पैदलयात्रा प्रभावकारी बन्दै

कटान क्षेत्रमा स्थलगत अनुगमन

विराटनगर । बुढीगंगा गाउँपालिका अन्तर्गत पर्ने खोलाहरुबाट जोखिममा रहेका बस्ती तथा खेतीयोग्य जमिनको उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री बिजयकुमार विश्वासले सोमबार स्थलगत निरीक्षण गर्नुभएको छ ।

बुढीखोला लगायत अन्य साना खोला तथा खद्राहरुका कारण जोखिममा रहेका बस्ती तथा जमिन संरक्षण गर्न स्थानीयले गरेको माग सम्बोधन गर्दै राज्यमन्त्री विश्वाससहित नेताहरुको टोली सम्वन्धित बस्तीमै पुगेर छलफलसमेत गरेको थियो ।

नेकपाका युवा नेता जीवन आचार्यको पहलमा राज्यमन्त्री विश्वास, मन्त्रालयका अधिकृतहरु तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य गोपिबहादुर अछामीलगायतले कटान क्षेत्रको अवलोकन गर्नुभयो । त्यसक्रममा राज्यमन्त्री विश्वासले कटानको उच्च जोखिम भएको ठाउँमा तुरुन्तै नियन्त्रणको काम अघि बढाउने आश्वासन दिनुभएको छ ।

डिभिजनल इन्जिनियरसहितको अनुगमन टोलीलाई राज्यमन्त्री विश्वासले कटान नियन्त्रण रोक्न आवश्यक प्रक्रिया अघि बढाउन निर्देशनसमेत दिनुभयो । सोमबार वडा नम्बर ३ स्थित बुढीखोलाले मुस्लिम टोलमा गरिरहेको कटान क्षेत्र, बुढीगंगा १ को खद्रा खोलाले जोखिममा पारेको क्षेत्र र बुढीगंगा ६ स्थित मदाहा खोलाबाट हुनसक्ने जोखिम क्षेत्रमा टोलीले अवलोकन गरेको थियो ।

गएको निर्वाचनमा प्रदेशसभा सदस्यमा पराजित आचार्यले चुनाबी अभियानको क्रममा जनतासँग गरेको बाचा पुरा गर्न जनगुनासोको नियमित सुनुवाई गरिरहेको बताउनुभयो । उहाँले निर्वाचन क्षेत्र अन्तर्गतका विभिन्न ठाउँमा खानेपानीका योजना, विद्युत ट्रान्सफर्मरलगायत विभिन्न समस्या समाधान गर्ने, सडक, कल्भर्ट निर्माण तथा अन्य योजनाहरुमा समन्वय र सहयोग गर्दै आएको राष्ट्रिय युवा संघ मोरङका इन्चार्ज इश्वरी आचार्यले जानकारी दिनुभयो ।
नागरिकको गुनासो सुन्नकै लागि केही दिनदेखि आचार्यसहित युवाहरुको टोली नियमितरुपमा स्थानीय टोल, बस्ती र वडमा पैदलयात्रमा रहेको छ । बुढीगंगा गाउँपालिकाका विभिन्न वडा र टोलहरुमा पैदल यात्रा गरेर समस्या पहिचान गर्ने तथा जनसम्वन्ध सुधार गर्ने अभियान चलाइरहेको आचार्यले बताउनुभयो ।

निर्वाचनको बेलामा जनतासँग गरेको बाचा र दिएको आश्वासन पुरा गर्न पैदल यात्रा प्रभावकारी बनेको आचार्यको भनाइ छ । ‘हामी केही दिनदेखि हरेक बिहान पैदलयात्रा गरिरहेका छौं, स्थानीय पार्टी कमिटीसँग समन्वय गरेर पैदलयात्रा गर्दा जनसम्वन्ध नविकरण हुनेरहेछ,’ आचार्यले भन्नुभयो ‘स्थानीय साथीहरुसँग भेट हुने र त्यहाँको समस्या प्रत्यक्षरुपमा बुझ्न पाइने रहेछ ।’ त्यस क्रममा पहिचान भएका समस्याहरु समाधान गर्न सम्वन्धित निकायमा पहल गरेर समाधान गरिरहेको पनि उहाँले बताउनुभयो ।

यस्तो यात्राले शरीरलाई मात्र होइन जनसम्वन्ध विस्तार भई विकासको काममा सहयोग पुगेको बताइएको छ । केही दिनअघि आचार्यले विराटनगर ४ को कञ्चानबारीदेखि इक्राही, पुलचोक, जामुनगाछी लगायतको क्षेत्रमा टोलीले पैदलयात्रा गरेको थियो । त्यसक्रममा स्थानीयसँग भेटघाट गरी त्यहाँका समस्या र आवश्यकताहरु बुझ्ने काम गरेको थियो ।

मङ्गलबार, १३ फागुन, २०७६, बिहानको ११:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर