डाक्टर श्रमजीवी हो, हत्यारा होइन


घटना १
तीन कक्षामा पढ्ने एक बालकले शिक्षिकालाई निक्कै चिन्तित हुँदै प्रश्न गर्छन् ‘मिस समिरले भनेको मेरो बाबाले मान्छे मारेको रे ?’ शिक्षिका स्तब्ध बन्छिन् । उनले जवाफ दिन नपाउँदै ती बालक थप प्रश्न गर्छन्, ‘समिरले झुटो बोलेको हो नि मिस ?’ मिसलाई ती बालकको बाबा ठूलो अस्पतालमा कार्यरत कहलिएको डाक्टर हुन् भन्ने थाहा थियो । उ हत्यारा त हुन सक्दैनन् । त्यसैले उनले सहज बन्दै समिरले जिस्काएको भन्ने जवाफ दिइन् । तर, शिक्षिकाको मनमा कौतुहलता बढ्यो र उनले समिरलाई बोलाएर सोधिन्ः बाबु किन त्यसो भनेको ? समिरले टोलका ठूला मान्छेहरुले केहि दिनअघि मात्र उपचार गराइरहेको एक विरामीलाई अस्पतालमा डाक्टरले मारेको कुरा सुनेको बताए । ती डाक्टर अरु नभई उसकै साथीको बाबा रहेकाले भनेको बताए । उनको कुराबाट झसङ्ग भएकी शिक्षिकालाई स्मरण भयो, केहि दिनअघि मात्र सञ्चारमाध्यममा आएको समाचार । समाचारमा लेखिएको थियो, चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु, डाक्टरले हत्या गरेको आफन्तको आरोप ।

घटना २
‘कस्तो राम्रो घर रहेछ, कसको होला ?’ विराटनगरभित्रको बाटोमा ठूलो क्षेत्रफलमा पर्खालले घेरेको ३ तल्ले घर देखाउँदै पैदल हिँडिरहेका एक युवक सँगैका साथीलाई सोध्छन् । तत्काल जवाफ दिँदै साथी भन्छन्, ‘डाक्टरको’ हो । डाक्टरको घर भन्ने सुन्नासाथ पहिलो साथीले प्रतिक्रिया दिइहाले ‘बिमारीलाई लुटेर बनाएको रैछ । राम्रो बनाउने भैगो नि । मोज छ, डाक्टरको जिन्दगी ।’

घटना ३
दशैंको टिकाको दिन । अधिकांश अस्पतालका डाक्टरहरु पनि दशै मनाउन बिदामा हुन्छन् । त्यहि दिन एक महिला प्रसव पीडा लिएर अस्पताल पुग्छिन् । अस्पतालमा रहेका मेडिकल अफिसर र नर्सहरुले उनको उपचार प्रारम्भ गर्छन् । केहिबेर साधारण प्रसुतिको लागि पर्खिन्छ । तर, उनको पीडा र बच्चाको अवस्था हेर्दा तत्काल शल्यक्रिया गर्नुपर्ने हुन्छ । तत्काल अस्पतालबाट विदामा बसेको डाक्टर (जो टिकाको साइत कुरेर घरमा बसेको हुन्छ ।) लाई कल जान्छ र सुनाइन्छ, केश क्रिटिकल छ, तुरुन्त ओटी गर्नुपर्छ । त्यो बेला टिकाको साइत डाक्टरले कुर्न सक्दैन र तुरुन्त अस्पताल फर्किन्छ । त्यसकै कारण आमा र बच्चाको ज्यान जोगिन्छ । उता डाक्टरको परिवारमा भने, टिका लाउन पनि नपाउने कस्तो पेशा भन्दै खिन्न मान्ने काम हुन्छ ।

यी घटनाहरु केहि उदाहरण मात्र हुन् । चिल्लो कारमा ओर्लिएर अस्पतालमा छिर्दा गार्डदेखि चिन्ने सबैले नमस्कार टक्र्¥याउने, वार्डमा पुग्ने बित्तिकै सिस्टरहरुले स्वागत गर्ने आकर्षक पहिरनमा सजिएका आकर्षक व्यक्तित्व हो, डाक्टर । तर, अब त्यो आकर्षणमा सकारात्मकभन्दा पनि नकारात्मक ईष्र्या, जलन वा सामाजिक बितृष्णा बढि झल्किन थालेका छन् ।
अस्पतालमा रमाईलो गर्न वा मेला भर्न कोहि आउदैनन् । अस्पतालमा स्वास्थ्य समस्या भएर नै आउने हो । यसरी अस्पताल आएपछि चिकित्सक र चिकित्सकीय समूहले सफल उपचारको प्रयास गर्ने हो । उपचार सफल हुने चाहना सबैको हुन्छ । जुन स्वभाविक हो । तर, सधै सफलता प्राप्त गर्न सकिने भए डाक्टरका परिवारमा कहिल्यै मृत्यु हुदैनथियो । डाक्टर आफै पनि रोगकै कारण मर्नुपर्थेन होला । उपचारका क्रममा कहिलेकाँहि बिमारीको मृत्यु हुन्छ । मृत्युका कारण अनेक हुनसक्छन् । कतिपय रोगको प्रकृति निकै कडा हुन्छ र उपचार गर्न नसक्ने अवस्थामा अस्पतालमा आईपुगेको हुन्छ । कति अस्पतालमा चाहिने सबै उपकरण र सुबिधाहरु पर्याप्त हुदैनन् । कहिले औषधीमा, कहिले रिपोर्टमा, कहिले निदानको तरिकामा त कहिले चिकित्सकको ज्ञान र शीपमा कमजोरी हुनसक्छन् । सबै अवस्थामा चिकित्सककै कमजोरी हुन्छन् भन्ने पक्कै हुदैन ।

तर, पछिल्लो चरणमा बिरामीको मृत्यु भएमा ठाडै डाक्टरले मारेको भनिन्छ । मानौं डाक्टरले बोलाएर वा झुक्याएर चक्कु रोपेर वा घाँटी नै रेटेको हो । मृत्युको कारण त रोग हो, डाक्टरले बचाउन असफल भएको वास्तविकतालाई कसैले बुझ्न खोजेको देखिदैन । यसरी हत्यारा भन्दा डाक्टरको सामाजिक र पारिवारिक जीवनमा कस्तो असर पर्छ ? कसले बुझ्ने ? डाक्टरको धर्म नै हो, विरामीको स्वास्थ्यजाँच गर्ने र स्वास्थ्यलाभ गराउने । व्यवसायिकतातर्फ जोडेर हेर्ने हो भने पनि कसैले आफू असफल वा असक्षमको पगरी गुथ्न चाहँदैन । एउटा डाक्टरले लगातार उपचारमा असफलता मात्र पायो भने उ पेशामा पनि अडिग रहन सक्दैन । त्यसैले आफ्ना सबै विरामी ठिक होस् भन्ने नै चाहन्छ । कुनै डाक्टरले जटिल केशलाई विज्ञताबिनाको उपचार गर्नखोज्यो भने गलत होला । अन्यथा कसैले पनि विरामीको ज्यान लिन चाहेको भने हुदैन ।

एउटा धारा बनाउने प्लम्बरलाई घरमा पानी तान्ने मोटर जोडिसकेपछि कति पारिश्रमिक दिन्छौ ? अनि निजी अस्पतालमा पनि चिकित्सकसँंग परिक्षण गराउन लाग्ने शुल्क कति छ ? काम सानो र ठूलो भन्न खोजेको होईन । तर, कामको प्रकृति, गम्भीरता र कामका लागि चाहिने शीप तथा दक्षतालाई आधार मान्ने हो भने यी दुई कामको पारिश्रमिक वा मूल्यमा जुन अन्तर हुनुपर्ने हो, हाम्रो देशमा पक्कै छैन । अझ धेरै वटा अवस्थामा प्लम्वरको शुल्क वा ज्याला डाक्टरको फिभन्दा बढि छ । तर, हामी डाक्टरलाई लुटेको भन्न अप्ठ्यारो मान्दैनौं । मानिस बिरामी भएको अवस्थामा उपचारका लागि भएका खर्चलाई सम्झन्छ । सामान्य बिरामीमा पनि निकै रकम खर्चिएको देख्छ । बिरामीले औषधीहरु र बिभिन्न परिक्षण (रगत, दिशा, पिशाब, एक्स रे, भिडियो एक्स रे, आदि) मा खर्चिएको पैसा पनि डाक्टरकै सन्झन्छ, जुन यथार्थमा तथ्य होईन ।

अधिकांश डाक्टरहरुको आर्थिक स्तर राम्रो हुन्छ । गाडी, घरलगायत ग्याजेटहरु आकर्षक भएको यथार्थ हो । तर, यो लुटेर आएको चाँहि पक्कै होईन । न त भ्रष्टचार गरेर नै हो । बिशुद्ध काम गरेर नै हो । औसत नेपालीले कति घण्टा काम गर्छन् ? तर, डाक्टरले !

डाक्टरी पेशा अन्य पेशा जस्तो होईन । यो अत्यन्त संवेदनशिल हो । यो पेशामा ९ वा १० बजेदेखि ४ वा ५ बजेसम्मको ड्युटी मात्र हुदैन । बिहानदेखि बेलुका वा दिनको १०–१२ घण्टा मात्र पनि होईन । नियमित समय त अन्य सबैभन्दा धेरै हुन्छ नै । आकस्मिक रुपमा पनि काम र तनाव थपिएको हुन्छ । हाम्रोजस्तो कम जनशक्ति भएको देशमा भनेको बेला बिदा पाईन्छ भन्ने पनि छैन । दशैं, तिहार, चाडपर्व, सार्वजनिक विदा, बन्द, हड्ताल सबै अवस्थामा पालो मिलाएर ड्युटी गर्नुपर्छ । दिनमा १४ घण्टाभन्दा बढि मेहनत गरेर कसैले सम्पत्ती जोड्छ र जोगाउँछ भने उसको ठूलो र आर्कषक घर बन्दैन होला र ?

घरकै सदस्य यदि कोही दिर्घरोगी भयो भने उसलाई परिवारकै सदस्यले गर्ने हेरबिचार शुरुकै दिनजस्तो रहन्छ ? नरहन पनि सक्छ । तर, डाक्टरले जस्तोसुकै प्रकृतिका विरामी आएपनि असहजता नराखी उपचार गर्नुपर्छ । अस्पताल त सफा नै होला । तर पनि डाक्टरले रोग र रोगका जीवाणुबीचमा बसेर सधै बिरामीको पीडा सुन्नु, बुझ्नु, हेर्नुपर्छ । सधै रोग र रोगका जिवाणुसँग काम गर्नु सानो कुरा हो र ? त्यस्तो वातावरणमा पनि जिम्मेवारीका साथ आफू र आफ्ना परिवार समेतलाई बिर्सेर बिरामीको सेवामा समर्पण गरेका चिकित्सकलाई सम्मान गर्न नसके पनि कम से कम हत्यारा वा लुटेरा त नबनाऊँ ।

Supported only between 1944-2022