स्काउटको ट्रेनिङ क्याम्प सम्पन्न

बेलबारी । मोरङको बेलबारी–८ राधानगरस्थित एम्ब्रियो फुटबल क्लवको खेलमैदानमा स्काउटको संयुक्त टे«निङ क्याम्प सम्पन्न भएको छ ।

फागुन ९ बाट शुरु भएको तीन दिने क्याम्पमा मोरङ र झापाका ८ विद्यालयका २ सय ५५ जना विद्यार्थीहरुले सहभागिता जनाएका छन् ।

क्याम्पमा ११ देखि १५ वर्ष उमेर समूहका विद्यार्थीहरूले भाग लिएका हुन् । नेपाल स्काउट अन्तर्गत संयुक्त ट्रेनिङ क्याम्पले आयोजना गरेको कार्यक्रममा विद्यार्थीहरूले बाँस तथा स्थानीय वस्तुबाट डोरी मात्रको प्रयोगले जुत्ता राख्ने ¥याक, कपडा राख्ने ह्याङ्गर, गेट, स्टेचर बनाउन प्रयोगात्मक जीवनोपयोगी शीप सिकेका छन् ।

यस्तै सुपरम्यान क्रस, अमेगा जम्प, पलिङ डाउन, कमाण्डो व्रिज क्रस, मङ्कि क्रललगायतका विभिन्न १४ वटा साहसिक खेलको अभ्यास गरेका छन् । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्नुभएको क्याम्पलाई बेलबारीका मेयर ज्ञानेन्द्र सुवेदीले समापन गर्नुभयो ।

समापनको अवसरमा मेयर सुवेदीले स्काउट अभियानलाई नगरपालिकाले योजना बनाएर अघि बढाउने बताउनुभएको छ । करिब एक वर्षअघि नेपाल स्काउटले प्रदेश १ मा स्काउटमास्टरको तालिम सञ्चालन गरेको थियो । फलस्वरुप पछिल्लो समय स्काउटका गतिविधि प्रदेश १ का गाँउगाउँमा फैलिएको छ ।
क्याम्प चिफ एवम् स्काउटमास्टर सन्तोष घिमिरेले नेपाल स्काउटमा पछिल्लो नेतृत्व पाएपछि सुगम र शहरकेन्द्रित गतिविधि गाउँसम्म पुग्न थालेको बताउनुभयो । स्काउटले अनुशासित र स्वावलम्बी नागरिक बनाउन दिर्घकालिन महत्व राख्ने उहाँको भनाइ छ ।

मङ्गलबार, १३ फागुन, २०७६, रातीको ०९:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर