विराटनगर । दलितको अधिकार स्थापित गराउन मिडियाले भूमिका खेलिदिनुपर्ने सरोकारवालाहरूले जोड दिएका छन् ।
रिडेफ नेपालले विराटनगरमा आइतबार आयोजना गरेको दलित अधिकारका लागि मिडियाको भूमिका सम्बाद कार्यक्रममा बोल्दै सरोकारवालाहरूले यस्तो बताएका हुन् ।
रिडेफ नेपालका अध्यक्ष उमेश विश्वकर्माले दलितलाई कानूनले दिएको अधिकार प्राप्तीको लागि मिडियाले भूमिका प्रभावकारी ढंगले खेलिदिनुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य गणेश लम्सालले गतिमुखी र घटनाप्रधानभन्दा पनि वकालतमुखी पत्रकारिता गरिनुपर्नेमा जोड दिनुभयो ।
निरन्तर मिडियाले वकालत गरिदिए राज्यले कानून निर्माणमा सहजता हुने सहभागीको भनाइ थियो । पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलले संघीयता कार्यान्वयको चरणमा रहेकोले दलितको अधिकार स्थापित गराउन मिडियाले भूमिका खेल्नुपर्ने बताउनुभयो ।