर मृत्यु भएका १० जना नेपाली तीर्थयात्रीहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दछु । मृतकको परिवारलाई सरकारले उचित सहयोग गरोस् र घाइतेहरुको उपचारमा सहयोग गरोस् भन्ने माग गर्दछु । धन्यवाद ।