कविता : बा !

आज रोग, भोक र सोक छ बासँग
तर, हिजो
सन्तानको प्रगतिको दिवास्वप्न बुनेर
जोस जागर र उत्साहले उत्प्रेरित हुँदै
जस्तोसुकै प्रचण्ड गर्मी अनि
हिउँदयामको तुसारो नभनी
के दिन, के रात, के आराम, के बिराम ?
पर्बाह नगरी
सन्तान सुखको भिखारी बनेर
चौतारीको बरपिपल जत्तिकै हण्डर र ठक्कर खाएर पनि
बिनयशिल बन्दै सन्तानको सितल छहारी बन्ने
रक्षा कबच हुन बा !

याद छ ?
जजमानका छ–आठ माना चामलको कुम्लो बोकेर
सिकर कटेहेरिको उकालीमा सुइय् लामो सास फेरि
शीरको टोपीले तालुका पसिना पुछ्दै
चौकीबारिको एक घुट्की पानी र
बतासे डाडाको चौतारीमा
एक बसाइमा थकाइ मारेर
हस्याङ फस्याङ गर्दै घरमा पुगेर
सन्ततीलाई खुसी पार्न उज्यालो चेहरामा
चम्किरहन सक्ने खुबी भएका
चम्किला नक्षत्र हुन् बा !

कहिले गाइको गोठ, कहिले भैसिको भकारो
कहिले बाख्राको खोर र कहिले अक्करको भीर
कहिले कालिबनको घाँस र दाउरा गर्दै
गलेर लखतरान हुँदा आधारातसम्म पनि
बाबियो र चोयाको डोरी
तोस्रो र बटमिउटोमा पोया लगाऊँदा लगाउँदै
घरको मझेरीमा पर्लक्क निदाएर
निन्द्रा पुर्याउने
कहिले आनन्दले बस्न र खान फुर्सदै नपाउने
सधैको कामै काम र
संघर्षको उपनाम हो, बा !

दुःखैमा सन्तानलाई अङ्ग्रेजी पढाए
आफ्नै थाप्लोको ऋणमा बिदेश उडाए
पढेका बुहारी पनि घरमा भित्र्याए
ज्वाईछोरी पनि बिदेसमै, बडो फुर्ती पनि लगाए
नराम्रो कुभलो कहिले नसोच्ने
निरास र थकित कहिले नहुने
बिचरा होइनन्, ब्यभिचारी छैनन्
इमान छोड्दैनन्, बेइमान गरेनन्
असल बानीका खानी र
आँखाका नानी हुन बा !

बा अहिले चाउरी परेका छन्
हातगोडा चल्न छाडेका छन्
रुखो पिठो निलिदैन्
आँखा र कानले राम्रो ठम्याउन छाडेका छन्
शाखा सन्तान जति डाँडा काटे
बा धर्मशालामा थला परेका छन्
सन्तान अहिले उनको ४० बर्ष पुरानो
सादा फोटो फेसबुकमा राखेर उत्सव मनाउछन्
फेसबुक र टिकटकमा रत्येउली नै चलाउँछन्
छोराछोरी र नाती नातिनातिनाले
नेपाली संस्कृतिको बुबाको मुख हेर्ने दिनलाई
ह्याप्पी फादर्स डे मनाइरहँदा
बा धर्मशालामा मख्ख छन् र
हर्षबिभोर हुँदै आशिर्बाद दिइरहेछन्
कति महान् छन बा !

बुधबार, ०३ भदौ, २०७७, दिउँसोको ०१:०८ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर