मृतक परिवारसँग उपमेयर गौतम
विराटनगर । सुनसरीको इटहरीबाट तीर्थयात्रामा भारत गएका १० जना तीर्थयात्रीहरुको मृत्यु भएपछि इटहरी शोकमा डुबेको छ । शोकमा परेका परिवारका सदस्यहरुले मृतकको शव ल्याउन सहयोग मागेका छन् ।
इटहरी उपमहानगरपालिकाका उपप्रमुख लक्ष्मी गौतमसँग पीडित परिवारका सदस्यहरुले शव ल्याउनका लागि पहल गरिदिन आग्रह गरेका हुन् । शनिबार सबै मृतकको घरमा पुगेर उपमेयर गौतमले शनिबार परिवारजनमा समवेदना ब्यक्त गर्नुभएको थियो ।
उपप्रमुख गौतमले दुर्घटनाका कारण सिंगो उपमहानगरपालिका नै शोकमा परेको भन्दै धैर्यधारण गर्न सम्बन्धित परिवारका सदस्यहरुलाई आग्रह गर्नुभएको छ । उहाँले मृतकको शव ल्याउन परराष्ट्र मन्त्रालयसँग समन्वय भइरहेको र भारत स्थित नेपाली राजदुताबासका प्रतिनिधि घटनास्थलमा पुगिसकेको जानकारी दिनुभयो ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय प्रदेश १ अनुसार मृत्यु हुनेमा ५६ वर्षका गोपाल तामाङ, ४६ वर्षका वीरबहादुर राई, ५० वर्षका टीकाराम चौधरी, ७० वर्षीय रसिलाल चौधरी, ६६ वर्षीया बुधनी थरुनी, ६५ वर्षीया फूलसरीदेवी चौधरी, ६५ वर्षीया मञ्जु राई, पवनलाल चौधरी, भजनलाल चौधरी र केदार चौधरीको मृत्यु भएको छ । ३४ जना सवार रहेको मिनिबस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने बाँकी घाइतेहरूको उपचारको क्रममा मृत्यु भएको जानकारी पाएको वडाध्यक्ष प्रकाश चौधरीले बताउनुभयो ।
दुर्घटनामा ६० वर्षका विष्णु दाहाल र ५० वर्षकी बेलुकारी चौधरीको पनि मृत्यु भएको बताइएको छ । बेलुकारी भनिएकी महिलाको नाम फरक परेको हुनसक्ने र उनी पनि वडा नं. १० कै हुनसक्ने चौधरीले बताउनुभयो ।
तीर्थयात्रा गएकाहरू सवार बस अस्ति बिहानै सलेम—बैंगलोर राष्ट्रिय राजमार्गमा दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै र अन्यको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका १४ जनाको सरकारी मोहन कुमारामंगलम मेडिकल कलेजमा उपचार भइरहेको बताइएको छ ।
प्रहरीका अनुसार सुनसरीबाट तीर्थयात्रामा गएको एउटा समूह कन्याकुमारीमा प्रार्थनापछि बैंगलोर गइरहेको थियो । सो बस सलेम—बैंगलोर राष्ट्रिय राजमार्गमा नरिपलममा रहेको एउटा मन्दिरमा विश्राम गर्ने योजनासहित सडकमा मोडिन खोज्दा अर्को बसमा ठोक्किएको हो । उनीहरू गत माघ २३ गते ३५ दिनको यात्रामा निस्किएका थिए । तीर्थयात्रामा खनार, इटहरी र दमकका यात्रुहरु थिए ।
शव फिर्ता गर्ने प्रकिया अघि बढाउन नेपाली दूतावासले भारतको विदेश मन्त्रालय र तामिलनाडूको स्थानीय निकायसँग समन्वयन गरिरहेको जनाएको छ । भारतीय विदेशमन्त्री एस जयशङ्करले दुवै दुर्घटनाप्रति दुस्ख व्यक्त गर्दै मृतकका परिवारप्रति श्रद्धान्जली र घाइतेको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।