वितेका तीन महिनामा विराटनगरमा तिन वटा सफल इभेन्टहरु भए । इभेन्टहरु भिन्न–भिन्न प्रकारका थिए, सबैका आफ्नै विशेषता र मैलिकताका थिए । पुसको १ गतेदेखि विराटनगरको जैन भवनमा सुरु भएको “विराट जुत्ता चप्पल मेला” एक महिनासम्म चल्यो । मेलामा विराटनगर तथा आसपासका एक लाखभन्दा बढि मान्छेले अवलोकन गरे भने १ करोड ५० लाख रुपैयाँ बरावरको आर्थिक कारोबार भयो । सो मेलामा ८ वटा जुत्ता–चप्पल उद्योगका ५० हजार जोर जुत्ता–चप्पलको कारोवार भएको आयोजकले दावी गरे ।
जुत्ता–चप्पल मेलाको समापन हुन नपाउँदै विराटनगरका केहि उत्साही युवाहरुले विराटनगरको हिमालय रोडमा विराट सडक महोत्सवको आयोजना गरे । माघको २ गतेदेखि ४ गतेसम्म चलेको यो मेला “स्ट्रिट फुड फेस्टिवलको”को रुपमा आयोजना भएको थियो । मेलामा नेवारी, थारु, मारवाडी, थकाली र राजवंशी समुदायका तीन दर्जन परिकारका स्टलहरु राखिएको थियो । सडकमा आयोजना गरिएको यो महोत्सव दिउँसो ३ बजेदेखि साँझ ८ बजेसम्म चल्दा पनि एक लाख मानिसले अवलोकन गरे र एक करोडको कारोवार भयो भनिएको छ ।
त्यस्तै फागुन २ गतेदेखि १० गतेसम्म विराटनगरमा ‘विराट एक्स्पो २०७६’ “कृषि तथा औद्योगिक अन्तरराष्ट्रिय प्रदर्शनी”को आयोजना भयो । उद्योग संगठन मोरङले आयोजना गरेको यो विराट एक्स्पो २०७६ अघिल्ला दुई मेला महोत्सवभन्दा ठूलो स्तरको कार्यक्रम हो । विराट एक्स्पोमा कुल ३ सय ४० स्टलहरु थिए भने नेपालबाहेक भारत, पाकिस्तान र बंगलादेशबाट पनि सहभागिता जनाइएको थियो । एक अर्ब रुपैयाँको कारोवार भएको विराट एक्स्पोमा ३ लाख ५० हजार जनाले अवलोकन गरेका थिए । एक्स्पोमा जुम्लाको स्याउ, मार्सी चामल, हिमाली उत्पादन पोखराको पाऊ, तेह्रथुमको ढाका, उदयपुरको खरायो, बरमझियाको पेडा, सुपारीको टपरी, इलामको ललिपप तेह्रथुम र संखुवासभाको अल्लो, किवी आदि एक्स्पोको मुख्य आकर्षण रहका थिए । त्यसैगरी भने एक्स्पोमा हेलिकेप्टरबाट विराटनगरको अवलोकन र पाथिभराको दर्शनको व्यवस्थासमेत गरिएको छ ।
माथिका तीनवटै कार्यक्रमहरुका आफ्नै विशेषता र आफ्नै मौलिकता छन् । विराट एक्स्पो प्रदेशस्तरीय कार्यक्रम हो भने बाँकी दुवैको पनि विराटनगरमा भिन्दै महत्व छ । तीनवटै आयोजनाहरुको व्यापक सफलताले विराटनगरको आर्थिक स्तरलाई माथि उठाईरहेको आभास गराएको छ । विराटनगरले आफूलाई राजधानी मात्र नभएर १ नम्वर प्रदेशको आर्थिक केन्द्र पनि हो भनेर स्थिापित गरेको छ । विगतका वर्षहरुमा पनि विराटनगरमा आयोजित एक्स्पो तथा महोत्सवहरु असफल नै त हुदैनथिए । तर, यो स्तरको सफल भएको यो पहिलो पटक हो । विराटनगर धार्मिक सहर पनि हो, विराटनगरमा कृष्णजन्मअष्ठमीको रथ तान्न जुन मानव सागर उर्लिएर सडकमा आउथ्यो, यसपटकको विराट एक्स्पोमा आएको भिडले मलाई कृष्णजन्मअष्ठमीको रथ तान्न उर्लिएको मानव सागरको अनुभुति ग¥यो । जे होस् विराटनगर क्षेत्रमा मान्छेको जीवनस्तर उकालो लागेको आर्थिक गतिविधिमा सहभागी भएको एकदमै सकारात्मक पक्ष हो ।
वितेका तीन महिनामा आयोजित तीन कार्यक्रमहरु सफल भएजस्तै अब विराटनगरले प्रत्येक महिना सानाठूला मेला–महोत्सव, उत्पादनहरुको प्रदर्शनी, फुड फेस्टिवल तथा कृषि मेलाहरुलगायतका गतिविधिलाई जारी राख्नुपर्छ । उसले विराटनगर क्षेत्रको आर्थिक गतिविधि बढाउनुका साथै यस क्षेत्रका मान्छेहरुको जीवनस्तर उकास्न मद्दत गर्दछ । उसका लागि विराटनगर महानगरपालिकाले प्रदर्शनी स्थललाई छुट्याएको जमिनमा स्थायी प्रकृतिको प्रदर्शनीस्थल बनाउन तीनै सरकारहरुले आवश्यक पहल गरुन् ।
अब रथको डोरी तान्न मात्र हैन, देशकै आर्थिक विकासको डोरी तान्न तयार छ विराटनगर भन्ने भावलाई बुझेर योजनाहरु निर्माण भरिए भने लक्ष्य धेरै टाढा छैन ।