काठमाडौं । हरेक वर्ष नयाँ विश्वको समस्यालाई सुल्झाउने हेतुले हल्ट प्राइज नोभेल पुरस्कार अन्तराष्ट्रिय प्रतियोगितामा यसपटक काठमाडौँ स्कुल अफ लको पनि सहभागी हुने भएको छ ।
यस वर्षको प्रतियोगिताको विषय ‘फुड फर गुड’ रहेको छ । हल्ट प्राइजको क्याम्पस निर्देशकको रुपमा पूजा सिलवाल चयन भएकी छिन् । उनी काठमाडौं स्कुल अफ लको पाँचांै वर्षमा अध्ययनरत छात्रा हुन् । व्यापार कानुनमा रुची राख्ने उनी देशको आर्थिक समस्याको समाधान युवाको व्यापारमा संलग्न हुनु हो भन्ने मान्यता राख्छिन् ।
हल्ट प्राइज प्रतियोगितामा विश्वभरका करिब १५० भन्दा बढी देशका विश्वविद्यालयका विद्यार्थी सहभागी हुनेछन् । यो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । यस प्रतियोगिताले विद्यार्थीलाई नयाँ सोच र शैली निर्माण गर्न मद्दत गर्छ ।
प्रतियोगिताका विजेता विद्यार्थी समूहले अमेरिकी डलर १ लाख पुरस्कार जित्ने मौका पाउनेछन् । विभिन्न चरण हुने प्रतियोगितामा क्याम्पसबाट जितेका विद्यार्थीहरु पनि रिजनल राउडको लागि बाहिरसमेत जान पाउँछन् ।