संघीय सांसद सुर्यनारायण यादवलाई कोरोना संक्रमण पुष्टि

विराटनगर । जनता समाजवादी पार्टीका संघीय सांसद डा. सूर्यनारायण यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बालरोग विशेषज्ञ डा. यादवलाई बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको हो । जानकी हेल्थकेयर एण्ड रिसर्च सेन्टरमा समेत कार्यरत डा. यादवलाई एक संक्रमित बालकको उपचारमा खट्दा उनीसहित अन्य ५ जनामा कोरोना संक्रमण भएको हो ।

झण्डै १० दिनअघि महोत्तरीबाट झाडापाखाला भई सिकिस्त अवस्थामा आएका ४ वर्षीय बालकको उपचारमा खटदा आफुसहित अन्य ५ जना कोरोना संक्रमित भएको डा. यादवले बताए । उनले आफुसहित बालकको उपचारमा खटिएका २ जना चिकित्सक, २ जना ल्याब र १ जना हेल्थ असिस्टेन्टमा पनि कोरोनाको संक्रमण देखिएको जानकारी दिए ।

सप्तरी क्षेत्र नं. १ बाट निर्वाचित डा. यादव अहिले जनकपुरधाम उपमहानगरपालिका-१० स्थित आफ्नै निवासको होम आईशोलेसनमा बसिरहेका छन् ।

सांसद यादव भने संघीय संसदका दोस्रो कोरोना संक्रमित हुन । यसअघि पर्साका संघीय सांसद प्रदीप यादवमा पनि कोरोना संक्रमण देखिएको थियो ।

शुक्रबार, ३० साउन, २०७७, रातीको ०८:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर