सुरेश हाँचेकाली
भोजपुर जिल्लाको षडानन्द नगरपालिकामा जन्मिएकी तारा पराजुली कविता, गीत लेखन, शिक्षा क्षेत्र र राजनीतिमा एकैचोटी चलायमान छिन् । नेपाली साहित्यमा स्नातकोत्तर उनले मोरङ जिल्लालाई आफ्नो कर्मथलो बनाएर माथि उल्लेखित विषयक्षेत्रमा काम गरिरहेको पाइन्छ ।
कविता लेखनमा लामो समय बिताए पनि उनको हालसम्म एउटा मात्र सङ्ग्रह प्रकाशित भएको छ । लेखनमा साधना र प्रकाशनमा धैर्य जस्तो लाग्ने कवि ताराको २०७४ मा प्रकाशित कवितासङ्ग्रह ‘अर्को राजमार्ग’ले विषयगत विविधता समेटे पनि यसभित्रका कविताहरू मूलतः सहर र गाउँबीचको विपर्यास, लैङ्गकि मुद्दा, राष्ट्रियता, पहाडी जीवनप्रतिको अतित अनुराग, आर्थिक मुद्दा र प्रेमजस्ता विषयवस्तुमा केन्द्रित छन् । यो लेखको उद्देश्य ‘अर्को राजमार्ग’ भित्रका कविताहरूको एक सामान्य सर्भेक्षण हो ।
कवयित्रीले माक्र्सवादी दृष्टिकोणबाट समाजका मुद्दाहरू उठाएकी छन् । विद्यालय स्तरदेखि नै सामाजिक–सांस्कृतिक–राजनीतिक सक्रियता बढाएकी उनी अभावग्रस्त मान्छेहरूको दुःख हेरेर कविताको तान बुन्छिन् । ‘सडक चोकमा’ शीर्षकको कवितामा ताराले सर्वहाराको दुःख समातेकी छन् ।
सहरको तँछाडमछाड पूँजीवादी बजारमा एक रिक्साचालक अभावले पिल्सिएको छ । सहरीकरणको यान्त्रिक महाअभियानमा उसको अस्तित्व रक्षाको सुनुवाइ सरकार, पुँजीवादी व्यवस्था, कर्पोरेट दुनियाँ कसैले गर्दैन । यही निरिह रिक्साचालकको सरोकारलाई ताराले लिपिबद्ध गरेकी छन्ः
मालपोतको फाइलमा कतै नाम भेटिदैन
अलिकति माटो र आफ्नै औँठा छापको पुर्जा
यिनै पुकार सुनिरहन्छ …..।
नयाँ विम्बको खोजीमा तारा निकै आशक्त देखिन्छिन् । यथार्थमा यही आशक्तिले एउटा कविलाई आफ्नो मौलिकतातिर डोहोर्याइरहेको हुन्छ । फूलको बोटै भाँच्ने प्रकारको बिद्रोहले स्वीकृति हैन, अस्वीकृति प्राप्त गर्छ भन्ने प्रकारको आशय बोकेको ‘पुल’ शीर्षकको कवितामा ‘यता बगरको ढुङ्गामा दुःखिया पसिना आलै सुक्छ’ भन्ने हरफ निकै बाचाल लाग्दछ ।
बगरको ढुङ्गामा भएको सम्वेदनहीनताले पसिनालाई न्याय गर्दैन । ताराले भनेको ‘बगरको ढुङ्गा’ गरिबमारा पूँजीवादी प्रणाली हो, जसको निम्ति नाफा र उपभोग मात्रै सरोकार रहन्छ । असुरक्षा, भोक र गरिबीले जन्माएको नाङ्गोपनको विषयमा उनको कविता उद्वेलित छ । ‘प्रश्न’ शीर्षकको कवितामा उनको एउटा जब्बर प्रश्न छः
आमा ! हाम्रो घरमा
किन कहिल्यै गर्व र गौरव प्रवेश गर्दैनन् ?
‘म कमलरी’ शीर्षकको कवितामा अर्को एक सीमान्त पात्र कमलरी छिन् । पुख्र्यौली रुपमा आएको कमलरी पेशाले उक्त पेशाकर्मीको जीवनलाई झन् दयनीय र बिश्रृङ्खलित तुल्याएको छ । आफ्नै मालिकबाट असुरक्षित कमलरीको भाषालाई ताराले कसरी टिपेकी छन् भन्ने एक उदाहरण हेरौंः
सेता लुगाका काला दाग घोटेर फाल्छु
आफूलाई झनै मैलो र दागी भेट्छु
मुखिया हुन्, दानापानीको साइनो छ
आजको दिन भोलिको उज्यालो तिनैसँग छ …..।
दुःखको रापमा पिल्सिएका महिलाहरू ताराका कवितामा मुखरित भएर आउँछन् । कुनै पनि समाजको अर्थ(राजनीतिक व्यवस्थाले नै त्यो समाजका मानिसहरुको जीवन पद्दति निर्धारण गर्दछ । हामी पूँजीवादी क्रान्ति सम्पन्न हुन नसकेको अर्ध–सामन्ती र अर्ध–औपनिवेशिक देशका रैती भएर बाँचेका छौँ । राष्ट्रिय पूँजी विकास हुन नसकेको र विदेशी चलखेलबाट प्रताडित मुलुकवासी भएका कारण हामी आर्थिक असुरक्षाको भयावह नियति बोकेर बाँचेका छौँ । यो सन्दर्भमा ताराले दुःखका अनेकौँ जङ्घार तर्दै बृद्धावस्थामा पुगेकी महिलाको एउटा मार्मिक विम्ब ‘शासकसँग’ कवितामा यसरी खिचेकी छिन्ः
यसबेला
जीवनको पल्लो किनारामा पुगेकी मेरी आमा
नालायक समयलाई सराप्दै छिन्
पहिरो मास्तिर बसेर…..।
पुत्रलाभको क्षणमा पनि सन्तुष्टी र हर्षले विभोर हुन नसकिरहेको एक अभिसप्त बाबुको मनोदशालाई ताराले ‘छोरो जन्मेको दिन’ कवितामा ठम्याएकी छन् । उनका कवितामा यस्तै दुःखी, पराजित र अभिसप्त पात्रहरूको उपस्थिति छ । उनी उनीहरूको जीवनबाट अभिसापको अन्तको कामनासहित कविता लेख्छिन् । त्यो अभिसप्त बाबु आफ्नो दयनीय जीवनकथा ताराको कवितामार्फत् यसरी कहन्छः
छोरा ! आज तिमी जन्मेको दिन
मसँग रहर ओताउने एक पाखो छानो छैन
दुःख बिसाउने एक पाइलो घडेरी छैन
पसिना रोप्ने एक हात बारी छैन…..।
अक्षरको मन्दिर बनाउन हजुरआमाले दिएको आशिर्वाद पछ्याएकी ताराले अस्थिर राजनीति र सङ्क्रमणकालमा बेहोर्नु परेको ज्यादतीलाई ‘हजुरआमा र फेरिएको साइनबोर्ड’ शीर्षक कवितामा उल्लेख गरेकी छिन्ः
आज म बाध्य भएर फेर्दैछु साइनबोर्ड
मैले बनाएको अक्षरको मन्दिर
भव्य र कुरुप चन्दाघर भएको छ…..।
पितृसत्ता एउटा व्यवस्था हो । हाम्रो जीवनपद्दति यसैद्वारा निर्देशित छ । हाम्रो पारिवारिक संरचना र वैवाहिक जीवनको ताल पितृसत्तात्मक व्यवस्थाकै नीतिद्वारा परिचालित छ । जस अन्तर्गत विवाह पश्चात महिला पुरुषको घरमा जाने र आफ्नो पूर्वघरलाई माइतीमा परिणत गर्ने परिपाटी हुन्छ ।
विवाहको क्षण व्यक्तिको जीवनको एक विशिष्ट सङ्क्रमण क्षण हो । त्यो क्षणमा एउटी महिला नयाँ भूगोल, नयाँ बंश परम्परा र नयाँ जीवनशैलीमा प्रवेश गर्दै गरेकी हुन्छिन् । अझ महत्वपूर्ण, विवाहकै विन्दुबाट उनको स्वतन्त्रताहरूमा थप काँटछाँट हुन्छ । विवाह नामको सङ्क्रमणकालीन क्षणमा पितृसत्तात्मक व्यवस्था अधीनस्थ एक बेहुलीको अनुभूतिलाई ‘बेहुली घाम’ कवितामा ताराले जीवन्त भाषामा टिपेकी छिन् । यो उनको व्यक्तिगत अनुभूति हुन सक्छ तर त्यसको ‘‘एप्लिकेशन’ हाम्रो समाज र लैङ्गिक सम्वन्धसँग गाँसिएको छ । उनी लेख्छिन्ः
अब म निर्देशित लवजमा हुनेछु
मलाई केही क्षण सहरीकरण गरेर
आफू भने निर्बासित भएको छ
भर्खरै एउटा बेहुली घाम…..।
देशले पितृसत्ताको प्रबर्द्धन गर्छ र पितृसत्तात्मक विचारधाराले देश चलाएको छ भने देश र पितृसत्ता एकअर्काका समर्थक र सहयोगी भएका छन् । लैङ्गगिक हिसावले कमजोर पारिएका महिलाले देश र पितृसत्ता दुवैसँग लड्नुपरेको तर त्यो लडाइँले अपेक्षित उपलब्धी हासिल नगरेको अवस्था छ । पितृसत्तात्मक जीवनदर्शनले दीक्षित समाजमा नारी दोश्रो दर्जाकी भोग्या मानिन्छिन् । ‘मृत्युको झीरमा यौवन’ शीर्षकको कवितामा देश र पुरुष दुवै नृशंसताको परिचायक बनेका छन् । उदाहरणः
कसैले भनिरहेछ भीडबाट
देशै यस्तो, पुरुषजस्तो…..।
पितृसत्ताले नारी स्वतन्त्रतामाथि मात्र कब्जा जमाएको छैन, यसले त नारी शरीर र अस्मितामाथि युगौँदेखि नङ्ग्रा गाडेको छ । लैङ्गकि समता र समानताका मुद्धाहरू जति जुर्मुराएर उठे पनि नारी शरीर नरपिशाचको आक्रमणबाट मुक्त छैन । कवि ताराको भाषामा ‘यौवनका कपना टिप्न’ नारी तनमाथि बलात आक्रमण हुन छोडेको छैन । ‘बेखवर नीलिमा’ कवितामा कवि यसो भन्छिन्ः
चिसापानी खोल्सा डिलमा
ढुङ्गाको सिरानी लाएर
बिसाइराखेकी छ
निम्ठो डोको सालिम्मो घाँस
त्यही छेउमा छ हँसिया र नुनिलो रुमाल
किनारमा ढुङ्गामा चिसै छन्
पानी रङका पैतालाका डाम
कहाँ गई होला नीलिमा सवै छोडेर…..?
पितृसत्तात्मक समाज र विचारधाराले मातृसत्तालाई स्वीकार्दैन । आमाको घरलाई मावली र बाबुको घरलाई आफ्नो घर ठान्ने प्रचलनभित्र हुर्किएका हामी मावलीलाई हार्दिक हिसावले बुझ्छौँ । आफ्नो अस्तित्वलाई मावलीको बंशसँग जोड्दैनौँ । यो हाम्रो सोच पितृसत्तात्मक विचारधाराको उपज हो । ‘मामाघर’ शीर्षकको कवितामा ताराले मातृसत्तासँग अलिकति भए पनि तादात्म्य राख्ने मामाघरको चित्रण गरेकी छिन् । उनी आफ्नो मामाघरलाई आमाको प्रारम्भ बिन्दु मान्दै भन्छिन्ः
आमाले पहिलो पटक श्वास फेरेको हावा
अझै यिनै पोथ्राहरूमा अल्भिmरहेको होला
यही खसेको हो आमाको आँखाबाट पहिलो थोपा आँसु
यही माटामा फुलेको हो ओठको पहिलो खुसी…..।
प्राकृतिक स्रोत र साधनहरूले भरिपूर्ण देशका नागरिक भएर पनि हामी जलवियोजनबाट मर्नुपर्ने नियतीमा छौँ । गाउँहरू दुःखी र एक्ला छन् । परित्यक्त भूगोल भएर बाँच्नु गाउँहरूको नियती भएको छ । बसाइँसराइँको तीब्र प्रक्रियाले गाउँहरू उराठलाग्दा भएका छन् । यो विषयलाई ताराका थुप्रै कविताले मार्मिक उठान गरेका छन् ।
कवि तारा पराजुली पहाडको तिक्ष्ण स्मृति बोकेर तराइमधेसमा जीवन र जीजिबिषा हाँकिरहेकी छिन् । उनको पहाडप्रतिको लगाव निरन्तर रुपमा प्रस्फुटित देखिन्छ । बाल्यकालीन पूर्वस्मृतिमा फस्नु प्रत्येक व्यक्ति, विशेषतः श्रष्टासर्जकको आम चरित्र हो । ताराले मानव वस्ती रित्तिदै गएको पहाडी गाउँको सशक्त छायाँछवि टिपेकी छन् ।
‘पहाडको निम्तो’ कवितामा ताराले बिरामी आमा, ऐँजेरुले ढाकेका रुख, झार उम्रिएको छानो जस्ता दृष्यगत विम्बको सहारामा पहाडको लयभङ्ग अस्तित्वलाई उतारेको पाइन्छ । एक उदाहरण हेरौँः
हिजोआज आमा बिरामी छन्
ओछ्यान मैलो छ
जुठेल्नाका डिलको नासपाती र सुन्तला
ऐँजेरुले खलक्क निलेको छ
अधिनायक हुर्किएर सिरुको छानो
वनमाराले छोपेको छ
पापी गँगटाले मूल कोल्ट्याएपछि
मूर्ति झिकिएको मन्दिरजस्तै भएको छ ढुङ्गेधारो…..।
‘पहाड र आमा’ कवितामा पनि ताराले पहाडमा दुःखहरूमा एकाकार भएर जीवन बिताइरहेका महिलाहरूको चित्र प्रतिनिधिमूलक पात्र आमामार्फत् प्रकाशमा ल्याएकी छिन् । यातायात, सञ्चार, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत मानवीय आवश्यकताहरूको सहज उपलव्धता नभएको पहाडी गाउँहरु डेढरदुई दशक अगाडि झन् विकराल थिए । त्यही दुःखी पहाडमा आमाहरूको जीवनको चर्खा चलिरहेको विम्बलाई ताराले यो कवितामा समातेकी छिन् । आमाको पूर्वस्मृतिलाई आफ्नो स्मृतिमा ढालेर ताराले भनेकी छन्ः
अनिदो अखवार आइपुग्दैन यहाँ
घरछेउको पसलमा राखिएको
बेग्लाबेग्लै मोलको नुन, चामल, तेल, बास्नादर साबुन
केही आइपुग्दैन यहाँ
आउने भनेको महङ्गी बोक्ने उही कुहिरो हो
पहाडमा
आमा यसै भन्नुहुन्थ्यो…..।
सहर र गाउँबीचको विपर्यास देखाउने ‘भोजपुर’ शीर्षकको कवितामा ताराले बालागुरु षडानन्द, योगमाया हुदै राजन मुकारुङसम्मका प्रतिभाहरूको चर्चा गर्नुका साथै सुविधासम्पन्न सहर र बाँसको जोखिमपूर्ण फड्केबाट खोलो तर्नुपर्ने गाउँको भिन्नता समातेक छिन् ।
राष्ट्रियता ताराका कविताको अर्को बलियो प्रक्षेप हो । ‘टिष्टासँग एक दिन–२’ लगायतका कवितामा यो प्रकट भएको पाइन्छ । टिष्टा नदी कुनै समय नेपालमा पर्थ्यो । यो नेपाली बहादुरीको आर्जन थियो तर त्यो बेला आज छैन । ताराकै शव्दमा ‘सगरमाथाकी कन्या’ भनेर चिनिने टिष्टा आज ‘दोश्रो घर’ (भारत) मा भित्रिएकी छिन् ।
यो कवितामा ताराले नदी, नारी र राष्ट्रियतालाई एकैचोटी समातेकी छन् । नदी र नारीमा सृष्टिलाई निरन्तरता दिने विषयमा प्रशस्त समानता भेटिन्छन् । ‘टिष्टासँग एक दिन–१’ कवितामा टिष्टा ओरालो बग्नुलाई जीवन ठान्छ, तर मान्छेहरू सधैँ उकालो ताक्छन् । यही विरोधाभाष ताराले टिपेकी छन् । एक दार्शनिक अभिव्यक्ति हेरौंः
मलाई गर्व छ ओरालोसँग
त्यसैले ओरालै(ओरालो बग्छु
त्यही ओरालो झरेर
तिम्रा हजार पुस्ताको अन्त्य लेखेको छु मैले
तर म अझै जीवित छु…..।
माटो पञ्चतत्व मध्येको एक हो । माटो उर्वरता र राष्ट्रियताको पनि प्रतीक हो । ‘गिट्टीमा सपनाहरू कुटेर’ कवितामा यस्ता हरफहरू छन्ः
तर नथुक्नु माटोलाई
झुक्किएर पनि
नसराप्नु माटोलाई
बिर्सेर पनि
साह्रै ठूलो गुन लगाएको छ माटाले त
टेक्ने छाती दिएर
सहने मन दिएर…..।
प्रेम प्राप्तिमा हैन, अप्राप्तिमा अमर हुन्छ( यो व्यक्तिको निजी मनोदुनियाँको अनुभूति हो । ताराका थुप्रै कविता प्रेमिल अभिव्यक्तिको नागबेली बगेका छन् । समर्पणको भाव बोकेका ती कविताहरूभित्र प्रेमको एक उच्च आदर्श स्थापित छ ।
‘अँजुलीभरिका फूलहरू’ एक उत्कृष्ट प्रेम कविता हो । यसैगरी ‘प्रेमोपहार’, ‘अस्वीकृत उपहार’, ‘हटिया र स्मृति’, ‘धरहरा र मेरो प्रेम’ जस्ता कविताले प्रेमको आदर्श व्याकरणलाई समातेका छन् । आफ्ना निजी अनुभूतिलाई सार्वजनिक अनुभूतिसँग जोड्न सक्नुमा कविताको सामथ्र्य निहित छ । ताराले यो सामथ्र्य बोकेकी छिन् । राजधानी काठमाडौंको विषाक्त र अश्लिल प्रतिस्पर्धात्मक वातावरणभन्दा पर बसेर उनी आफ्नै लय, गति र शैलीमा कविता लेखिरहेकी छन् । कवितामा जीवनका विरोधाभाषहरू छिचोल्दै आदर्श र जीजिबिषाको लय निर्माण गरेकी छिन् ।
ताराका आगामी कतिताहरूले यो सङ्ग्रहका कतिपय अपूर्णतालाई सच्याएर सफलताको अर्को देउराली छुनेछन् भनेर अपेक्षा गर्नु भूल हुनेछैन । उनको सिर्जनाले एउटा उचाइ हासिल गरिसकेको छ । विम्ब निर्माणमा मौलिकताको पारख, विषयवस्तुको सटिक चयन, उन्नत चेतना र अभिव्यक्तिमा सम्प्रेष्यताजस्ता विशेषताहरुले तारा पराजुलीलाई नेपाली कविताको एउटा बलियो सम्भावना बनाइसकेको छ ।