सुधारगृहमा युवाको मृत्युपछि तनाब

उर्लाबारी । मोरङको उर्लाबारी–७ मा रहेको ‘जीवन बचाउ उपचार सेवागृह एवं पुनस्र्थापना केन्द्र’ भित्र एक युवाको मृत्यु शंकास्पद भएको छ ।

गृहमा उपचारका लागि पुस १८ गतेदेखि राखिएका उर्लाबारी–२ का १९ वर्षीय विशाल श्रेष्ठको शव शौचालयको भेन्टिलेसनमा झुन्डिएको अवस्थामा आइतबार साँझ भेटिएको हो ।

टी–सर्टले घाँटीमा पासो लगाएर झुन्डिएको अवस्थामा शव भेटिएको थियो । साँझ खोजी गर्ने क्रममा शौचालयमा झुन्डिएको अवस्थामा शव भेटिएको जानकारी गृह सञ्चालकले आफन्त, परिवारका सदस्य र प्रहरीलाई गराएका थिए ।

आफन्त र परिवारका सदस्यले भने आत्महत्या नभइकन हत्या गरेर झुण्ड्याइएको र मृत्यु अस्वभाविक रहेको भन्दै शव बुझ्न अस्वीकार गरेका थिए । घटना रहस्यमय रहेकाले छानबिन गरेर सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कारबाही हुनुपर्ने माग राख्दै प्रदर्शन गरे ।

पीडित परिवारले किटानी जाहेरी दर्ता गरेपछि मात्रै शव बुझ्ने अडान लिएपछि प्रहरीले जाहेरी दर्ता गरेको थियो । त्यसपछि संस्थाका अध्यक्ष शेखर कार्की र इन्चार्ज रविन्द्र दाहाललाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । उनीहरु पक्राउ परेपछि मात्र पीडित परिवारले शव बुझेको छ । मृतकको शव पोष्टमार्टमका लागि मंगलबारे अस्पताल लगिएको छ ।

श्रेष्ठले एक बर्ष अगाडि मात्र विवाह गरेका थिए । उनलाई आफन्तले सुधार गृहमा राखेपनि उनी डिप्रेशनको विरामी रहेको उनका साथीभाईहरुले बताउँदै आएका छन् । लागूऔषध तथा नशाजन्य वस्तुको दुब्र्यसन र कुलतमा फसेकालाई सुधार गर्दै समाजमा पुर्नस्थापना गर्न सहयोग पु¥याउने जिम्मेवारी सुधार गृहको हो । विशाललाई भने यातना दिएर हत्या गरेको परिवारको आरोप छ ।

मृतककी आमा बेलकुमारी श्रेष्ठले आफ्नो छोराको हत्या भएको भन्दै दोषीलाई कार्वाहीको माग गर्नुभयो । ‘मेरो छोरालाई त मारे, अब अरुका छोराछोरी नमरुन्’ उहाँको भनाइ थियो । मृतकका काका याम श्रेष्ठले घटनाको प्रकृति हेर्दा आत्महत्या नभई हत्या भएको दाबी गर्नुभयो । दोषीलाई हदैसम्मको कार्वाही र मृतक परिवारलाई क्षतिपूर्ति दिन उहाँले माग गर्नुभयो ।

गृहका अध्यक्ष शेखर कार्कीले भने खाना खाने बेलामा विशालको खोजी गर्दा शौचालयमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटेको बताउनुभयो । तत्काल शौचालयको ढोका फोडेर हर्दा झुण्डिएको देखेपछि परिवार र प्रहरीलाई खबर गरेको उहाँको भनाइ छ । गाँजा र जाँड रक्सी खाने गरेका विशाललाई ५३ दिनअघि सुधारका लागि गृहमा राखिएको थियो । उनी विशाल मानसिक रोगीसमेत रहेकोले नियमित औषधि सेवन गर्दै आएका थिए ।

२०६२ सालबाट सञ्चालित सुधार गृहमा अहिले ४० जना सुधारका लागि राखिएको छ । उर्लाबारी–४ मा भाडाको घरबाट गत मंसिर १२ गतेबाट भने उर्लाबारी–७ स्थित आफ्नै भवनमा सरेको छ । गृहको नवनिर्मित भवनको उद्घाटन प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले गर्नुभएको थियो ।

इलाका प्रहरी कार्यालय उर्लाबारीले मृत्युलाई शंकास्पद मानेर घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ । २०६२ सालबाट सञ्चालित सुधार गृहमा अहिले सुधारका लागि भनेर ३९ जनालाई राखिएको छ ।

मङ्गलबार, १३ फागुन, २०७६, बिहानको ०९:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर