विराटनगर । जनप्रतिनिधि आफ्नै ढंगले परिचालन हुन थालेको र पार्टीको निर्देशनसमेत नमान्ने गरेको देखिएपछि नेपाली काँग्रेस मोरङले सोमबार जनप्रतिनिधिहरुसँग छलफल गरेको छ ।
पार्टीको टिकट पाएर पालिकामा मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्ष जितेका जनप्रतिनिधि पार्टीको कामाण्डबाहिर आपूmखुसी चल्न थालेपछि नेताहरुले जनप्रतिनिधिलाई आफ्नो धरातल नभुल्न र पार्टीलाई वाईपास नगर्न चेतावनीसमेत दिएका छन् ।
छलफलमा समाधान दिनेभन्दा गुनासो गर्नेहरुकै बर्चश्व थियो । कार्यकर्ताले चुनाव जितेर गएका जनप्रतिनिधिले कार्यकर्ताको समस्या बुझेनन् भन्ने चर्को गुनासो गरेका थिए भने जनप्रतिनिधिहरुले पार्टी भित्रको गुट, उपगुट र जातीय समूहले गर्दा समस्या परेको गुनासो गरे । कार्यकर्ताहरुले नेपाली काग्रेंस जनआधारित पार्टी भएपनि पछिल्लो समय अनुशासनहीन, गतिहिन र अराजकता बढ्दै गएकोले नियन्त्रण जरुरी रहेको बताएका थिए ।
अन्तरसंवाद कार्यक्रममा पार्टी प्रतिनिधिले आफ्नो गुनासो खुलेर राखेका थिए । जनप्रतिनिधिप्रति आक्रोश व्यक्त गर्दै उनीहरुले अर्कै ग्रहमा चुनाव जितेको हो ? अर्को चुनाबमा जनतामाझ जानुपर्छ कि पर्दैन ? भन्ने प्रश्नसमेत गरेका थिए । जनप्रतिनिधिले विजयी भएपछि पार्टीतर्फ नहेरेको, जिताउन लाग्नेहरुलाई नै वास्ता नगरेको सहभागीको गुनासो थियो ।
स्थानीय तहका जनप्रतिनिधि र जनताबीचको दुरी बढ्दै जान थालेपछि नेपाली काँग्रेस मोरङले सोमबार निर्वाचित जनप्रतिनिधिसँग अन्तरक्रिया गरेको हो । स्थानीय तहका जनप्रतिनिधि पार्टी र जनता दुवैबाट टाढिएको गुनासो बढ्दै गएपछि पार्टीले समाधानका लागि अन्तरक्रिया कार्यक्रम आयोजना गरेको सभापति डिगबहादुर लिम्बुले बताउनुभयो ।
छलफलमा मोरङको निर्वाचन क्षेत्र नम्बर ५ का कांग्रेस क्षेत्रीय सभापति दिपिल पोखरेलले हिजो टिकट दिने पार्टीलाई नै वास्ता नगर्दा जनप्रतिनिधिसँग आक्रोश बढेको बताउनुभयो । नेपाली कांग्रेस विराटनगरका सचिव प्रकाश दाहालले निर्वाचित निकायको काम कारवाहीलाई अनुगमन गर्न पार्टीले छुट्टै संयन्त्र बनाउनुपर्ने सुझाव दिनुभयो । दाहालले जनप्रतिनिधिलाई हुने गरेका बाधा र कठिनाईको विषयमा पनि पार्टीले चासो राखेर सहयोगी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
तरुण दल विराटनगरमा सभापति सन्तोष न्यौपानेले जनप्रतिनिधिले आफूलाई निर्वाचित गर्ने जनता, पार्टीपंक्ति तथा कार्यकर्तालाई भुल्न नहुने बताउनुभयो । काँग्रेस विराटनगरका कार्यवाहक सभापति अरुणकुमार न्यौपानेले बाँकी अढाई वर्ष कसरी काम गर्ने भन्ने स्पष्ट खाका बनाउनुपर्ने बताउनुभयो । फेरि जनतासँग जाँदा के दियौं भनेर प्रश्न उठ्ने भएकोले त्यसबारे सचेत हुनुपर्ने उहाँको भनाइ छ ।
उर्लाबारी नगरपालिकाका प्रमुख तथा मोरङ क्षेत्र नम्बर १ का कांग्रेस क्षेत्रीय सभापति खड्ग फागोले वीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह आदि नेताहरुले बनाएको कांग्रेसको पात झरेर अब बोक्रामात्र रहेजस्तो देखिएको टिप्पणी गर्नुभयो । गुट, उपगुट र समूहले कांग्रेस कमजोर बनेको भन्दै उहाँले कांग्रेसलाई पुर्नजीवन दिने हो भने जनतासम्म पुग्नुपर्ने र भ्रातृसंगठनलाई चलायमान गराउनु पर्ने सुझाव दिनुभयो ।
बुढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझीले कांग्रेसबाट निर्वाचित बनेका ठाउँमा नेकपा सरकारले असहयोग गर्ने अधिकृत पठाउने गरेको गुनासो गर्नुभयो । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले पार्टी र जनप्रतिनिधिबीचको सम्बन्ध प्रगाढ हुन निरन्तर छलफल जरुरी भएको बताउँदै महानगरले गरेको राम्रा काम पार्टीले प्रचार नगरेको गुनासो गर्नुभयो ।
कांग्रेस केन्द्रीय सदस्य डा.डिला संग्रौलाले विकासमा कुनै पनि कमजोरी नगर्न र जनताको भवनाको कदर गर्न पालिका प्रमुख तथा जनप्रतिनिधिहरुलाई निर्देशन दिनुभयो । नेकपाको सरकारले कांग्रेसका नेताहरुलाई विभिन्न मुद्दा लगाएर फसाउने षड्यन्त्र गरिरहेको भन्दै उहाँले विजयकुमार गच्छदारलाई गरिएको व्यवहार त्यसकै उदाहरण भएको जिकिर गर्नुभयो ।