पाँच रुपैयाँ प्लेट खाना खुवाउने कुमार

उर्लाबारी । इलामको चुलाचुली गाउँपालिका–४ का ३७ वर्षीय कुमार राई सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्वका रुपमा परिचित हुनुहुन्छ । हाल झापाको दमक–१ मा बसोबास गर्दै आउनुभएका उहाँले दमक चौकमा ५ रुपैयाँमा खाना बेचेर उदाहरणीय कार्य गरिरहनुभएको छ ।

बुवा सदुप्रकाश राई र आमा मनमाया राईको कोखबाट जन्मिएका कुमारले दमकमा करिब दुई महिनादेखि ५ रुपैयाँमा सादा खाना, १० रुपैयाँमा मासु खाना र १ रुपैयाँमा सुत्ने व्यवस्था मिलाउनुभएको छ । कुमारको नेतृत्वमा भएको कार्यको सबैले खुलेर प्रशंसा गर्ने गरेका छन् ।

दैनिक हजारभन्दा बढीलाई खाना खुवाउने गरेको कुमारको भनाई छ । विशेषगरी गरिब, विपन्न, अशक्तहरुलाई ५ रुपैयाँको खाना बरदान नै सावित भएको छ । हप्तामा एक पटक मासु खानाको ब्यवस्था गरिएको छ भने ६ दिन सादा खानाको व्यवस्था गरिएको छ । कुमारले बाटोमा बेखर्ची बनेकालाई गाडी भाडासमेत प्रदान गर्दै आएको बताउनुभयो ।

खाना बिक्रीबाट संकलन भएको रकम मृगौला रोगबाट पीडित इलाम चुलाचुलीका शुक्रराज राईलाई सहयोग गरिएको छ । हालसम्म डेढ लाख रुपैयाँभन्दा बढी रकम हस्तान्तरण गरिसकेको उहाँले बताउनुभयो । ५ रुपैयाँको खाना अभियानमा कुमारका अलवा केही सहयोगीदाताले सहयोगसमेत गर्ने गरेका छन् ।

कक्षा ४ सम्ममात्र अध्ययन गर्नुभका राई विगतमा आफूले गलत काम गरेकोमा पछुतो मान्दै आगामी दिनमा बाँचुञ्जेल सामाजिक सेवामा समर्पित रहने बताउनुहुन्छ । बिहानदेखि साँझसम्म नै सामाजिक सेवामा खटिने उहाँले वैदेशिक रोजगारमा ठगिएकाहरुको समेत उद्धार गरी कानूनी लडाईमा सहजीकरण गरिरहनुभएको छ ।

‘समाजसेवाका काममा नै मेरो दिन वित्ने गरेको छ’ राईले भन्नुभयोे– ‘गरिब तथा विपन्न समूदायको दर्दनाक अवस्थाको जानकारी पाएमा जसरी पनि पुग्ने गरेको छु । र, सकेको सहयोग पनि मेरोतर्फबाट गर्ने गरेको छु ।’ उहाँको नेतृत्वको टिमले इलामको चुलाचुलीका बिरामी मोहन थेगिमको उपचारका लागि १५ हजार रुपैयाँ सहयोग गरेको गरेको छ भने मोरङको केराबारी गाउँपालिकाको सिंहदेवीका अशक्त परिवारलाई लत्ताकपडासहित १० हजार रुपैयाँ सहयोग गरेको जनाएको छ ।

राईकै नेतृत्वमा चुलाचुलीका १ सय भन्दा बढी जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको थियो । त्यस्तै, चुलाचुली–४ कै १ सय भन्दा बढी विद्यार्थीहरुलाई विद्यालय डे«स वितरण गरिएको उहाँले बताउनुभयो । पाँच रुपैयाँको खानालाई आजीवन बनाउने योजना उहाँको छ ।

‘म बाँचुन्जेल ५ रुपैयाँ खाना अभियान चलाउने योजना छ’ उहाँले भन्नुभयो–‘यसमा सबैको साथ र सहयोगको खाँचो रहन्छ ।’ बुवाको सामाजिक अभियानको कामले आफूलाई पनि सोही अभियानमा लाग्न प्रेरित गरेको बताउने कुमारका बुवा यतिबेला क्यान्सर रोगबाट पीडित हुनुहुन्छ । बुबा बिरामी भएपनि सामाजिक कामको सक्रियता जारी छ ।

सोमबार, १२ फागुन, २०७६, बिहानको ०८:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर