विराटनगर ।
सुनसरीको इटहरी उपमहानगरपालिकाले लगानी सम्मेलन गर्ने भएको छ । लगानी सम्मेलनका लागि सोमबार पूर्वतयारी अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
उपमहानगरका विज्ञसमूह, कार्यपालिका सदस्यहरु, उपमहानगरका कर्मचारी र सञ्चारकर्मीबीच अन्तक्रिया गरिएको हो । कार्यक्रममा उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले लगानी सम्मेलनको आवश्यकता र औचित्यका बारेमा बताउनुभएको थियो ।
इटहरीको सम्वृद्धि र विकासका संभावनाहरुबारेमा जानकारी दिँदै चौधरीले ती योजनाहरु कार्यान्वयनका लागि आवश्यक स्रोत जुटाउन लगानी सम्मेलनको तयारी गरेको बताउनुभयो । अन्तक्रिया कार्यक्रममा बोल्दै सहभागीहरुले इटहरीको दीर्घकालिन विकासलाई ध्यानमा राखेर योजनावद्ध तयारी गरेर मात्र लगानी सम्मेलन गर्नुपर्ने सुझाव दिएका थिए ।
सम्मेलनपूर्व लगानीका क्षेत्रहरुको पहिचान गर्नुपर्ने र त्यसका लागि कुन प्रकारको लगानी आवश्यक पर्ने हो भन्ने कुरा निक्र्यौल हुनुपर्ने सहभागीहरुले सुझाब दिएका छन् । कार्यक्रममा उपमहानगरका विज्ञ सल्लाहकार संयोजक डा.दिवाकर रेग्मी, रेवती घिमिरे, तारा पोखरेल, जगदिश ओली, रुद्र बस्नेत, मणिराम गिरी, राजु केसी, भोलाकाजी बस्नेत, विमला तिम्सिनालगायतले सुझाब प्रस्तुत गर्नुभएको थियो ।
छलफलमा कार्यपालिका सदस्यहरु चन्द्र भट्टराई, भगवानलाल शाह, हर्क मगर, विश्व घिमाल र वडासदस्य सन्तोष पराजुलीले आफ्नो धारणा राख्नुभयो ।