काठमाडौं । राष्ट्रकवि माधव प्रसाद घिमिरेको मंगलबार निधन भएको छ । उनको कपुरधारास्थित निवासमै साँझ निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि राष्ट्रकवि घिमिरे केही महिनायता घरमै उपचाररत थिए ।
घिमिरेको जन्म १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा भएको थियो । उनलाई स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकारका रुपमा चिनिन्छ । घिमिरेको अन्त्येष्टि बुधबार गर्ने तयारी भएको छ ।
घिमिरेबारे गत २०७५ असोज ६ गतेएक ‘मेरो जीवन’ स्तम्भमार्फत रातोपाटी अनलाइनले जीवनका विविध पाटाहरु खोतल्ने प्रयास गरेको थियो ।
सो क्रममा घिमिरेले आफूलाई मनपर्ने खाना, पोसाक, अध्ययन, घुमफिर, खेलकुद, चलचित्र, आफ्नो रोग, भाषणशैली, संगीतलगायतका विषयमा खुलेर कुरा गरेका थिए । उनले मृत्यु बारेमा सोधिएको प्रश्नमा भनेका थिए–मानिस जन्मेपछि मर्नुपर्छ । मृत्यु भनेको विश्राम हो । विश्राम नगरी पुनर्जन्म हुँदैन । पहिले–पहिले मृत्युदेखि असाध्यै डर लाग्थ्यो । जेठी श्रीमती (गौरी)को निधनपछि डर लाग्न छाड्यो । सयवर्षे जीवनयात्रामा जीवनबोध गरेको छु । जेठी श्रीमतीको निधन हुँदा आफ्नै मृत्यु भएकोजस्तो लाग्यो । सपना राम्रो देखेर व्युँझिने लोभ ममा पनि छ नि ।’
उनले उक्त अन्तरवार्तामा जीवनका आनीबानीका यस्ता सवालमा राखिएको चासोमा पनि खुलेर आफ्नो कुरा ‘सेयर’ गरेका थिए ।
मेरो खाना
दालभात, तरकारी असाध्यै मन पर्छ । कतिपय अवस्थामा रायो, चम्सुर, बेथी र पालुंगो साग मिलाएर खाँदा कति मीठो हुन्छ । ती दिव्य भोजन हुन् । गुन्द्रुकको अचार पनि त्यत्तिकै स्वादिलो लाग्छ । मुगीको रोटी मन पर्छ । मस्यौराको तरकारी पनि मीठो लाग्छ । त्यसमा तामा मिसाएर पकाउँदा झन् मीठो । तर, बिरामी भएपछि कतिपय खानेकुरा बार्नुपरेको छ ।
रुख्खा–सुख्खा खाना खान नपरे हुन्थ्यो । स्वास्थ्यका लागि लाभदायी भए पनि कोदा, फापरको रोटी, ढिँडो त्यति मन पर्दैन । कामविशेषले पुगे पनि खानकै लागि योजनाबद्ध ढंगले रेष्टुरेन्ट जाने बानी छैन ।
मेरो पोसाक
विशेषगरी कमिज र सुरुवाल लगाउने गरेको छु । दौरासुरुवाल, कोट पनि लगाउँछु । मधुरो रङका कपडा रोजाइमा पर्छन् । पहिले–पहिले काठमाडौंको किलागलमा कपडा सिलाउने गर्थें । हिजोआज त टोल (लैनचौर) कै टेलरिङतिर सिलाउने गरेको छु । ढाकाटोपीबाहेक अन्य टोपी लगाइनँ ।
मेरो फिटनेस
योगा नियमित गर्थें । घरवरिपरि खाली खुट्टा हिँड्थे । बिरामी भएपछि छुटेको छ ।
मेरो अध्ययन
हिजोआज वेद र उपनिषद् पढ्दै छु । साहित्यका राम्रा–राम्रा किताब प्रकाशित छन् । त्यही पढ्छु । खलिल जिब्रान, रवीन्द्रनाथ, शरदचन्द्र र वर्स वथका लेखनशैली लोभलाग्दा छन् । उनीहरूले लेखेका किताब पढेको छु । बिरामी परेपछि लेख्न सकेको छैन । मेरो निजी पुस्तकालयमा दुई हजार पाँच सयभन्दा बढी किताब होलान् । पहिले–पहिले किताब किन्थें । पुस्तकालयसम्म पुगेर पढ्थें ।
मेरो घुमफिर
त्यतिबेला पनि त्यति घुम्न पाइनँ । साहित्यिक सिर्जनामा नेपालको बयान गरे पनि घुम्नचाहिँ पाएको होइन । इलाम, धनकुटा, इन्द्रावतीवारिपट्टिका गाउँठाउँ, गोसाइँकुण्ड रसुवा, मनाङ, बागलुङ, पाल्पा पुगेको थिएँ । लमजुङको बेसीसहरमाथिको गाउँसहर असाध्यै मन पर्छ । त्यहाँबाट देखिने लोभलाग्दा हिमशृंखलाबारे बयान गरिसाध्य छैन । जीवनमा एकपटक खप्तड पुग्न पाए हुन्थ्यो भन्ने लागेको छ । विदेशचाहिँ उस्तो घुमेको छैन ।
मेरो खेलकुद
हेर्दा सबै खेल मन पर्छ । संवत् २००४–००५ सालम्म मैले भलिबलचाहिँ खेलेँ ।
मेरो मोबाइल
मैले मोबाइल प्रयोग गरेको छैन । साहित्यसाधनामा अवरोध गर्ने भएकाले मोबाइल प्रयोग गर्ने रहर भएन । घरमा टेलिफोन जोडिएको छ । सम्पर्क गर्न चाहनेले टेलिफोन गरिहाल्छन् । घरको टेलिफोन ०१५–१६ सालतिर जोडेको हुँ । ‘एकेडेमिसियन’ लाई टेलिफोन जोड्ने सुविधा थियो । त्यही सुविधा सदुपयोग गरें ।
मेरो टीभी
टेलिभिजन छानेर मात्रै हेर्छु । नेसनल जोग्राफी हेर्न असाध्यै मन पर्छ । कथात्मक कार्यक्रम हेर्न जाँगर चल्छ । राम्रा–राम्रा चलचित्र पनि हेर्ने गर्छु । घरमा रहेको टेलिभिजन कुन ब्राण्डको हो थाहा छैन ।
मेरो चलचित्र
पछिल्लोपटक चलचित्र झोला हेरेको थिएँ । झोला हलमै पुगेर हेरेको हुँ ।
मेरो रोग
नेपालमा रोग पत्ता नलागेपछि भारतमा उपचार गराएँ । नशा थोरै फाटेर रगत बगेको रहेछ । त्यो टालिदिए । त्यसपछि दैनिक पाँचपटक औषधि सेवन गर्दै आएको छु । पाँच महिनाअघिसम्म स्वस्थ नै थिएँ । आफू स्वस्थ रहनुका कारण भगवान्को वरदान हो । यसलाई जीवनको महत्व ठानेको छु । म खराब चिन्तन गर्दै गर्दिनँ । सकारात्मक चिन्तनमात्रै गर्छु । सिर्जनशील काममा लागिरहे मानिस धेरै बाँच्छ ।
मेरो भाषणशैली
राष्ट्रकवि भएकाले विभिन्न कार्यक्रम, सभा–समारोहका लागि निम्त्याइन्छ । निम्ता गरेपछि पुग्नैपर्यो । पुगेपछि बोल्नैपर्यो । त्यतिबेला आफ्नो सिर्जनाप्रति घमण्ड गर्छु । सिर्जशीलको अहंकार भनेको सिर्जनाको हो । नजानिँदोपाराले ‘केरे’ भन्ने थेगो प्रयोग गर्दोरहेछु । कतै निम्त्याइँदा तयारीसाथ जाने गरेको छु ।
मेरो मापसे
अहिल्यै मादक पदार्थको स्वाद थाहा भएन ।
मेरो संगीत
गीत–संगीत असाध्यै सुन्छु । शास्त्रीय संगीत र लोकगीत सुन्दा कहिले दिक्क लाग्दैन । मन पर्ने गायक–गायिका कति छन् कति । सबैको नाम लिन सम्भव छैन । तर पनि नारायणगोपाल, अम्बर गुरुङ, तारादेवीको आवाज श्रवणीय लाग्छ । नयाँ–नयाँ गायक–गायिकाका गीत त्यति सुन्न पाएको छैन । गीत लेख्दा गुनगुनाउँदै लेख्ने बानी छ । सामान्य भाकाका गीत गाउन आउँछ ।
मेरो भूल
मानिस भएपछि जान–अन्जानमा गल्ती हुनु अस्वाभाविक होइन । मबाट पनि भए होलान् । तर, सम्झन सकिनँ । गल्ती गरें भने छटपटी भइहाल्छ । त्यस्तो नबोले हुन्थ्यो । नगरे हुन्थ्यो भनेर आफैंले आफैंलाई सम्झाउँछु । तुरुन्त आत्मालोचना गरिहाल्छु । गल्ती गरेपछि आफूले आफूलाई सजाय दिन्छु । गल्ती नगरी पनि सजाय पाएको छु । त्यो अनौठो होइन ।
मेरो घर
म बस्दै आएको घर ०१९ मा बनाएको हुँ । घर बनाउँदा पुख्र्यौली सम्पत्ति थोरै परेको थियो । घर बनाउँदा बठ्याइँ गरेको थिएँ । ‘एकेडेमिसियन’ भइसकेकाले त्यतिबेला घर बनाउँछु भनेर निवेदन दिँदा चार रूख पाइन्थ्यो । निवेदन दिएपछि दुई चाँप र दुई सालका रूख पाएँ । यहाँ ल्याइसकेपछि चाँपका चाहिँ कसैले किन्न मागे । मैले पनि १५–२० हजार रुपैयाँमा बेचिदिएँ । त्यति रुपैयाँले घर उठाउन थोरै सहयोग भयो ।
तपाईं पत्याउनुहुन्छ ? यो घर त्यतिबेला ६५ हजारमा ठडिएको हो । वास्तुशास्त्र हेराएरै घर बनाएको थिएँ ।
मेरो राशी
मेरो राशी कन्या हो । पछिल्लो समय ग्रहदशा हेराएको छैन । ग्रहशान्ति पनि गराएको छैन । ग्रह, नक्षत्रप्रति उति विश्वास पनि लाग्दैन । हिन्दु धर्मावलम्बीको घरमा गरिने पूजापाठ मेरोमा पनि हुन्छ । देब्रेहातमा गणेशको औंठी लगाएको छु । शुभ हुन्छ भनेकाले लगाएको हुँ । दुई–तीन वर्षअघि फुकालेर राखेको थिएँ, केही समयअघि सम्झेपछि लगाउन थालेको हुँ ।
मेरो सौन्दर्यचेत
कहिलेकाहीं कपालमा तेल लगाउँछु । ‘सेभिङ’ गरेपछि ‘आफ्टर सेभ’ प्रयोग गर्छु । पफ्र्युम प्रयोग गर्दिनँ ।
मेरो प्रेम
मैले दुई बिहे गरेको हुँ । पहिलोपटक बिहे गर्दा १४ वर्षको थिएँ । १४ वर्षमा प्रेम गर्ने कुरै भएन । त्यो उमेरमा बिहे गर्नु भनेको पुतली खेलेजस्तै त हो नि । जेठी श्रीमतीको निधन भएपछि दोस्रोपटक बिहे गर्नुपर्यो ।
मेरो सपना
मैले परिकल्पना गरेको नेपालको पहाडी भू–भाग हरियो हुनुपर्छ । पहाडका फाँटमा कृषिजन्य बालीनालीले भरिपूर्ण होस् । तराईमा सुनौला फूल फुलेका हुन् । मुलुकमा भएका सबै रूखको गणना गरेर राख्नुपर्छ । हामीले पाएका सम्पदाको सही सदुपयोग गर्न जान्नुपर्छ । पहाडी भू–भागका निश्चित जंगलमा कस्तूरी फार्म नै तयार गर्नुपर्छ । आफ्नो क्षेत्रको सबैभन्दा ठूलो मान–सम्मान भनेकै राष्ट्रकवि हो । त्यो पाएको छु । योभन्दा अरू लोभ छैन ।
मेरो मृत्यु
मानिस जन्मेपछि मर्नुपर्छ । मृत्यु भनेको विश्राम हो । विश्राम नगरी पुनर्जन्म हुँदैन । पहिले–पहिले मृत्युदेखि असाध्यै डर लाग्थ्यो । जेठी श्रीमतीको निधनपछि डर लाग्न छाड्यो । सयवर्षे जीवनयात्रामा जीवनबोध गरेको छु । जेठी श्रीमतीको निधन हुँदा आफ्नै मृत्यु भएकोजस्तो लाग्यो । सपना राम्रो देखेर व्युँझिने लोभ ममा पनि छ नि ।
साभारः रातोपाटी अनलाइन