कविता : तीज

हिजो–
कसैले मनसुनको स्वागतको अर्थमा
कसैले पार्वतीले झैं रोजेको वर पाउने अभिलाषामा
कसैले पतिको सुस्वास्थ्य र दीर्घायुको कामनामा
प्रेमको प्रतिकको रूपमा
लगाएर रातो साडी
नाच्थे संगीनी नाच
र, मनाउथे त्रिदिवसीय तीज
पुरातनवादी मानसिकताका बाबजुद पनि
देखिन्थ्यो तीज परम्परामा मौलिक नेपालीपन
घाँटी हेरी हाड निल्ने मितब्ययीतापन ।

आज–
अधिकांशले विर्सिएका छन्, लोकसंस्कृति
आडम्वर र देखासिखीले राज गरेपछि
स्वीकार्य भएको छ अनावश्यक तडकभडक
टोल फेर्छ, बस्ती फेर्छ, घर फेर्छ
तर पनि महिनौंसम्म रूघिरहन्छ
आजकल गाँउघर र शहरमा तीजले
अर्कोतिर नजर लगाउँदा
संगीनी धुन र नाचले त उहिल्यै तीजको साथ छोडिसकेछन्
अरू लोकलयका भाका, धुन, गीत र नाचहरू पनि
विदाइको पर्खाइमा रहेछन्
र एकछत्र रजाइको तानाबाना बुनिरहेका रहेछन्
पप र –यापका भाका र नाचहरू
तैपनि,
चाहे दिलबाटै स्वीकार्य कदम चालेर होस्
चाहे कृत्रिम समाजमा
कृत्रिम बन्नै पर्ने सोच पालेर होस्
चाहे सानो बन्नै नहुने
संकीर्ण चिन्तनले गाँजेर होस्
दौडिरहेका छन् ढोंगी तीज दौड
नेपाली महिला मनहरू ।

तरपनि म ढुक्क छु
रात ढलेर विहानी आए झैं
ध्वंसपछि निर्माण छाए झैं
विकृतिको अन्तिम उचाइमा पुगेपछि
गर्ल्याम्म ढल्नेछ यो गन्धे तीज परम्परा
अनि मौलिकताको डोली चढेर
अस्वस्थ प्रतिस्पर्धाका झारहरू नष्ट गर्दै
नवीन मार्गबाट आगमन हुनेछ तीजको
अनि तिमी हामी सबै मिलेर
सबै खाले विभेदको अन्त्य गर्दै
समतामुलक जीवन जीउने दृढ प्रतिज्ञासहित
धन्काउने छौं एकताका धुनहरू
स्वतन्त्रता, समानता र समृद्धिका आवाज समेटिएका शब्द रचनामा
घोलेर मौलिक संगीनी भाका
स्वच्छ नीलो अकाशमुनि
प्रफुलतापूर्वक नाच्नेछौं संगीनी नाच
निरन्तर, निरन्तर, निरन्तर ।।।।

 

बिहिबार, ०४ भदौ, २०७७, दिउँसोको ०२:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर