विराटनगर । मोरङको रतुवामाई ९ इटहरामा मदन–आश्रित पार्क निर्माण हुने भएको छ । मदन–आश्रित फाउण्डेशनले पार्कको निर्माण गर्ने भएको हो ।
पार्क निर्माणका लागि १ नम्बर प्रदेश सरकारले चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।
बजेट वक्तव्य किताबमा उल्लेखित रकम निकासाका लागि प्रारम्भिक काम सुरु गरिएको फाउण्डेशनका अध्यक्ष मेघनाथ शर्मा कट्टेलले जानकारी दिनुभयो । टेकबहादुर राईको घरलाई केन्द्र बनाएर पार्क निर्माण गरिने उहाँको भनाइ छ । घरलाई पूर्ववत अवस्थामा सकेसम्म दुरुस्त बनाएर पुनःनिर्माण गरिनेछ भने ५ कठ्ठा क्षेत्रफलमा सानो पर्खालले घेरेर बाहिर पार्टी स्थापना स्तम्भ निर्माण गरिनेछ । स्तम्भ वरिपरी २५ जना प्रतिनिधिको चिनारीसहित प्रतिमा राखिनेछ ।
पुस्ताकालय, संग्राहलय, सभाहल, बाल उद्यानलगायतका संरचनाहरु निर्माण गर्ने पनि फाउण्डेशनको योजना छ । पार्कको शिलन्यास यही वर्षभित्रै गरिने उहाँले बताउनुभयो ।
२०३५ साल पुस ७ देखि ११ गतेसम्म टेकबहादुर राईको घरमा भएको सम्मेलनले नेकपा माले गठन गरेको थियो । २५ जना प्रतिनिधिको सहभागितामा ५ दिनसम्म चलेको सम्मेलनले सीपी मैनालीको नेतृत्वमा पार्टी गठन गरेको थियो । ११ जनाको केन्द्रीय कमिटिमा ३ सदस्यीय पोलिट्ब्युरो महासचिव मैनालीसहित जीवराज आश्रित र माधव नेपाल रहेको गठन गरिएको थियो ।
केन्द्रीय कमिटीमा मदन भण्डारी, रत्नकुमार वान्तवा, मोदनाथ प्रश्रित, ईश्वर पोखरेललगायतका नेताहरु थिए । त्यस समयमा केपी ओली, झलनाथ खनाल, बामदेव गौतमलगायतका नेताहरु जेलमा थिए । चिनियाँ नेता माओत्सेतुङको जन्म दिवस पारेर डिसेम्बर २६ अर्थात पुस ११ गतेका दिन पार्टीको घोषण गरिएको थियो । मदन–आश्रितका नाममा पार्क बन्ने भएपछि स्थानीयबासी खुसी भएका छन् ।