तेह्रथुम । प्रधानमन्त्री केपी शर्मा ओलीले तेह्रथुमस्थित खोरुङ्गाखोला साना जलविद्युत् आयोजनाको आइतबार उद्घाटन गर्नुभएको छ ।
तेह्रथुम पावर कम्पनीले निर्माण गरेको ७.५ मेगावाट क्षमताको आयोजना आफ्नै निवास बालुवाटारमा रहेको ‘एक्सन रुम’बाट भिडियो कन्फरेन्समार्फत प्रधानमन्त्रीले उद्घाटन गर्नुभएको हो ।
उद्घाटनलगत्तै तेह्रथुमको खोरुङ्गामा निर्माण भएको आयोजनाले व्यावसायिक विद्युत् उत्पादन शुरु गरेको छ । प्रधानमन्त्रीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्प पूरा गर्नका लागि सरकार निजी क्षेत्रसँग हातेमालो गरेर अगाडि बढिरहेको बताउनुभयो । नेपालको जलविद्युत् उत्पादनको इतिहासमा निजी क्षेत्रले गरेको योगदान महत्वपूर्ण छ भन्दै उहाँले समयभन्दा अगावै आयोजना सम्पन्न गरेकामा प्रवद्र्धक कम्पनीलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललगायतको उपस्थिति थियो । गत माघ २६ गतेदेखि सो आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको थियो । कम्पनीका प्रबन्ध सञ्चालक डाँगीका अनुसार आयोजनाबाट उत्पादन भएको विद्युत् विद्युतगृहदेखि ४.७ किलोमिटर लामो प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको जिरी–खिम्ती सबस्टेशनमार्फत राष्ट्रिय प्रणालीमा जोडिएको छ ।
विसं २०७३ माघदेखि निर्माण शुरु भएको आयोजनाको गत पुस पहिलो साता नै सम्पन्न गरिएको थियो । विद्युत् प्राधिकरणले आवश्यक परीक्षण गरी १५ दिन परीक्षण उत्पादन गरेको थियो । आवश्यक तयारी तथा अन्य प्राविधिक परीक्षणपछि व्यावसायिक उत्पादन शुरु भएको हो ।
स्थानीय खोरुङ्गाखोलाको पानी इवाखोलामा झारेर विद्युतगृहमा पठाई विद्युत् उत्पादन गर्नेगरी डिजाइन गरिएको छ । आयोजनाको सुरुमा कूल लागत १ अर्ब ३७ करोड अनुमान गरिए पनि १ अर्ब ३२ करोड मात्रै खर्च भएको छ । आयोजनाको प्रतिमेगावाट लागत करिब १७ करोड ६० लाख रुपैयाँ छ । आयोजनामा स्वपूँजी २७ प्रतिशत र बैंक तथा वित्तीय संस्थाको ऋण लगानी ७३ प्रतिशत छ ।