दश स्थानको विकल्पसहित सभामुखलाई ज्ञापन

प्रदेशसभा भवन बनाउन महानगरको आग्रह

विराटनगर । विराटनगर महानगरपालिकाले प्रदेश राजधानीका संरचनामध्ये प्रदेश १ को प्रदेशसभा भवन निर्माणको लागि विभिन्न स्थानहरुको विकल्प सुझाएको छ ।

महानगरभित्रका १० स्थानमा रहेका १८ कठ्ठादेखि ६८ विघासम्मका सरकारी स्वामित्वका जग्गामा प्रदेशसभाको संरचना निर्माण गर्न सकिने भन्दै महामनगर प्रमुख भीम पराजुली नेतृत्वको टोलीले प्रदेशसभाका सभामुख प्रदिपकुमार भण्डारीको ध्यानाकर्षण गराएको हो ।

महानगरभित्र रहेको सार्वजनिक जग्गामध्ये विराटनगर–१ मा रहेको २ विघा १० कठ्ठा, वडा ३ मा रहेको ५ विघा १० कठ्ठा, वडा ४ मा रहेको १८ कठ्ठा, वडा ५ को ५ विघाहा १० कठ्ठा, वडा ६ मा ५ विगाहा, वडा ७ मा रहेको नेशनल ट्रेडिङको ७ विगाहा, विराटनगर–८ मा रहको ५ विघा १० कठ्ठा, वडा १३ मा सुनसरी–मोरङ सिँचाइ आयोजनाको १२ विघा, विराटनगर जुटमिलको ६८ विघा र विरानगर १९ मा रहेको ५ विघा जग्गामध्ये प्रदेशसभा भवन बनाउन सकिने महाननगर प्रमुख पराजुलीले बताउनुभयो । जग्गाको विवरणसहितको ज्ञापनपत्र सभामुख भण्डारीलाई बुझाउँदै उहाँले प्रदेशसभा भवन निर्माणको लागि सबै प्रकारको सहयोग गर्न तयार रहेको उल्लेख गर्नुभएको छ ।

प्रदेशसभा भवन निर्माणको लागि १ वर्षको महानगरको बजेट दिन तयार रहेको बताउँदै पराजुलीले भवन निर्माणको काम चाँडो अगाडि बढाउन आग्रसमेत गर्नुभयो । ज्ञापनपत्र बुझ्दै सभामुख भण्डारीले महानगरको प्रतिवद्धताले संरचना निर्माणको लागि ऊर्जा मिलेको बताउँदै आफ्नो तर्फबाट प्रक्रियालाई अगाडि बढाउने आश्वासन दिनुभयो ।

प्रदेशसभालाई अहिले हलको अभाव भएकोले प्रदेश सरकारसँग त्यसको लागि आग्रह पनि गरेको सभामुख भण्डारीको भनाइ छ । आवाससहितको संरचना निर्माणको लागि पहल भइरहेको पनि उहाँले बताउनुभयो । छलफलमा सामाजिक विकासमन्त्री जीवन घिमिरे, उपसभामुख सरस्वती पोखरेल, नेपाली काँग्रेस संसदीय दलका नेता राजिव कोइराला, नेपाली काँग्रेसका प्रमुख सचेतक केदार कार्कीसहति सांसदहरु र महानगर उपप्रमुख इन्दिरा कार्की तथा प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीलगायतको सहभागिता रहेको थियो ।

प्रदेशसभा अहिले साविकको जिल्ला विकास समितिको कार्यालयको साँघुरो भवनबाट सञ्चालन भइहरेको छ । प्रदेशसभाले विराटनगर राजधानी तोकिसकेको भएपनि राजधानीका संरचना निर्माणको काम भने अगाडि बढ्न सकेको छैन ।

मुख्यमन्त्री शेरधन राईले अब प्रदेश राजधानीको संरचना निर्माणको काम अगाडि बढ्ने बताउनुभएको छ । संरचना निर्माणको लागि जग्गा खोजिरहेको उहाँले जानकारी दिएपनि कुन स्थानमा कहिलेबाट संरचना निर्माण हुने भन्ने टुंगो लागेको छैन ।

प्रदेशको राजधानी तोक्दा राजधानीको संरचना विराटनगर, इटहरी र सुन्दरहरैचा आसपासको क्षेत्रमा रहने उल्लेख गरिएको छ । त्यसैले राजधानीको संरचना इटहरी र सुन्दरहैचामा हुनुपर्ने दावी सो क्षेत्रका जनप्रतिनिधि र स्थानीयले पनि गर्दै आएका छन् । यद्यपी सरकारले भने त्यसबारे कुनै धारणा बनाएको छैन ।

बुधबार, १४ फागुन, २०७६, बिहानको ०८:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर