विराटनगर । विराटनगरको मुख्य सडकखण्ड र अन्य शाखा सडक खण्डहरुमा छाडा चौपायाको कारण सवारी दुर्घटना बढ्दै गएको छ ।
सडकमा जथाभाबी खुला छोडिएका छाडा चौपाया र पशुसँग ठोक्किएर पछिल्लो समय सडक दुर्घटनाको बढ्दै गएको ट्राफिक प्रहरीको तथ्यांकले देखाएको छ ।
छाडा चौपायाकै कारण विराटनगरमा दिनहुँ अनावश्यक रुपमा घण्टौं ट्राफिक जामसमेत हुने गरेको छ । विराटनगर–ईटहरी ६ लेन कोशी राजमार्ग र अन्य भित्रि सडकमा पनि जथाभाबी खुला छोडिएका छाडा चौपायाहरुको कारण दुर्घटनाको जोखिम बढिरहेकोमा त्यसलाई नियन्त्रण गर्ने प्रभाबकारी काम भने हुन सकेको छैन ।
सडकको बिच भएरा आवतजावत गर्ने र बिच सडकमै आराम गर्ने चौपायाका कारण दुर्घटना भइरहेको पनि त्यसलाई नियन्त्रण गर्ने प्रभाबकारी पहल महानगरपालिका र ट्राफिक प्रहरीले पनि गर्न सकेको छैन । खास गरेर रातिको समयमा सडकमा बसेका छाडा चौपायाहरुसँग ठोक्किएर दुर्घटना बढ्दै गएको छ । महानगरमा छाडा चौपायाँको संख्या धेरै भएपनि नियन्त्रण गरेर राख्ने काञ्जी हाउस भने छैन ।
विराटनगरमा सबैभन्दा धेरै कुकुरको संख्या करिब २० हजार रहेको महानगरको भनाइ छ । यसैगरी बंगुरको संख्या पनि छाडा चौपायामा धेरै रहेको महानगरको पशुशाखाले जनाएको छ । गाईं, गोरु जस्ता ठूला जनावर पनि कतिपयले छाडा छोड्ने गरेका छन् भने खुल्ला सिमानाको कारण भारतबाट पनि चौपाया नेपाल आउने गरेको महानगरेको पशुमहाशाखाका शुभनारायण यादवले बताउनुभयो ।
चौपाया व्यवस्थापन र नियन्त्रणका लागि महानगरपालिका र ट्राफिक प्रहरी कार्यालयले गरेको काम उपलिब्धिपूर्ण भएको छैन । छाडा चौपायाकै कारण आर्थिक बर्ष २०७५÷०७६ मा ७ वटा सडक दुर्घटना भईसकेको ट्राफिक प्रहरीको तथ्यांक छ । दुर्घटनामा २ चौपाया र एक व्यक्तिको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ्गले जनाएको छ ।
ट्राफिक प्रहरी कार्यालयकोे तथ्याङ्कअनुसार छाडा चौपायाकै कारण मोरङ्गमा हरेक महिना ३७ देखि ४० वटा सडक दुर्घटना हुने गरेका छन् । जसमा प्रत्येक महिना ६ जनाको मृत्यु र १३ जना गम्भीर घाइते हुने गरेका छन् । सडकपेटीमा खान, बस्न र हिँड्न पाएका गाईगोरु तथा खच्चरहरुबाट बिशेष गरी बजार क्षेत्रका व्यापारीहरु पनि हैरान छन । जथाभाबी खुला छोडिएका चौपायाहरुले बिक्री वितरणका लागि राखिएका सागसब्जी तथा फलफुलहरुसमेत खाईदिने गरेको उनीहरुको गुनासो छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ्गका प्रमुख प्रहरी निरीक्षक राकेशकुमार पोद्धारले छाडा चौपाया नियन्त्रणका लागि महानगरपालिकासँग समन्वय गरिरहेको बताउनुभयो । महानगरपालिकाले व्यवस्थित काञ्जी हाउस सञ्चालनमा ल्याउन नसकेकाले छाडा चौपाया व्यवस्थापनमा समस्या भइरहेको उहाँको भनाइ छ । महानगरमा हालै मात्र वडा नं. १ कार्यालयले काञ्जी हाउस सञ्चालनमा ल्याएपनि त्यसले सिंगो महानगरका छाडा चौपाया थेग्न सक्ने अवस्था छैन ।
महानगरपालिकाका पशु चिकित्सक शुभनारायण यादवले छाडा चौपाया नियन्त्रण गर्न महानगरपालिकाले वर्षमा ५० हजार रुपैयाँ बजेट छुट्याउने गरेको बताउनुभयो । यो बजेटबाट वर्षमा ३ पटक नगरबासीलाई जथाभावी चौपाया छाडा नछोड्न माईकिङ गर्ने बाहेक कुनै काम गरेको छैन । महानगरपालिकाले काञ्जी हाउस निर्माण १५ लाख रुपैयाँ बजेट छुट्याएपनि काम अगाडि बढेको छैन ।
हानगरपालिकाले सडकमा जथाभाबी जीवजन्तु तथा पशुपन्क्षी खुला छोडेमा १ सयदेखि ५ सय रुपैयाँ जरिवाना गदैै आएको छ । घोडा, खच्चर, गाई, भैंसी, रागोँ र साढेँको ५ सय, भेँडा, बाख्रा, खसी, बोका, बंगुर र सुंगुरको २५० तथा हाँस र कुखुरा ईत्यादिको १०० रुपैयाँका दरले जरिवाना गर्दै आएको छ ।