रेवती ढुङ्गाना ‘रफ्तार’
उ कोरोनाको रिपोर्ट पोजेटिभ देखिएर घरमै आराम गरि रहेको थियो। रिपोर्ट आएको पाँच दिनपछि वडा अध्यक्षको फोन आयो। तपाईं कता हो ? उ अक्कन बक्क भयो ।सुस्तरि जबाफ दियो, ‘को बोल्नु भएको चिनिन त ?’ ठाडो ठाडो स्वरमा अध्यक्ष जंगिए, ‘म वडा अध्यक्ष बोलेको,’ उसले डराउँदै जबाफ दियो, ‘घरमै छु हजुर।’ फेरि अध्यक्षले भने, ‘कोरोना रिपोर्ट आएको पाँच दिन भइसकेछ कसैलाई नसुनाई घरैमा बसिदिने। तुरुन्त लुगा फाटो ठिक पारेर बस्नु, एम्बुलेन्स आउँदै छ हस्पिटल जानू पर्छ।’ डराउँदै उसले भन्यो, ‘हस हजुर।’ केही बेरमा एम्बुलेन्स आयो,अज्ञातस्थल तर्फ लिएर गयो।
बिरामीको लक्षण कुनै नदेखिएका उनी आईसोलेसनमा भर्ना भए। त्यहाको व्यवस्थापन देखेपछि अब उनको आधा बिराम सुरु भो । घर परिबार, आफन्त, छर छिमेकि सबै झलझली सम्झना आउन थाल्यो । हिजोका खुसी, रमाइलो पल सबै बिराना भए। घर परिबार र आफन्तको अनुहार देख्न नपाईने पो हो कि भन्ने चिन्ताले साह्रो सताउन थाल्यो । खानाको रुचि हट्दै गयो । भय र त्रासले आधा ज्यान खायो। बलैले हिम्मत गरेर उ त्यहाँ बस्यो ।
उसको छेउको बेडमा बस्ने साथी अकस्मात सास फेर्न गाह्रो पर्यो डाक्टर बोलाई दिनु न भन्दै बेस्सरी चिच्याउन थाल्यो । यो देखेर त उसको आधा होस नै गयो । तथापि उसले चिच्याएर डाक्टर बोलायो। दुई घण्टा जति पछि डक्टर आएर उसलाई अन्तै लगे। भोलिपल्ट बिहानै खबर सुन्यो। त्यो निरोगी हट्टाकट्टा जबान केटोले रातिनै संसार छोडेछ। त्यहि पनि हिम्मत गरेर बाँच्नु छ। उ तर्सिदै र तङ्ग्रिदै बाच्ने आशमा दिन काट्दै गयो । करिब पन्ध्र दिन पछि उसलाई खबर भयो, ‘रिपोर्ट राम्रो छ।’ खुशी हुँदै उ हस्पिटलबाट घर गयो। छिमेकी आफन्तलाई सुनाउँछ रे, ‘उ पहिले–पहिले म जस्तै लुखुरलुखुर जथाभावी हिड्छौ नि, मेरो हस्पिटलको छिमेकी बेडको साथी जस्तै हुन्छौ अनि थाहा पाउला।’
साँझ पख कोरोना बाँस बस्छ जस्तो गरि स्याँउस्याँउती सडक ढाक्ने गरि हिंड्ने मान्छे आजभोलि उसको कुराले गुपचुप भएछन नि ? बजारियाहरु आजकाल भित्र–भित्र सल्लाह गर्छन् रे, अब फुटेर जोगिने हो, लुकेरै बाच्ने हो। आजकाल यो खबरले गाउँमा पनि शान्ति छा’को छ रे ।