प्रदेश २ का मन्त्रीलाई कोरोनाः एक साताभित्र उच्च तहको भेटघाट

प्रधानमन्त्री र गृहमन्त्रीसहित ६ प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री भेटेको ट्राभल हिस्ट्रि

विराटनगर । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बुधबार राति आएको रिपोर्टमा ४४ वर्षीय मन्त्री यादवमा कोरोना पोजेटिभ देखिएको हो ।

यादवसहित उनका चालक, व्यक्तिगत सुरक्षा गार्ड, अंगरक्षक र एकजना सशस्त्र प्रहरीका जवानमा पनि कोरोना देखिएको छ । उनीहरुको स्वास्थ्य सामान्य छ । मन्त्री यादव क्वाटरमै आइसोलेशनमा बसेको बताइएको छ ।

मन्त्री यादव हालै काठमाडौंबाट फर्कनुभएको थियो । उहाँ काठमाडौंमा प्रहरी समायोजन सम्बन्धि बैठकमा सहभागी हुनुभएको थियो । बैठकमा प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रामबहादुर थापासहित वाग्मती प्रदेश बाहेक ६ प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री, गृहसचिब, प्रहरी महानिरीक्षकलगायत पदाधिकारीको सहभागिता थियो । बैठकपछि उहाँहरुले सामूहिक फोटोसेसन पनि गर्नुभएको थियो ।

काठमाडौंबाट प्रदेशमा फर्किएलगत्तै स्वास्थ्य जाँच गराउँदा कोरोना पोजेटिभ देखिएको हो । उहाँ आइतबार मात्र काठमाडौंबाट फर्कनुभएको हो ।

यादवले गृहमन्त्री, कानुनमन्त्री र प्रधानमन्त्री ओलीलाई गरेका सबै भेटघाटमा उच्च पदस्थहरु कसैले पनि मास्क लगाएका थिएनन्। स्वास्थ्य मन्त्रालयले लापरवाही गरेमा कोरोनाले धेरै संकटमा पार्ने बताउँदै अनिवार्य मास्क लगाउन पटक पटक आग्रह गर्दै आएको छ ।

गृहमन्त्रालयले बुधबार गरेको ६ बुँदे निर्णयमा पनि मास्क अनिवार्य लाउन भनिएको छ। यदि मास्क नलगाइ सार्वजनिक स्थानमा निस्किएमा उनीहरुलाई कारवाही र जरिवाना पनि गृहले भनेको छ। तर नेपालका उच्च पदस्थहरुले भीडभाडयुक्त बैठकमा पनि मास्क लगाएको देखिँदैन। यादवले गृहमन्त्री, कानुन मन्त्री र प्रधानमन्त्रीलाई भेट्दा पनि सबै उच्च पदस्थ मास्क नलगाई बैठक बसेका थिए।

बिहिबार, २२ साउन, २०७७, बिहानको ११:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर