विराटनगर । किड्स एण्ड टिन ग्लोबल नेपाल मोरङको फाइनलमा पुगेका प्रतियोगिहरूले प्रतिभा देखाएका छन् ।
आउँदो फागुन २५ गते विराटनगरमा हुने प्रतियोगिताको फाइनलमा पुगेका ३२ जना प्रतियोगिहरूले आफ्नो रोजाइ अनुसारको प्रतिभा देखाएका हुन् ।
‘मिस ट्यालेन्ट’ शो अन्तर्गत प्रतियोगिले नृत्य, गायन, चित्रकला, कविता र अभिनय प्रस्तुत गरेका थिए । उत्कृष्ट हुने एक प्रतियोगिले फाइनलमा मिस ट्यालेन्ट एवार्ड प्राप्त गर्ने बताइएको छ । ट्यालेन्ट शोको निर्णायकहरूमा चलचित्र संघ प्रदेश १ का सहसंयोजक तथा निर्देशक केशव रायमाझी, मोरङ चलचित्र संघका अध्यक्ष निरज ब्ल्याक, मिस थारूकी सेकेण्ड रनरअप सोनम चौधरी रहेका छन् ।
ड्रिम्स सर्च एजेन्सीको आयोजनामा विराटनगरमा भएको प्रतियोगितामा तीन समूह रहेको छ । ४ देखि ८ वर्ष उमेर समूहका ब्रिग्रीडस, ९ देखि १२ वर्षको किड्स र १३ देखि १९ वर्ष समूहका टिन गरि प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक प्रवलदिप विश्वासले जानकारी दिनुभयो । तीन समूहबाट प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय घोषण गरिनेछ ।
प्रतियोगिताको बिजेताले नगद २५ हजार रुपैयाँको साथै विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । बालबालिकाहरूमा भएको प्रतिभा प्रष्फुटन गर्नुको साथै उनीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको अध्यक्ष कमल क्षेत्रीले बताउनुभयो ।