सहमतिपछि जेटबोट सुचारु

विराटनगर । केही दिनदेखि बन्द भएको सप्तकोशी नदीमा सञ्चालित जेटबोट स्थानीयलाई सहुलियत दिने सहमतिपछि पुनः संचालनमा आएको छ ।

जेटबोट सञ्चालकले जलयातायतमा भोजपुर हतुवागढी गाउँपालिका ९–कोप्चे र धनकुटाको सहिदभूमि गाउँपालिका–९ त्रिवेणीका स्थानीयलाई भाडामा सहुलियत दिएपछि सहमति भएको हो ।

कोप्चे र त्रिवेणीका स्थानीयले सप्तकोशीमा चल्ने जल यातायले अत्याधिक भाडा कायम गरेकोले सहुलियत दरमा आवतजावत गरिदिनुपर्ने माग राख्दा गत माघ २९ गतेदेखि तीन दिन जेटबोट बन्द भएको थियो । स्थानीयको मागको सुनवाइ भएपछि बन्द भएको जेटबोट सञ्चालनमा आएको हो ।

बराहाक्षेत्र नगरपालिका १ चतराघाटदेखि हतुवागढीको कोप्चेसम्म स्थानीयलाई ४ सय र पर्यटकलाई ५ सय रुपैयाँ लिने जेटबोटले अब स्थानीयसँग २ सय ५० रुपैयाँमा लिने सहमति भएको त्रिवेणीका धनबहादुर राईले जानकारी दिनुभयो । स्थानीयले आवश्यक पर्ने खाद्यान्य र घरयासी सामाग्री चतरादेखि जेटबोटबाटै लैजाने गर्दछन् ।

‘दैनिक आवश्यक पर्ने सामाग्री किन्न चतरा र बरहाक्षेत्र पुग्नेपर्ने हाम्रो बाध्यता रहेको छ,’ स्थानीयले भने, ‘आवतजावतमा भाडा महङ्गो भएपछि सहुलियत दिन माग गरेका थियौं । सहमतिबाट हाम्रो मागको सुनवाइ भयो ।’ स्थानीयको हकमा सहुलियत दरमा जलयात्रा गर्न दिने सहमति भएपनि पर्यटकलाई पुरानै ५ सय रुपैयाँ कायम गरिएको छ ।

ओहरदोहरमा पर्यकटलाई जल यातयातमा एक हजार रुपैयाँ लाग्दछ । चतरादेखि कोप्चेसम्मको करिब २२ किलोमिटर दुरी रहेको छ । कोशीमा जेटबोट सञ्चालनमा आएपछि आन्तरिक र बाहृय पर्यटकहरुहरु बढेका छन् । भोजपुर र धनकुटाबाट सुनसरी उदयपुर आउने जाने स्थानीय यात्रुहरूलाई पनि सहज भएको छ ।

कोशीमा जेटबोट सञ्चालनमा आएपछि बराहक्षेत्र र आसपासमा आन्तरिक र वाह्य पर्यटक बढेका हुन् । दैनिक ३ सय बढीले जलयात्रा गर्ने गरेको बताइन्छ । सप्तकोशीमा बराहक्षेत्र मरिन एन्ड रिसोर्ट, सप्तकोसी टुरिजम एन्ड वाटर ट्रान्सपोर्टेसन, नेपाल रिभर ट्रान्सपोर्ट प्रालि, बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालि गरी ४ जल यातायात कम्पनीले तीन वटा लामो दुरीका र चार वटा छोटो दूरीका जेटबोट सञ्चालन गर्दै आएका छन् ।

कोशीमा १५ जनादेखि ६० जनासम्म अट्ने दुई किसिमका जेटबोट सञ्चालनमा आएपछि तराई र पहाडको दूरीलाई जलमार्गले घटाएर स्थानीय यात्रुलाई सुविधा दिएको सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्फोटेसन प्रालिका अध्यक्ष राजेन्द्र कार्कीले बताउनुभयो । जल यातायातका सञ्चालकहरूले राज्यले आवश्यक कानून र नीति निर्माण गरिदिनुपर्ने बताएका छन् । नेपाल जल यातायात तथा पर्यटन सेवा प्रालिका अध्यक्ष विमलमान श्रेष्ठले आवश्यक कानून, नीति र सञ्चालन विधि अहिलेसम्म नबनेको भन्दै राज्यले चाँडै यसमा ध्यान दिनुपर्ने बताउनुभयो । नीति निर्माण नहँुदा असुरक्षित महसुस भएको उहाँको भनाइ छ ।

‘देशभित्रका ठूला नदीमा सरकारलेसमेत पानी जहाज सञ्चालन गर्ने योजना बनाएपछि युवाहरु हौसिएर जल यातयत सञ्चालनमा ल्याएका छौं,’ श्रेष्ठले भन्नुभयो, ‘राज्यले आवश्यक कानून, नीति र सञ्चालन विधि बनाइदिनुपर्दछ ।’ करोडौं रुपैयाँ लगानी गरेर कोशीमा विभिन्न कम्पनीले जेटबोट सञ्चालन गर्दै आएका छन् । तर, जल यातायातका लागि सरकारले यात्रु र सञ्चालक कम्पनीको सुरक्षा नीति नबनाउँदा पीडित हुनु परेको उनीहरूको भनाई छ ।

नीति नबन्दा जेटबोट, यात्रु र सञ्चालकको सुरक्षाको ग्यारेन्टीसमेत हुन सकेको छैन । नेपाल रिभर ट्रान्सपोर्ट प्रालिका अध्यक्ष अनिष थापाले जल यातायात सम्बन्धी सरकारले बोलेजस्तै स्पष्ट नीति ऐन वा निर्देशिका बनाएर लागू गरेको भए जेटबोट सञ्चालमा समस्या नआउने बताउनुभयो ।

मङ्गलबार, १३ फागुन, २०७६, रातीको ०९:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर